बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

नेदरल्यान्ड्सलाई हराउँदै सुपर ८ नजिक बंगलादेश

बिहीबार, ३१ जेठ २०८१, २३ : ४५
बिहीबार, ३१ जेठ २०८१

किंग्सटाउन । टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।

समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ । नेदरल्यान्ड्स भने २ अङ्कमा सीमित रहेको छ । 

यो समूहबाट ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान  बनाइसकेको छ । यही समूहमा नेपाल पनि रहेको छ । २ खेलबाट नेपालको एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र रहेको छ ।

नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे । २२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । 

bangladesh

विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए ।

ओपनर माइकल लेभिटले १८ रन, आर्यन दत्तले १५ रन तथा म्याक्स ओ डाउडले १२ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले ३३ रन खर्चिए ।

shakib-al-hasan

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । टोलीका लागि शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे । यस क्रममा उनले ९ चौका प्रहार गरे ।

ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे । 

382763

त्यस्तै, मोहम्दुल्लाहले २१ बलमा २५ रन जोडे । यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । जाकेर अलीले ७ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट हात पारे । मेकरेनले ४ ओभरमा मात्र १५ रन खर्चिए भने दत्तले ४ ओभर बलिङ गर्दै १७ रन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप