शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्रीसँग धवलशमशेर आक्रोशित : ‘बजेट भनेको तपाईंको मात्रै हो ?’

शुक्रबार, ३२ जेठ २०८१, १९ : ०३
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । पर्यटन मन्त्री हितबहादुर तामाङले नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै राप्रपा सांसद धवलशमशेर राणाले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालगन्जमा मानव निर्मित ताल निर्माणका लागि आफूले मन्त्रीको क्वाटरमै गएर प्रस्ताव दिए पनि बजेटमा समावेश नगरेपछि आक्रोश व्यक्त गरे । 

उनले नेपालगन्जमा २ वटा ठुलो ताल बनाएको र त्यसमा डुङ्गा चलिरहेको बताए । सांसद राणाले भने– ‘एउटा ताल बनाउनका लागि मैले पर्यटन मन्त्रीलाई एउटा योजना दिएको थिएँ, त्यो बजेटमा आएन । बजेट हेर्दा मन्त्रीहरूकै जिल्लामा गएको देखिन्छ । यो के गर्न खोज्नुभएको तपाईंहरुले ? हाम्रा ठाउँमा पनि सानो योजना हालिदिनुस् भनेर तपाईंको क्वाटरमा गएर तपाईंलाई त्यो फारम दिएको छु ।  तपाईंको सचिवले मलाई फोन गर्‍यो तर त्यो आएन । यो सरकार र बजेट तपाईंहरुको मात्रै हो । जवाफ दिनुस् मन्त्रीज्यू ।’ 

उनले पर्यटन, उद्योग र व्यापारका लागि दिल्ली नेपालगन्ज हवाई उडानको ठुलो महत्त्व रहेको बताउँदै नेपालगन्ज दिल्ली हवाई सेवा सञ्चालन गर्न माग गरे । 

उनले छिमेकी देशका पर्यटकलाई वास्ता नगर्ने र आएका पर्यटकलाई पनि दुःख दिने काम भइरहेको बताए । 

उनले भने– ‘अहिले चाइना र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल बगलमा छन् । तर हामीले त्यो सहजीकरण गर्दैनौँ । सडक बाटोबाट भारतीय पर्यटक नेपाल आउँदा नेपालमा डाँका पसेको जस्तो व्यवहार गरिन्छ । १० ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । हामीले हाम्रो देशमा घुम्न आउने पर्यटकलाई एउटा सम्मानका साथ, इज्जतका साथ स्वागत गर्नुपर्ने आवश्यक छ । यसमा सरकारले ध्यान दिनुपर्छ ।’ 

यस्तै भारतीय पर्यटकलाई पनि सरकारको नीति र प्रहरीले गर्ने व्यवहार पर्यटनमैत्री नभएको बताए ।  उनले भने– ‘हामीले के नियम गरेका छौँ भने हजार रुपैयाँभन्दा कमको मात्रै ल्याउन पाइन्छ । ५ सय रुपैयाँको नोट ल्यायो भने सिमानामा सशस्त्र प्रहरीले समातेर दुर्व्यवहार गर्छ । अनि हामीले पर्यटनका कुरा गर्छौँ । यी सब फाल्तु कुरा हुन् । मिलाउनुस्, पर्यटनमन्त्रीज्यू, प्रधानमन्त्री ज्यू, यो के तमासा गरेको ? आजकालको जमानामा खल्तीमा ५ सय रुपैयाँ नहालेर आउन भनेर हामीले के भन्न खोजेको ? हामी आफैँले पर्यटन व्यवसाय बिगारिरहेका छौँ कि अरू कसैले बिगार्न लगाइरहेको छ ?’

उनले भारत र चीनका पर्यटक ल्याउनका लागि विशेष कार्यक्रम बनाउन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप