शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री तामाङको दाबी – आगामी वर्ष कम्तीमा १६ लाख  पर्यटक भित्र्याइन्छ

शुक्रबार, ३२ जेठ २०८१, २१ : ००
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने ठोकुवा गरेका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् । 

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्दै १६ लाखको लक्ष्य पुरा गरिछाड्ने उनले बताए । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाइ छ । 

सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको भ्याट र अन्य अनावश्यक कर हटाउने काम समेत भइरहेको जानकारी दिए । यसको समाधान बजेट पास हुनुअघिनै गरिने जानकारी समेत मन्त्री तामाङले दिए  ।

पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको उनको भनाइ छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र सम्बोधन हुने पनि उनले प्रस्ट पारे । 

विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको उनले बताए । प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक सङ्ख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ । 

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङको भनाइ छ  । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य समेत हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने गर्दछ । शुक्रबारदेखि भृकुटीमण्डपमा जारी नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप