बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

सुपर–८ मा पुग्न आतुर अमेरिकाले आयरल्यान्डको सामना गर्दै, वर्षाले खेल बिथोल्ने सम्भावना

शुक्रबार, ३२ जेठ २०८१, १४ : ४२
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्कमा नेपाली समय अनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

अमेरिका र आयरल्यान्ड प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा भारत, पाकिस्तान र क्यानडा पनि रहेका छन् । आयरल्यान्ड बाहेक अन्य चार टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आयरल्यान्डले भने दुई खेल मात्र खेलेको छ ।

अघिल्लो तीन वटै खेलमा विजयी भएको भारत ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । पहिलो संस्करणको उपाधि विजेता भारत यसअघि नै सुपर–८ चरणमा पुगिसकेको छ । तीन खेलबाट चार अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको पाकिस्तान तेस्रो र तीन खेलबाटै दुई अङ्क जोडेको क्यानडा चौथो स्थानमा आसीन छन् । आयरल्यान्डले भने दुई वटै खेलमा पराजित भएको छ । शुक्रबारको खेलमा विजयी भए आयोजक अमेरिका प्रतियोगिताको सुपर–८ चरणमा पुग्नेछ ।

अमेरिका र आयरल्यान्डबिचको खेल बराबरीमा सकिए वा रद्द भएमा पनि अमेरिका पाँच अङ्कसहित सुपर–८ चरणमा प्रवेश गर्नेछ । यस्तो स्थितिमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड उपाधि होडबाट बाहिरिने छन् ।

अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा अमेरिकाले बलियो पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा भने अमेरिकी टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा आयरल्यान्ड ११औँ र अमेरिका १८औँ स्थानमा आसीन छन् । टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो । आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि टी–२० विश्वकप खेल्न थालेको हो ।

टी–२० विश्वकपमा आयरल्यान्डको उत्कृष्ट प्रदर्शन सुपर–८ चरण हो । सन् २००९ को टी–२० विश्वकपमा आयरल्यान्ड सुपर–८ चरणमा पुगेको थियो । अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यसपटक अमेरिकाले आयोजकका रूपमा विश्वकप खेलेको हो ।

आयरल्यान्ड र अमेरिकाबिच हालसम्म दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । पछिल्लो भिडन्त सन् २०२१ को डिसेम्बर २३ तारिखमा फ्लोरिडामै भएको थियो । त्यो खेलमा आयरल्यान्ड नौ रनले विजयी भएको थियो ।

जारी विश्वकपमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अमेरिकाका ब्याट्सम्यान एरोन जोन्स लयमा देखिन्छन् । उनले क्यानडाविरुद्धको खेलमा ९४ रन बनाएका थिए । पाकिस्तानविरुद्ध पनि उनले ३६ रन बनाएका थिए ।

अमेरिकी टोलीका बलर सौरभ नेत्रवाल्कर पनि लयमा छन् । उनले भारत र पाकिस्तानविरुद्धको खेलमा दुई–दुई विकेट लिएका थिए । पाकिस्तानविरुद्धको खेलमा त सुपर ओभरमा उनकै उत्कृष्ट बलिङका कारण अमेरिका विजयी भएको थियो ।

यसैगरी आयरल्यान्डका लागि कप्तान पल स्टर्लिङको प्रदर्शन उत्कृष्ट छ । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशका लागि तीन सय ६ सय रन बनाइसकेका छन् । यस क्रममा उनले एक शतक पनि प्रहार गरेका छन् । बलिङतर्फ मार्क अडायरको प्रदर्शन उत्कृष्ट देखिन्छ । भारतविरुद्धको खेलमा उनले नै विराट कोहलीको विकेट लिएका थिए ।

अमेरिका र आयरल्यान्डबिच खेल हुने स्टेडियमको पिच खासगरी ब्याट्सम्यानका लागि अनुकूल छ । यो पिचमा ब्याट्सम्यानले पावर प्लेको राम्रो फाइदा उठाउन सक्छन् । टस जित्ने टोलीले पहिले ब्याटिङको निर्णय लिने सम्भावना रहन्छ । यो स्टेडियममा एक सय ६५ को औसतमा रन बन्ने गरेको छ ।

तर, फ्लोरिडामा प्रतिकुल मौसमका कारण शुक्रबारको खेल प्रभावित हुन सक्ने बलियो सम्भावना छ । फ्लोरिडामा आगामी तीन दिन लगातार वर्षाको सम्भावना रहेको बताइएको छ । स्थानीय प्रशासनले पनि उच्च शतर्कता अपनाउन सूचना जारी गरिसकेको छ । वर्षाको सम्भावना ६० प्रतिशत रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप