मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

जब अमरेशकुमार रोस्टममै मौन बसे

बिहीबार, ३१ जेठ २०८१, १६ : ००
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेन्टजस्तो बनेको भनेर आरोप पनि लगाए । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरे । 

त्यसअघि संसद् देखावटी मात्र भएको बताएका उनले मन्त्रीहरूले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाए । 

‘यहाँ छलफल भइरहेको छ, स्वास्थ्य मन्त्रीज्यू हुनुहुन्न । म प्रश्न गर्न चाहन्छु । स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यही उभिइरहन्छु’ अमरेशले भने । 

त्यसपछि सभामुख देवराज घिमिरेले एक छिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे । ‘माननीयजी एक छिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ  । यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एक छिन धैर्यतासाथ रहनुहोला,’ सभामुख घिमिरेले मुस्कुराउँदै भने । 

४० सेकेन्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए ।  स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’ 

त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेस प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गरे । ‘के कारणले मधेसमा रेफरल अस्पताल छैन ?’

उनले मधेसमा काजमा परेका एमबीबीएस डाक्टरहरू काठमाडौँमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए । 

‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन् । सरकारले मधेस प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेस प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’ उनले प्रश्न गरे ।

यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेन्टजस्तो बनेको भनेर आरोप पनि लगाएका छन् । 

‘मैले २०७० सालमा पनि भनेको थिएँ, अर्थ मन्त्रालय विदेशीको एजेण्डा मन्त्रालय बन्यो, जनताको प्रतिनिधि मन्त्रालय होइन । नेपाली जनताको मन भावनासँग गाइडेड भएको छैन,’ सिंहले भने ।

सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप