एक महिना प्रशिक्षण, सुटिङमा १५ दिनसम्म फाइट !
काठमाडौँ । अभिनेत्री पूजा शर्मा प्रेमकथाका फिल्ममा रुचाइएकी अभिनेत्री हुन् । उनले अभिनय गरेका प्रेमकथाका फिल्म हेर्न हलमा दर्शकको भीड नै लाग्छ । उनले अभिनय गरेका फिल्ममा चञ्चले र सहरिया चरित्रमा देखिने पूजा आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’मा पहिलोपटक एक्सन अवतारमा देखिँदैछिन् ।
पूजाका अनुसार ‘दान्भी’का लागि उनले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना एक्सनको प्रशिक्षण लिइन् । प्रशिक्षणको समय र फ्लोरमा गएपछि पूजाले निकै गाह्रो अनुभव गरेकी सुनाइन् ।
‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । मैले अहिलेसम्म कुनै पनि फिल्ममा एक्सन सिक्वेन्स दिएकी छैन । सधैँ प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गर्दा मैले सिक्ने पनि मौका पाउँछु भन्ने लाग्यो । एक्सन कस्तो हुन्छ भन्ने केही थाहा थिएन । एक्सनवाला फिल्म त धेरै हेर्थेँ तर एक्सन कसरी गर्ने भन्ने ‘दान्भी’बाट मात्र थाहा पाएँ’, पूजा भन्छिन् ।
पूजाका अनुसार उनको करियरमा सबैभन्दा बढी मेहनत उनले ‘दान्भी’मै गरेको सुनाइन । ‘सुटिङको एक्सन सिक्वेन्समा एकैदिन ६ देखि ७ घण्टा एक्सनको काम गर्नुपर्थ्यो । एक्सन गर्दा मेरो खुट्टामा घाउ भयो । एकजना फाइटरको त टाँकै लगाउनुपर्यो । मैले फिल्मकै लागि १५ दिनसम्म फाइट नै गरेँ’, पूजा सम्झिन्छिन् ।
पूजा फिल्ममा आफ्नो एक्सन हेरेर दर्शकले ‘ओहो’ भन्ने दाबी गरिन् । ‘फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि अधिकांशले ‘के पूजाले साँच्चै एक्सन गरेको हो त? भन्ने प्रश्न पनि गर्नुभयो । फिल्ममा मैले नै एक्सन दिएकी छु । । मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीमा आएको छ । दर्शकले अहिलेसम्म हिरोको मात्र एक्सनलाई देखेका थिए । दान्भीको ट्रेलर र टिजर रिलिज पछि धेरैले मलाई नोटिस गरेका छन्’, उनी भन्छिन् ।
पूजा अहिलेसम्म नेपाली फिल्ममा देखिरहेको एक्सन भन्दा फरक शैलीको एक्सन ‘दान्भी’मा हेर्न पाइने दाबी गर्छिन् । ‘यो फिल्ममा वेस्टर्नदेखि हरेक किसिमको एक्सन गराइएको छ । एक्सन भन्ने बित्तिकै अधिकांशको दिमागमा उडेर फाइट खेल्ने भन्ने हुन्छ । तर यो फिल्ममा प्राक्टिकल एक्सन छ’, पूजाको दाबी छ ।
पूजा अभिनेत्री रेखा थापाको एक्सन शैलीकी फ्यान हुन् । त्यहीकारण पनि उनलाई यो फिल्ममा काम गर्न प्रेरित गरेको रहेछ । ‘फिल्ममा एक्सन भएकै कारण यो फिल्ममा जोडिएकी हुँ । फिल्ममा प्रेमकथा भइदिएको भए म अभिनय गर्दिन थिएँ’, उनी भन्छिन् ।
फिल्ममा एक्सन सिक्वेन्स भएपछि निर्माण पक्षले एक्सन सिक्वेन्समा नाम चलेका कलाकारलाई ‘गेस्ट अपेरियन्स’मा राखेर अभिनय गराउने योजना बनाएका रहेछन् । तर फिल्मका निर्देशक रुपेश तामाङले भने पूजालाई एक्सन लेडीका रूपमा प्रस्तुत गर्ने सोचाई बनाएका रहेछन् ।
‘निर्माण पक्षले अभिनेता विराज भट्टलाई गेष्ट अपेरियन्सका रूपमा राख्ने कि भन्ने सोच्नुभएको रहेछ । तर दर्शकले विराज दाइलगायत अन्य अभिनेताको एक्सन धेरै हेरिसक्नुभएको छ । त्यसकारण विराज दाइ भन्दा नायिकालाई नै एक्सन अवतारमा देखाउने कि भन्ने निर्देशकसँग सल्लाह भयो’, पूजा खुलिन्, ‘फिल्ममा मेसिन गन बोक्ने दृश्यमा विराज दाइ वा अरूलाई नै राख्ने कि भन्ने कुरा नचलेको पनि होइन । तर म आफैँ गर्न सक्छु भन्ने हिम्मत जाग्यो ।’
टिजर, ट्रेलर र पोस्टरमा पूजाले मेसिन गन बोकेको दृश्य र तस्वीर सार्वजनिक भएपछि उनले तारिफ भन्दा पनि बढी आलोचना खेप्नुपर्यो । तर आलोचनालाई उनले सजिलै ‘फेस’ गरिन् ।
‘त्यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए तारिफ हुन्थ्यो होला । तर मैले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ जस्ता कुरा सुनेँ । मैले गन बोकेको छु । म गनसँग डराउने होइन नि । मैले अरूलाई हानेको छु, म गनसँग इजी हुनु हो नि । तर मान्छेले बुझ्दा गन बोकेको एक्सप्रेसन भएन भने । त्यो सुन्दा दुःख लाग्यो’, पूजा भन्छिन् ।
भविष्यमा पनि एक्सन फिल्म गर्ने या नगर्ने भन्ने कुरा ‘दान्भी’ले निर्धारण गर्ने पूजाको बुझाई छ । ‘दान्भीले भविष्यमा मैले एक्सन फिल्म गर्न सक्छु या सक्दिनँ भन्ने देखाउँछ । दर्शकले फिल्मलाई कसरी हेर्नुहुन्छ त्यसमा भरपर्छ । मलाई दर्शकले रुचाए, म एक्सनमा गर्न सक्छु है भन्ने भयो भने म अवश्य गर्छु । मलाई एक्सन मुभीकै अफरहरु आइरहेको छ । ‘दान्भी’को प्रतिक्रिया नआइकन म अरू एक्सन फिल्मको कुरै गर्दिनँ’, पूजाले भनिन् ।
रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ पूजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई