शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको महाधिवेशन

अध्यक्षमा माधव र झलनाथपछि घनश्यामको चर्चा

महासचिवमा को-को छन् आकाङ्क्षी ?
बिहीबार, ३१ जेठ २०८१, १६ : १५
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा मुख्य पदमा आकाङ्क्षीहरू बढ्न थालेका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा सम्पन्न हुने महाधिवेशनका लागि पार्टीले तयारी तीव्र बनाएसँगै नेतृत्वमा पुग्ने आकाङ्क्षा नेताहरूमा बढ्न पुगेको हो । 

अहिलेसम्म अध्यक्ष पदमा हालका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकाङ्क्षा देखाएको निकटस्थहरूले बताएका छन् । त्यस्तै महासचिवमा उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडाले चाहना राखेका छन् ।

२१ सदस्यीय केन्द्रीय पदाधिकारीमध्ये अध्यक्ष र महासचिवमा नेताहरूको आकाङ्क्षा केन्द्रित देखिएको पार्टीका नेता कार्यकर्ताहरूको भनाई छ । ती दुई पदका लागि आकाङ्क्षा राख्ने नेताहरूले भित्रभित्रै आफूनिकट नेता कार्यकर्ताहरूसँग अनुकूल माहौल बनाउन गोप्य संवाद र छलफल चलाइरहेका छन् । सकभर सहमतिमै नेतृत्व चयन गर्ने नेताहरूले सार्वजनिक रूपमा बताउँदै आए पनि सहमतिको प्रयास असफल भए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने विकल्पमा जानुपर्ने हुन्छ । 

त्यसका लागि नेताहरूले आन्तरिक  छलफल, संवाद र तयारीलाई पनि घनिभूत बनाएका हुन् । यस्ता छलफलहरू बढी मात्रामा नेपाल निवास कोटेश्वर, खनाल निवास डल्लु र भुसाल निवास ट्याङ्लाफाँटमा हुने गरेका छन् ।

  • अध्यक्षमा नेपाल, खनाल र भुसालको चर्चा

२०७८ साल भदौमा नेकपा एमालेसँगको विद्रोहपछि गठन भएको (एकीकृत समाजवादी) को अध्यक्ष पदमा हाल माधवकुमार नेपाल छन् । एमालेबाट छुट्टिएर छुट्टै पार्टी गरिए पनि एमालेकै निरन्तरताको पार्टी भएको भन्दै नेता नेपाल नेतृत्वको पार्टीले अब हुने महाधिवेशनलाई दसौँ महाधिवेशन नै भनेको छ । 

आफ्नै पहल र नेतृत्वमा एमालेसँग विद्रोह गरेर निर्माण गरेको पार्टीको नेतृत्व महाधिवेशनमार्फत पुनः एकपटक आफैले गर्ने प्रयासमा छन् नेपाल । 

अध्यक्ष नेपालको अलावा सम्मानित नेता खनालले पनि अध्यक्षमा दाबेदारी पेश गर्ने तयारी गरेका छन् । रातोपाटीसँगको कुराकानीमा नेता खनालले सकभर सहमतिमै नेतृत्व चयन गर्ने र यदि त्यो सम्भव नभए आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि नहट्ने बताइसकेका छन् ।

नेपाल र खनालको तयारी नियालेका महासचिव घनश्याम भुसाल पनि दुई नेताको लडाइँले आफूलाई चिट्ठा पर्न सक्ने बुझाइमा छन् । युवा पुस्ताका नेता कार्यकर्ताहरूको समर्थन प्राप्त गर्ने विश्वासमा छन् भुसाल ।   

पछिल्लो समय एमाले विभाजन र नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न नसकेको अध्यक्ष नेपालमाथि आरोप लाग्ने गरेको छ । नेपालमाथि यो आरोप सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाले नै लगाउने गरेका छन् । 

खनाल र भुसालले सिधै नेपालमाथि यो आरोपबारे नलगाए पनि उनीहरूले जनताको बहुदलीय जनवाद (जबज) र समाजवादबारे गर्ने व्याख्या र विश्लेषणहरूमा त्यही कुराको  झल्को दिने गरेका छन् । माधव नेपाल जनताको बहुदलीय जनवादमार्फत समाजवादमा पुग्नुपर्ने पक्षमा छन् भने खनाल वैज्ञानिक समाजवादको वकालत गर्छन् ।

अध्यक्षमा तीन नेताको चर्चा भइरहँदा हालका उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, केशव लाल श्रेष्ठ लगायतका नेताहरू भने अहिलेकै पद जोगाउन प्रयासरत छन् ।

दक्षिणपन्थी अवसरवाद अन्त्य गरी क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागु गर्न उम्मेदवारी दिन लागेको खनालको भनाइ छ । पार्टी विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको खनाल बताउँछन् ।

‘यसमा राजनीतिक, सैद्धान्तिक, वैचारिक, संगठनात्मक, कार्यशैली र नीतिगत पक्ष छ । यी कुरामा मतभिन्नता भएका कारण नै एमालेसँग विद्रोह भएको हो । यो विद्रोहलाई त्यो धरातल र उचाइबाट अझै पुष्टि गर्ने काम हुन सकेको छैन’, खनाल नेपालप्रति लक्षित गर्दै भन्छन्, ‘महाधिवेशनमा यो कुरालाई पुष्टि गर्नुपर्ने आवश्यकता छ ।’

उता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद(जबज) अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै आएका नेपालले विचारमा कुनै मतभेद नभएको बताउने गरेका छन् । जेठ २० आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले महाधिवेशनको दस्ताबेज सर्वसम्मतिबाट अगाडि सारिएको भन्दै नेतृत्व पनि त्यसै गरी छनोट हुने विश्वास समेत व्यक्त गरेका छन् । ‘हामीले राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम, सङ्गठनात्मक प्रस्ताव र विधान सर्वसम्मतिबाट अगाडि सारिएको हो । पार्टीको केन्द्रीय समितिबाट आएको सुझावलाई समेटेर मस्यौदा समितिले यी दस्ताबेज बनाएका थियौँ । सर्वसम्मतिबाट दस्ताबेज अगाडि सारिरहेका छौँ’, नेपालको भनाइ छ । 

अध्यक्षमा तीन नेताको चर्चा भइरहँदा हालका उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, केशव लाल श्रेष्ठ लगायतका नेताहरू भने अहिलेकै पद जोगाउन प्रयासरत छन् । पाण्डेले भने वरिष्ठ उपाध्यक्षमा चाहाना राखेको उनी निकटस्थ नेता कार्यकर्ता बताउँछन् ।

  • महासचिवमा ज्वाला र खतिवडा आकाङ्क्षी

कम्युनिस्ट पार्टीमा अध्यक्ष पछिको महत्त्वपूर्ण पद मानिन्छ, महासचिव । यो पदमा हालसम्म उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडाले आकाङ्क्षा देखाएका छन् । खतिवडाले त अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसाललाई भेटेरै आफू महासचिवको दाबेदार रहेको जनाउ दिइसकेको बताएका छन् ।

‘मैले शीर्ष नेतालाई भेटेर म महासचिवको दाबेदार भनेर जानकारी दिइसकेको छु’, खतिवडाले भने, ‘निर्वाचन नै हुने अवस्था आयो भने महासचिवमा मेरो उम्मेदवारी निश्चित छ ।’ 

तर उनले सहमतिमार्फत नेतृत्व चयन हुने सम्भावना पनि उतिकै रहेकाले त्यस अवस्थामा भने कम्प्रमाइज हुनसक्ने बताए । ‘यदि सहमतिबाटै अघि बढ्ने भइयो भने अहिलेका दाबी र घोषणा पनि परिवर्तन हुन्छन्,’ खतिवडाको भनाइ छ । 

महासचिवका अर्का आकाङ्क्षी ज्वालाले अहिले नै आफू कुन पदमा उठ्ने भनेर निर्क्योल नभएको बताए । तैपनि उनले निर्वाचन भए महासचिवमा दाबी गर्नु अनौठो नभएको खुलाए । 

‘अहिलेसम्म सहमतिको कुरा नेताहरूबाट पनि आएको छ । अब केही दिनमा सहमतिका लागि छलफल हुन्छ’, ज्वालाले दस्ताबेज तयार गर्ने क्रममा जसरी एउटै दस्ताबेज ल्याउने भनेर नेताहरूबिच सहमति जुट्यो । त्यसै गरी छलफल र संवादमार्फत नेतृत्वमा पनि सहमति जुटाउन सकिने विश्वास व्यक्त गरे । 

यी महाधिवेशन प्रतिनिधिहरूले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४ र सचिव ७ जना छनोट गर्नेछ ।  तर यो सङ्ख्याको पदाधिकारी चयन गर्नुअघि २१ सदस्यीय प्रस्तावित विधान महाधिवेशनले अनुमोदन गर्नुपर्ने हुन्छ ।

ज्वाला र खतिवडाले यस्तो बताए पनि चुनाव भए ज्वाला खनालपक्ष र खतिवडा नेपाल पक्षबाट चुनाव लड्ने सम्भावना रहेको कार्यकर्ताहरू बताउँछन् । एक केन्द्रीय सदस्य भन्छन्, ‘सहमति नभएर चुनाव नै हुने भएमा अध्यक्षमा खनालपछि हट्छन् र घनश्यामलाई माधवसँग भिडाउँछन् । महासचिवमा पनि खतिवडा नेपाल र ज्वाला खनाल पक्षबाट प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्छन् ।’

  • १ हजार ८७८ जना प्रतिनिधि

आगामी असार ५ गते देशभरका प्रतिनिधि छनोट गर्ने तयारी गरेको सो पार्टीले महाधिवेशनमा पेश गर्ने दस्ताबेज र प्रतिनिधि छनोटको प्रक्रियाबारे टुङ्गो लगाइसकेको छ । उपाध्यक्ष डा. बेदुराम भुसालका अनुसार महाधिवेशन आयोजकका रूपमा रहेको केन्द्रीय कमिटीका सदस्यहरू र विभिन्न आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । 

केन्द्रीय कमिटी सदस्य ३४६ र आयोगका पदाधिकारी १०४ जना गरी ४५० जना स्वतः महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । यसबाहेक संघीय निर्वाचन क्षेत्रलाई प्रतिनिधि छनोटको आधार बनाएर १२५ सदस्य बराबर १ जना प्रतिनिधि निर्वाचनमार्फत छनोट गर्ने व्यवस्था गरेको पार्टी प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाको भनाइ छ । 

यस्तै जनसंगठन र विभागहरूबाट समेत प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको पार्टीले जनाएको छ । यसरी सबै तिरबाट १८७८ जना जम्मा प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यी महाधिवेशन प्रतिनिधिहरूले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४ र सचिव ७ जना छनोट गर्नेछ ।  तर यो सङ्ख्याको पदाधिकारी चयन गर्नुअघि २१ सदस्यीय प्रस्तावित विधान महाधिवेशनले अनुमोदन गर्नुपर्ने हुन्छ ।

  • समाजवादको प्रचारप्रति नेपाल असन्तुष्ट

महाधिवेशन नजिकिँदै गर्दा सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालले आफूलाई समाजवादी विचारको नेता भनेर गरेको प्रचारप्रति अध्यक्ष नेपाल असन्तुष्ट बनेका छन् ।

‘कतिपय नेताले आफूलाई समाजवादी विचारको नेता भनेर प्रचार गर्दै हिँड्नुभएको छ, यो गलत छ’, अध्यक्ष नेपाल निकट एक पदाधिकारीले नेपालको भनाई उद्धृत गर्दै रातोपाटीसँग भने, ‘अहिले झलनाथ खनालले म समाजवादी विचारको नेता हुँ भनेर जे भनिरहनुभएको छ, त्यो उहाँले गलत कुरा गरिरहनुभएको छ । घनश्यामजीले पनि म आएपछि समाजवादी कार्यदिशा तय भयो भनेको सुनिन्छ यो पनि गलत हो । यसको प्रतिवाद हुन्छ ।’

जबकि एमालेसँग नेपालले विद्रोह गर्दा खनाल दिल्लीमा उपचाररत थिए भने घनश्याम भुसाल एमाले विभाजनमा एमाले (ओली)तिरै बसेका थिए । घनश्याम २०७९ को निर्वाचनताका मात्र नेता नेपाल नेतृत्वको पार्टीमा समाहित भएका हुन् । 

एमालेबाट विद्रोह गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्न तयार गरेका दस्ताबेजमै अबको बाटो समाजवाद भनेर उल्लेख गरेको उपाध्यक्ष डा. बेदुराम भुसालको भनाइ छ । ‘पार्टी दर्ता गर्दा नै दस्ताबेजमा हामीले हाम्रो पार्टीको अबको बाटो भनेको समाजवाद भनेर लेखेका छौँ,’ भुसालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप