आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रुसको सम्पत्तिबाट युक्रेनले पाउने भयो ५० अर्ब डलर कर्जा

शुक्रबार, ३२ जेठ २०८१, १० : ३६
शुक्रबार, ३२ जेठ २०८१

रोम । युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्न जी–सेभेनले सहमति गरेको छ । यो पैसाको प्रयोग युक्रेन रुस युद्धमा हुने छ । यो रुसको लागि ‘हामीहरू पछाडि हटिरहेका छैनौँ’ भन्ने अर्को चेतावनी हुने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ छ । 

यो सम्झौताको नतिजा निकै पीडादायक हुनेछ भनेर रुसले भने चेतावनी दिएको छ । यो वर्षको अन्त्यसम्ममा पैसा आउने आशा छैन । तर यसलाई युक्रेनको रुस विरुद्धको युद्धको तयारी गर्न र त्यहाँको अर्थतन्त्रलाई टेवा दिन दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।

इटलीमा जारी जी–७ को शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबिच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । सम्झौतामा युक्रेनलाई अमेरिकी सैन्य र तालिम सहयोग गर्ने कुरा गरिएको छ । तर यसमा युक्रेनमा युद्ध लड्नका लागि आफ्नो सेना पठाउन अमेरिका बाध्य रहेको भनेर भनिएको छैन ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेयता युरोपेली सङ्घसमेत जी–७ले रुसको करिब ३ खर्ब २५ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिदिएका थिए । यो सम्पत्तिले बर्सेनि तीन अर्ब डलर ब्याज पनि कमाइरहेको छ । यो रकम युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट लिइएको ५० अर्ब डलर ऋणको वार्षिक ब्याज भुक्तानीमा प्रयोग गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप