सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बिक्री भएन चैते धान

मिलहरूले धान खरिद गर्न नसक्ने बताएपछि किसानले धान काट्नै सकेनन्
शुक्रबार, ३२ जेठ २०८१, १२ : ३५
शुक्रबार, ३२ जेठ २०८१

विराटनगर । ‘लौन प्रभु, साढे एक बिघामा धान लगाको, १८० मन फलो । कसैले किन्न मान्दैन, धान कुहिन आँटो...हजुरको सोर्स लगाइदिनु परो ! बरू अर्को पालादेखि लगाउँदिनँ...बरू एउटै भको छोरो खाडी पठाएर हातमुख जोडौंला...प्रभु,’ झापा गौरादहका खगेन्द्र पाण्डप अधिकारीले फेसबुकमा लेखेका छन् ।

उनले कृषि मन्त्रालयले गर्छ चाहिँ के भन्ने प्रश्न गर्दै फलेको धान खरिद गरिदिनुपर्ने आशय व्यक्त गरेका छन् ।

चैते धान पाकेर कतिपय किसानले काटेका छन् । कतिपय किसानले धान काट्नै पाएका छैनन् । पूर्वमा मनसुन भित्रिएसँगै काटेको धान चिसो छ । पहिले काटेको धान खरिद गरेर भएका मिलका गोदामहरू भरिएका छन् । अहिले काटिरहेका किसानको धान भने खरिद गर्नै नसक्ने मिलहरूले बताउन थालेका छन् ।

मोरङको कानेपोखरी–२ का काँटा सञ्चालक युवराज कोइरालाले मिलहरूले धान खरिद नगर्ने भनेपछि आफूहरूले खरिद नगरेको बताए । ‘धान लिनै नसक्ने भनेर मिलले भनेपछि हामीले कसरी धान लिनु ?,’ उनले भने, ‘मिलमा धान टनाटन भयो ।’

अहिले १२ सय रुपैयाँ मनले बिक्री भइरहेको धान ८ सयमा पनि खरिद गर्न नमानेको कानेपोखरी–५ का किसान लेखनाथ अधिकारीले बताए । ‘धान काट्ने बेला भयो । मेसिनको पनि अभाव छ । गत वर्ष १ हजार, १२ सयसम्मले बिक्री गरेका थियौँ । अहिले त ८ सयमा पनि बिक्री नहोलाजस्तो छ,’ उनले भने, ‘गोदाम खाली छैन, सबै प्याक छ भन्ने कुरा आइरहेको छ ।’

चैते धान काटेर बर्खे धान लगाउनु पर्नेमा खेत खाली गर्नै नसक्ने अवस्था आएको किसानहरू बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय विराटनगरका प्रमुख मनोज यादवले धान बिक्री नहुने समस्या पाँचसात दिनपछि समाधान हुने बताए । ‘अहिले धान अत्यधिक चिसो भएका कारण खरिदमा केही समस्या देखिएको छ । केही दिनपछि यो समस्या समाधान हुन्छ,’ उनले भने ।

सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको छ । यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारको निर्णय छ । सरकारको सोही निर्णयको आधारमा धानको मूल्य घटेको हुनसक्ने धान विशेषज्ञ डाक्टर राजेन्द्र उप्रेतीले बताए ।

‘यतिबेलाको धानमा २०–२२ प्रतिशत चिस्यान हुन्छ । त्यो घटाउँदा धानको मूल्य घट्ने नै भयो,’ उनले भने । वैशाखको अन्तिमतिर काटेको धानको मूल्य किसानले पाए पनि पानी पर्न थालेपछि चिसो धानले मूल्य नपाएको उनको भनाइ छ । ‘२५ प्रतिशत चिस्यान भएको धानमा झण्डै साढे ८ किलोको मूल्य कम हुने भयो,’ उप्रेतीले भने, ‘१२ सयमा बिकिरहेको धानमा चिसो बढ्ने बित्तिकै मूल्य घट्छ ।’

झापा, मोरङ र सुनसरीका कतिपय आधुनिक मिलहरूसँग सुकाउने (ड्रायरहरू) छन् । तर, अरू मिलसँग सुकाउने प्रविधि छैन । उनीहरूले चिसो धान लिएर राख्न सक्दैनन् । ‘ड्रायर भएको मिलहरूमा पनि क्षमताभन्दा धेरै धान गएको हुनसक्छ,’ उप्रेतीले भने, ‘मिलहरूले क्षमताभन्दा बढी किन्दैनन् । धेरै मिलहरूले त आफ्नो आफ्नो ब्राण्डको चामल बेच्छन् । त्योभन्दा अर्को धान लिँदैनन् ।’

यो समस्या समाधान गर्नका लागि किसान र मिलबिच सहकार्य हुनुपर्ने उनले सुझाव दिए । ‘मिल र किसानको बिचमा मिलेर गए सहज हुन्छ । मिलको माग एउटा छ तर, उत्पादन अर्को छ भने त यस्तो समस्या आइहाल्छ नि,’ उनले भने, ‘एउटा मिलले वार्षिक ६० हजार टनसम्म धान किन्न सक्छ । त्यसकारण किसानले पनि मिलले के जातको धान किन्छ भनेर बुझेर लगाउनु पर्छ ।’

सरकारले धान मिलहरूको क्षमता बढाउन गोदामहरूको संरचनामा लगानी गर्नुपर्ने उप्रेतीले बताए । ‘ड्रायरमा पनि लगानी गर्नुपर्छ र ठुला गोदामहरू बनाउनु पर्छ,’ उप्रेतीले भने । उनका अनुसार किसानसँग बार्गेनिङ गरेर ड्रायरसहितको मिलहरूले कम मूल्यमा धान खरिद गर्न खोजेको पनि हुनसक्छ ।  

तत्कालीन समस्या समाधानका लागि राज्यले कम्बाइन हार्भेस्टरहरूलाई प्रयोग गरेर हार्भेस्ट गर्ने र तिनीहरूलाई ल्याएर ड्राइ गरेर गोदाममा राख्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि केही पैसा राज्यले खर्च गर्नुपर्ने उनको सुझाव छ । ‘किसानप्रति संवेदनशील हुने हो भने समाधान गर्न सकिन्छ । अहिले पनि कतिपय ड्रायर मिलहरूले दैनिक २०–३० ट्रक धान सुकाउन सक्छ,’ उनले भने ।

Dhan

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले मनसुनले गर्दा धान चिसो भएर सुकाउन सक्ने नहुँदा समस्या भएको बताए । यस्तै मिलको क्षमता सीमित हुँदा पनि समस्या भएको उनले बताए ।

‘ड्रायर मिलहरूले क्षमताभन्दा बढी किन्दैन । ड्रायर नभएका मिलहरूले अहिले किन्नै सक्दैनन्,’ उनले भने, ‘सुरुमै आएको धान खरिद गरेर गोदाम भरिएको कारण अरु धान खरिद गरेर राख्ने अवस्था भएन । चिसो धान ल्याएर राख्दा धान उम्रिन्छ । त्यस्तो अवस्थामा उद्योगीले खरिद गर्न सक्दैनन् ।’

यसपटक धान उत्पादन र उत्पादन क्षेत्र पनि बढेको उनले बताए । ‘अहिले किसानले ८ सयदेखि साढे ८ सय रुपैयाँसम्म मूल्य पाएको देखिन्छ । अब बढ्ने अवस्था पनि देखिँदैन । यस खालको समस्याको दिगो समाधान गर्नका लागि ड्रायर उद्योगहरू पर्याप्त स्थापना गर्ने र गोदामहरू बनाउने मात्रै हो,’ उनले भने ।

कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीले गोदाम भरिएको कारण उद्योगहरूले धान नलिएको जानकारीमा आएको बताए । ‘सरकारले मूल्य तोकेको छ । त्यस अनुसार खरिद गर्न गोदाममा ठाउँ छैन भन्छ उद्योगले । अब के गर्ने भनेर आवश्यक छलफल गरिरहेका छौँ,’ डाँगीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप