बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० विश्वकप : पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर–८’ चरणमा

शुक्रबार, ३२ जेठ २०८१, ०९ : १६
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १५.१ ओभरमा केवल तीन विकेट गुमाएर एक सय एक रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर–८ चरणमा पुगेको हो । यसअघि सोही समूहबाट वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ । उक्त समूहमा रहेका अन्य टोली पपुवा न्यु गिनी, युगान्डा र न्युजिल्यान्ड भने घर फर्किने निश्चित भएको छ ।

पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीका लागि किपलिन दोरिगाले सर्वाधिक २७ रन बनाए । अली नाओले १३ रन जोडे । ओपनर टोनी उराले टोलीको खातामा ११ रन थपे । पपुवा न्यु गिनीका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पपुवा न्यु गिनीले अतिरिक्त रूपमा २५ रन पाएको थियो । अफगानिस्तानका बलर फजालहक फारुकीले तीन विकेट लिए । उनले चार ओभरमा केवल १६ रन खर्चिए । नवीन उल हकले पनि दुई विकेट हात पारे । नुर अहमदले एक विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले ११ रन बनाए । उनले सात बलमा एक छक्का र एक चौका प्रहार गरे । अर्का ओपनर इब्राहिम जदरान भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका गुलबदिन नाइबले अविजित ४९ रनको योगदान गरे । उनले केवल ३६ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान अजमतुल्लाह ओमरजाई १३ रन बनाउँदै आउट भए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान मोहम्मद नाबीले अविजित १६ रन जोडे । अफगानिस्तानले समूहगत चरणमा अब एक खेल खेल्न बाँकी छ । अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले र दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ८४ रनले हराएको थियो ।

समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन् । आयोजक वेस्ट इन्डिजभन्दा अफगानिस्तान नेट रन रेटमा अगाडि छ । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र हो ।

तीन खेलबाट दुई अङ्क जोडेको युगान्डा तालिकाको तेस्रो स्थानमा छ । दुई खेल खेलेको न्युजिल्यान्ड चौथो स्थानमा छ । न्युजिल्यान्डले हालसम्म अङ्क जोड्न सकेको छैन । तीन खेल खेलेको पपुवा न्यु गिनी भने पाँचौँ स्थानमा छ । पपुवा न्यु गिनी पनि तीनवटै खेलमा पराजित भएको छ ।

उक्त समूहमा अब न्युजिल्यान्डले युगान्डाको, पपुवा न्यु गिनीले न्युजिल्यान्डको र वेस्ट इन्डिजले अफगानिस्तानको सामना गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप