बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
न्यायाल

सर्वोच्चको चार न्यायाधीशमा महान्यायाधिवक्तादेखि मुख्य न्यायाधीशसम्मको चर्चा

बिहीबार, ३१ जेठ २०८१, १६ : ३९
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा न्यायाधीश सिफारिस र नियुक्तिका लागि न्याय परिषदको बैठक आह्वान भएको छ  । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहीबार अपराह्न बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषदमा वरिष्ठतम् न्यायाधीश र कानुनमन्त्री पनि सदस्य हुने व्यवस्था छ । परिषदले सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिमा छलफल गर्ने तयारी गरेको परिषद स्रोतले बताएको छ ।

जिल्ला न्यायाधीशको हकमा लोकसेवा आयोगले परीक्षा लिएको र उक्त नाम आएपछि बाँकी रहेको सिटमा मात्र न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने अधिकार परिषदले पाउने छ ।

परिषदमा आजको बैठकले सर्वोच्च र उच्च अदालतमा भने केही न्यायाधीश नियुक्ति गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छ । तीन जनाको यसअघि नै खाली भएको थियो भने न्यायाधीश आनन्दमोहन भट्टराईले यही महिनादेखि अवकाश पाउँदै छन् । सर्वोच्च अदालतमा रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्तिको लागि सिफारिस गर्न पाउने व्यवस्था छ ।

सर्वोच्चको हकमा संसदीय सुनुवाइबाट अनुमोदन हुँदै नियुक्ति हुनुपर्ने भएकाले रिक्त हुनु अघि नै सिफारिस गर्न पाइने कानुनी व्यवस्था राखिएको हो । तर हालसम्म यसको पालना हुने गरेको छैन । लामो समयसम्म न्यायाधीश रिक्त भएपछि मात्र नियुक्तिका लागि सिफारिस गर्ने अभ्यास हुँदै आएको छ ।

सर्वोच्चमा नियुक्तिको छलफल सुरु हुनुभन्दा केही दिन अघिदेखि नै केही नाम भने चर्चामा छन् । परिषदको आजको बैठकमा पनि ती नामबारे छलफल हुने देखिन्छ । सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरूको नाम चर्चामा छ ।

उच्च अदालतका मुख्य न्यायाधीशहरू नृपध्वज निरौला, रमेशराज भण्डारी, राजन भट्टराई, श्रीकान्त पौडेल, लोहितचन्द्र साह, टेकनारायण कुँवर र कृष्ण गिरीको नाम चर्चामा छ ।

नृपध्वज निरौला

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् । उनी विगतमा न्याय परिषदको सचिव थिए । तत्कालीन समयमा प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीलाई उमेर विवादमा पत्र लेखेर अवकाश दिने समयमा उनी परिषदको सचिव थिए । उनी यसअघि नै सर्वोच्चमा सिफारिस हुनुपर्नेमा योग्यता नपुगेको भनी रोकिएका थिए । उनी महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निकट रहेको भन्दै त्यतिबेला आलोचना भएको थियो । मुख्य रजिष्ट्रारबाट एकै पटक मुख्य न्यायाधीश भएकाले उनी प्रधान न्यायाधीशको रोलक्रममा पनि पर्ने छन् ।

श्रीकान्त पौडेल

श्रीकान्त पौडेल उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीश छन् । यसअघि उनी विशेष अदालतको अध्यक्ष थिए । विशेष अदालतको अध्यक्ष रहँदा उनी कार्यसम्पादनमा कम विवादमा परेका न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई रजिष्ट्रार र मुख्य रजिष्ट्रार बनाउनु अघि उनी अन्तिम रजिष्ट्रार थिए । उनी न्याय सेवाभित्र सिनियर अधिकृतको रुपमा उच्चमा पुगे पनि पछिपरेका थिए । उनीभन्दा पछि रहेका नहकुल सुवेदी मुख्य रजिष्ट्रार हुदै सर्वोच्चको न्यायाधीश भइसकेका छन् । त्यस कारण उनलाई परिषदले यस पटक सर्वोच्च ल्याउन सक्ने आकलन गरिएको छ ।

रमेशराज भण्डारी

रमेशराज भण्डारी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुन् । उनी विभिन्न उच्च अदालत हुँदै विराटनगर पुगेका हुन् । उनी २०८० मंसिर ५ गते मुख्य न्यायाधीश भएका थिए । परिषदले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको सिफारिस गर्दा उनी मुख्य न्यायाधीश भएका थिए । सर्वोच्च आउन पाएमा उनको कार्यकाल भने छोटो रहनेछ ।

राजन भट्टराई

पोखरा उच्च अदालतका मुख्य न्यायाधीश राजन भट्टराई महान्यायाधिवक्ता कार्यालयबाट सर्वोच्चको मुख्य रजिष्ट्रार भएका थिए । मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश हुने उनीमात्र हुन् । उनी २०८० मंसिरमा भएको सिफारिसमा सर्वोच्च आउने सम्भावना भए पनि रोकिएका थिए । तर यस पटक उनको नाम पनि चर्चामा छ । 

शान्तिसिंह थापा

उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापा एकमात्र महिला मुख्य न्यायाधीश भएकाले समावेशीको रुपमा उनलाई सर्वोच्च ल्याउने चर्चा सुनिन्छ । विभिन्न उच्च अदालत हुँदै उनी २०८० मंसिरमा भएको सिफारिसमा दिपायलको मुख्य न्यायाधीश भएकी थिइन् । सर्वोच्चको न्यायाधीश बनेको खण्डमा उनी प्रधान न्यायाधीशको रोलक्रममा भने रहने छैनन् ।

महान्यायाधिवक्ता दिनमणी पोखरेल

सर्वोच्च अदालतको न्यायाधीशमा धेरै चर्चामा रहेको अर्को नाम हो महान्यायाधिवक्ता दिनमणी पोखरेल । यसअघि मंसिर ५ गते भएको नियुक्तिमा एक जनाको कोटा खाली राखेर नियुक्तिका लागि सिफारिस गरिएको थियो । तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेबाट एक–एक जनाले भाग पाए पनि माओवादी केन्द्रको भाग भने बाँकी थियो । तत्कालीन समयमा वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पोखरेलको नाममा असहमति जनाएपछि नियुक्ति रोकिएको थियो ।

महान्यायाधिवक्ता सर्वोच्चको न्यायाधीशसरह हुने भएकाले उनलाई ल्याउँदा टेकप्रसाद ढुङ्गाना प्रधान न्यायाधीशको लाइनमा नहुने भएपछि पनि रोकिएको थियो । तर यस पटक प्रधान न्यायाधीश हुने सम्भावना कम भएका व्यक्तिहरू भएका कारण पोखरेलको नियुक्ति हुने चर्चा सुनिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कोटामा उनलाई नियुक्तिका लागि लविङ गरेका छन् ।

यी नाम बाहेक उच्च अदालतका मुख्य र न्यायाधीशहरूमा लोहितचन्द्र साह, माधव पोखरेल, नित्यानन्द पाण्डे, टेकनारायण कुँवर, कृष्ण गिरी र कानुन व्यवसायीबाट डीएन पराजुली लगायतको नाम पनि सर्वोच्चको न्यायाधीशका लागि चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप