बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मान्छेले जस्तै हात्तीले पनि राख्छन् एक अर्काको नाम !

बिहीबार, ३१ जेठ २०८१, १६ : ४८
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । हरेक मान्छेको नाम हुन्छ । एक अर्कालाई बोलाउँदा हामी सोही नामले बोलाउँछौँ । कसैलाई मायाले त कसैलाई जिस्काएर अनि कसैलाई रिस उठेको बेलामा बोलाउन पनि हामीले अनेकौँ नाम राखेका हुन्छौँ ।

मान्छेबाहेक अरू कुनै पनि जीवले आफ्नो नाम राख्दैन । घरमा पालिएका जनावरलाई हामी माया गरेर नाम राख्छौँ । तर हात्तीले पनि एक अर्काको नाम राख्ने गरेको पाइएको छ ।

यिनीहरूले एक अर्कालाई अलग–अलग नामले बोलाउँछन् । के यो कुरा तपाईँलाई थाहा थियो ? अनुसन्धानकर्ताहरूको एक समूहले केन्यामा गरेको एउटा अध्ययनले यस्तो देखाएको हो ।

हामीले हात्तीलाई दिएको निकनेमले होइन उनीहरुले आफ्नै अनौठो नामले एक अर्कालाई बोलाउँछन् । यस अध्ययनमा अनुसन्धाताहरूले अफ्रिकी सवाना हात्तीका दुई वटा जङ्गली बथानको आवाज विश्लेषण गरेका थिए ।

यसका लागि उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एल्गोरिदमको प्रयोग गरेका थिए । डल्फिन र सुगाहरूले आफ्नै प्रजातिका अन्यको आवाज नक्कल गरेर एक अर्कालाई सम्बोधन गर्ने गर्छन् । तर हात्ती पहिलो यस्तो जनावर हो जो अर्को हात्तीलाई बोलाउन नाम प्रयोग गर्दछ ।

एआईको सहयोगले पहिचान गरिएको थियो आवाज

यो अध्ययनको प्रतिवेदन नेचर इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित भइसकेको छ । एउटा हात्तीले अर्कोलाई बोलाउँदा अलग अलग स्वरको प्रयोग गर्ने अनि त्यसलाई चिनेर हात्तीले सोही अनुरूप प्रतिक्रिया पनि दिने गरेको अध्ययनमा पाइएको छ ।

अन्वेषकहरूले मेसिन–लर्निङ एल्गोरिदम प्रयोग गरेर ४६९ ओटा फरक–फरक स्वर पहिचान गरेका थिए । जसमा अर्को हात्तीलाई बोलाउन हात्तीले प्रयोग गरेको १०१ ओटा आवाज र बोलाएको सुनेपछि प्रतिक्रिया दिएका ११७ ओटा आवाज थियो ।

हात्तीहरूले चर्कोदेखि सुस्तसम्म अनेकौँ आवाज निकाल्छन् । कुनै आवाज त यति मसिनो हुन्छ कि त्यसलाई मानवको कानले सुन्नै सक्दैन । हात्तीले सधैँ अर्को हात्तीलाई बोलाउन नामको प्रयोग गर्दैनन् ।

तर प्रायः धेरै टाढाको साथीलाई बोलाउन वा वयस्क हात्तीले जवान हात्तीलाई बोलाउन नामको प्रयोग गर्छन् । तर जब हात्तीले आफ्नो साथी वा परिवारको सदस्यलाई बोलाउँछन्, बोल्ने र सुन्नेको प्रतिक्रिया निकै सकारात्मक र ऊर्जावान हुन्छ । तर अरू कसैलाई बोलाउँदा वा अरू कसैले उनीहरूलाई बोलाउँदा भने प्रतिक्रिया कम उत्साहजनक हुने पाइएको छ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप