बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप :

पपुवा न्यु गिनीलाई हराउँदै ‘सुपर–८’ चरणमा पुग्ने अभियानमा अफगानिस्तान

बिहीबार, ३१ जेठ २०८१, १७ : ०९
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा सुपर–८ चरणमा पुग्न सङ्घर्षरत अफगानिस्तानले शुक्रबार तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पपुवा न्यु गिनीको सामना गर्दै छ । खेल सन ट्रिनिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार, बिहान ०६ः१५ बजे सुरु हुनेछ ।

अफगानिस्तान र पपुवा न्यु गिनी प्रतियोगिताको समूह ‘सी’ मा छन् । त्यो समूहमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, न्युजिल्यान्ड र युगान्डा पनि रहेका छन् । समूह ‘सी’ मा हालसम्म ६ खेल खेलिसकिएको छ ।

उक्त समूहको पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यु गिनीलाई पाँच विकेटले र दोस्रो खेलमा अफगानिस्तानले युगान्डालाई एक सय २५ रनले हराएका थिए । तेस्रो खेलमा युगान्डाले पपुवा न्यु गिनीलाई तीन विकेटले पराजित गरेको थियो ।

यसैगरी समूहको चौथो खेलमा अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ८४ रनले हराएको थियो । पाँचौँ खेलमा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गरेको थियो । छैटौँ खेलमा भने वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पाखा लगाएको थियो ।

वेस्ट इन्डिज र युगान्डाले तीन–तीन खेल खेलिसकेका छन् भने अन्य तीन टोलीले दुई–दुई खेल खेलेका छन् । वेस्ट इन्डिज लगातार तीन जितबाट ६ अंक जोड्दै पहिलो स्थानमा छ । चार अंकसहित अफगानिस्तान दोस्रो स्थानमा छ ।

यसैगरी दुई अंकसहित युगान्डा तेस्रो स्थानमा आसिन छ । पपुवा न्यु गिनी र न्युजिल्यान्डले भने हालसम्म अंक बटुल्न सकेका छैनन् । वेस्ट इन्डिज प्रतियोगिताको सुपर–८ चरणमा पुगिसकेको छ । अन्य टोलीबिच सुपर–८ चरणमा पुग्न चर्को प्रतिस्पर्धा छ ।

शुक्रबार बिहान हुने खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेमा अफगानिस्तान पनि सुपर–८ चरणमा पुग्नेछ । अन्य चार टोली भने समूहगत चरणबाटै घर फर्किने छन् । प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको सुपर–८ चरणमा पुग्ने प्रावधान छ ।  

टी–२० विश्वकपमा अफगानिस्तानको यो सातौँ सहभागिता हो । अफगानिस्तानले सन् २०१० मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । अफगानिस्तानको उत्कृष्ट प्रदर्शन प्रदर्शन भने सुपर–१० चरण हो । अफगानिस्तान सन् २०१६ मा सुपर–१० चरणमा पुगेको थियो ।

पपुवा न्यु गिनीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो । पपुवा न्यु गिनीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । पपुवा न्यु गिनी हालसम्म विश्वकपमा पहिलो चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

अफगानिस्तानले टी–२० विश्वकपमा हालसम्म २४ खेल खेलेको छ । त्यसमध्ये अफगानिस्तान नौ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । पपुवा न्यु गिनीले भने विश्वकपमा हालसम्म पाँच खेल खेलेको छ । पाँचवटै खेलमा पपुवा न्यु गिनी पराजित भएको छ ।

अफगानिस्तान र पपुवा न्यु गिनीबिच हालसम्म एउटा मात्र टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यो खेलमा अफगानिस्तानले पपुवा न्यु गिनीलाई हराएको छ । अफगानिस्तानले त्यो खेल पनि ‘न्यूट्रल भेन्यू’ मा जितेको हो ।

अफगानिस्तानको टोलीमा रासिद खान (कप्तान), रहमानुल्लाह गुरबाज, इब्राहिम जदरान, अजमतुल्लाह ओमरजाई, नजिबुल्लाह जदरान, मोहम्मद इसाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करिम जनत, ननग्याल खारोती, मजिब उर रहमान, नुर अहमद, नविन उल हक, फजालहक फारुकी र फरिद अहमद मलिक रहेका छन् ।

यसैगरी पपुवा न्यु गिनीको टोलीमा असादोल्लह भाला (कप्तान), अली नाओ, चाड सोपर, सीजे अमिनी, हिला भारे, हिरी हिरी, ज्याक गार्डनर, जोन कारिको, काबुआ भागी मोरिया, किपलिङ डोरिगा, लेगा सिआका, नरम्यान भानुआ, सेमा कामिया, सेसे बाउ र टोनी उरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप