आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

पोखराको सिक्लेस केबलकार बनाउने बाटो खोल्ला त सर्वोच्चले ?

शुक्रबार, ३२ जेठ २०८१, १२ : २२
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । पोखराको सिक्लेसमा निर्माण गर्ने भनिएको केबलकार सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ।  सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केबलकार बनाउने भनी काम अघि सारेको थियो ।

तर उक्त निर्णय विरुद्ध वातावरण कानुन समाजका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले २०७९ पुस २४ गते रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै पुस २९ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।  उक्त अन्तरिम आदेशपछि निर्माणको काम २ वर्षदेखि रोकिएको थियो । लामो समयसम्म सर्वोच्चले अन्तरिम आदेश जारी भएको मुद्दामा फैसला नसुनाएपछि सिक्लेसले भ्याकेटको निवेदन लिएर सर्वोच्च पुग्यो । 

२०८१ वैशाख २५ गते सिक्लेस अन्नपूर्णका तर्फबाट भ्याकेटको निवेदन दर्ता भएको थियो । उक्त रिटमा शुक्रवार पेशी तोकिएको छ। सर्वोच्चले पहिलो रिट र भ्याकेटको दुवै निवेदनलाई साथै राखेर पेशी सुनुवाइ गर्न लागेको हो । न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा पहिलो नम्बरमा पेशी रहेको छ। सर्वोच्चले आज सुनवाइ गरी फैसला सुनाउने छ।  सर्वोच्चले गर्ने फैसलाले उक्त क्षेत्रमा केवलका निर्माण हुने वा नहुने निर्णय हुनेछ।  

कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरेकोपछि सर्वोच्चमा रिट परेको थियो ।

केबलकारको तल्लो स्टेसन कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं. २ मा रहने भएको छ । तल्लो स्टेसन सिक्लेस गाउँको प्वरयुम भन्ने स्थानमा रहने भनिएको थियो ।  माथिल्लो स्टेसन सिक्लेसको कोरी डाँडामा रहने प्रतिवेदनमा उल्लेख छ।   केबलकार ६.४१ किलोमिटर लामो रहने गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँमा पर्यटकीय विकास हुने दाबी गरेपनि त्यसले वातावरणको क्षेत्रमा धेरै क्षति पुर्याउने दाबी रिटमा गरिएको थियो ।

परियोजनाको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख १८ हजार २४४ रुपैयाँ अनुमान गरिएको छ । आयोजना २७.९९ हेक्टर क्षेत्रफलमा बन्ने भएको छ । यसमध्ये तल्लो स्टेसनमा ७.४६ अ‍ेक्टर बिचको स्टेसनमा २.०४ हेक्टर र माथिल्लो स्टेसनमा ५.७६ हेक्टर जमिन रहने भएको छ । टावरका लागि १२.७३ हेक्टर जमिन प्रयोग हुने भएको छ । यो केबलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ ।

काठमाडौँबाट २३० किलोमिटरको दूरीमा आयोजना रहने छ । आयोजना क्षेत्रबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी ३० किलोमिटरको दूरीमा रहने छ । पोखराबाट प्रस्तावित तल्लो स्टेसनसम्म कच्ची बाटोको पहुँच रहेको छ ।

तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पैदलमार्ग रहेको कम्पनीले जनाएको छ । आयोजनाका लागि कुल ३८०१ वटा रुख र पोल काट्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । यसरी काटिने रुख र पोलमा गुरास, कलिकाठ, लोकफ, खस्रु, फलाट, झ्यानो, वन चुलेत्रो, फिरफिरे, चाँप, उत्तिससहितका रहेका छन् । काटिएका रुखको सट्टामा आयोजनाले कानुनले तोकेको सङ्ख्यामा वृक्षारोपण गर्नुपर्छ ।

निर्माणका चरणमा ६ सय जनाले रोजगारी प्राप्त गर्ने र सञ्चालनका दौरान ५० जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने आयोजनाको दाबी थियो ।

वातावरणमैत्री प्रविधिको यातायात सेवाले अन्नपूर्ण क्षेत्रको वातावरणीय संरक्षणमा समेत सहयोग पन्ने दाबी भ्याकेटको निवेदनमा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप