पेले र म्याराडोनाले जित्न नसकेको कोपा अमेरिका
काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक कोपा अमेरिका जुन २१ (असार ७ गते) देखि सुरु हुँदैछ । १०८ वर्ष पुरानो इतिहास रहेको प्रतियोगिताको ४८ औँ संस्करण अमेरिकाका १४ स्टेडियममा खेलिनेछ ।
सन् २०१६ पछि दोस्रो पटक मात्र यो प्रतियोगिता दक्षिण अमेरिकाभन्दा बाहिर आयोजना हुन लागेको हो । अर्जेन्टिनाले हालसम्म यो प्रयोगिता सर्वाधिक ९ पटक आयोजना गरेको छ । उरुग्वे र चिली ७–७ पटक यो प्रतियोगिताको आयोजक राष्ट्र बन्दा ब्राजिल र पेरुले ६–६ पटक कोपा अमेरिका आयोजना गरेका छन् ।
सन् २०२१ मा आयोजना भएको पछिल्लो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई १–० ले स्तब्ध बनाएको थियो ।
यसपटक साबिक विजेता अर्जेन्टिनाले उद्घाटन खेलमा क्यानडाको सामना गर्नेछ । खेल एटलान्टाको मर्सिडिज बेन्ज स्टेडियममा खेलाइनेछ ।
- कोपा अमेरिकाको फर्म्याट
यो संस्करणमा १६ वटा टोलीलाई ४ टोली सम्मिलित ४ टिममा विभाजन गरिएको छ । समूह चरणमा हरेक टोलीले एक–एक पटक समूहमा रहेका अन्य टोलीको सामना गर्नेछन् । एउटा समूहबाट दुई शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
नकआउटमा तीनवटा चरण हुनेछन्, जुन युरोपियन प्रतियोगिताभन्दा एक चरण कम हो । यसमा समूह चरणपछि सिधै क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।
क्वार्टरफाइनलमा समूह चरणको विजेताले अर्को समूहको उपविजेताको सामना गर्नेछ । यस चरणका विजेताहरू सेमिफाइनलमा आमनेसामने हुनेछन् । फाइनल खेल जुलाई १४ मा मियामी फ्लोरिडाको हार्ड रक स्टेडियममा खेलिनेछ ।
- प्रतियोगितामा भाग लिने टोलीहरू
दक्षिण अमेरिका (कोनमेबोल) बाट १० टोली : अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पाराग्वे, पेरु, उरुग्वे र भेनेजुएला ।
उत्तर अमेरिका (कोनकाकाफ) बाट ६ टोली : अमेरिका, मेक्सिको, जमाइका, पानामा, क्यानडा र कोस्टारिका ।
समूह चरणको ड्र डिसेम्बर ७, २०२३ मा फ्लोरिडाको जेम्स एल नाइट सेन्टरमा आयोजना गरिएको थियो । फिफा वरीयताको आधारमा टोलीको ‘सिडिङ’ गरेर समूहहरू विभाजन गरिएको थियो ।
समूह ए : अर्जेन्टिना, पेरु, चिली, क्यानडा
समूह बी : मेक्सिको, इक्वेडर, भेनेजुएला, जमाइका
समूह सी : अमेरिका, उरुग्वे, पानामा, बोलिभिया
समूह डी : ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका
- कोपा अमेरिकामा सबैभन्दा सफल टोली
प्रतियोगितामा अप्रत्याशित रूपमा उरुग्वेले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । टोलीले सुरुवाती ९ मध्ये ६ वटा प्रतियोगिता जितेको थियो । टोली अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक यो उपाधि जितेको छ ।
सन् १९७५ मा दक्षिण अमेरिकी फुटबल च्याम्यिनसिपबाट प्रतियोगिता नाम परिवर्तन गरेर कोपा अमेरिका राखिएको थियो । अर्जेन्टिनाले १९६० अघि नै आफूले जितेका १५ मध्ये १२ उपाधि हात पारेको थियो । लियोनेल मेस्सीको प्रेरणामा अर्जेन्टिनाले सन् १९९३ पछि सन् २०२१ मा उपाधि जित्न सफल भएको थियो ।
पछिल्ला तीन दशक भने यसमा ब्राजिलको आधिपत्य रह्यो । सन् १९८९ मा ४० वर्षको खडेरी अन्त्य गर्दै टोलीले आफ्नो ९ मध्ये ५ उपाधि जितेको थियो । बालोन डी’ओर विजेता रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो र काकाजस्ता खेलाडीहरूको मद्दतले टोलीले सन् १९९७, १९९९, २००४ र २००७ मा ४ पटक यो प्रतियोगिता हात पार्न सफल भयो ।
चिलीले सन् २०१५ र २०१६ मा लगातार दुई उपाधि जितेको थियो । पेरु र पाराग्वेले चिलीसँगै २–२ पटक यो प्रतियोगिता जितेका छन् । कोलम्बिया र बोलिभियाको नाममा १–१ उपाधि रहेका छन् । इक्वेडर र भेनेजुएलाले मात्र हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन् ।
- स्टार खेलाडीहरू
सन् २०२२ मा विश्वकप जित्दै आफ्नो ‘बकेट लिस्ट’ पूरा गरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी यसपटक पनि प्रतियोगितामा सहभागी हुँदैछन् । इन्टर मियामीका स्टार खेलाडी मर्सेडिज बेन्ज स्टेडियममा उत्रिँदा उनको प्रतियोगितामा ३५ औँ खेल हुनेछ । उनले चिलीका गोलकिपर सर्जियो लिभिङ स्टोनले बनाएको सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड तोड्नेछन् ।
ब्राजिलको टोलीमा नेयमार नभए पनि भिनिसियस जुनियर, रोड्रिगो एलिसन, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमारेसजस्ता खेलाडी ब्राजिलको टोलीमा हुनेछन् ।
लिभरपुलका लुइस डियाज कोलम्बियाबाट खेल्नेछन् भने डार्विन नुनेज र रियलका फेडेरिको भालभर्डे उरुग्वेबाट खेल्नेछन् ।
मोइसेस काइसेडो इक्वेडरको टोलीमा समावेश छन् । अमेरिकी टोलीमा मिलानका क्रिस्टियन पुलिसिच, नर्विचका जोड सारजेन्ट जस्ता खेलाडी छन् ।
- पेले र म्याराडोनाले नजितेको प्रतियोगिता
प्रायः सबै दक्षिण अमेरिकी सुपरस्टारहरूले कोपा अमेरिकाको उपाधि जितेका छन् । रोचक रूपमा यसमा दुई सर्वकालीन महान् खेलाडीद्वय म्याराडोना र पेले अपवाद हुन् ।
म्याराडोनाले सन् १९७९, १९८७ र १९८९ मा तीनपटक कोपा अमेरिका खेले पनि उनको हातबाट उपाधि टाढा रह्यो । उनले सन् १९८७ मा घरेलु मैदानमा आयोजित प्रतियोगिता सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ४ खेलमा तीन गोल गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याए पनि टोली साबिक विजेता उरुग्वेसँग १–० ले स्तब्ध बन्यो ।
यता, पेलेले भने सन् १९५८ मा एकपटक मात्र यो प्रतियोगितामा भाग लिएका थिए । मात्र १९ वर्ष रहेका उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । तर, ७ टोलीको राउन्ड रोबिनमा ब्राजिल अर्जेन्टिनाभन्दा पछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...
-
‘काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम दिएन’
-
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
-
जय ट्रफी फाइनल : भीम सार्कीको अर्धशतक, आर्मीलाई पहिलो इनिङ्समा ३७ रनको अग्रता
-
बङ्गलादेशको सर्वोच्च अदालतले पूर्व प्रम जियालाई दियो सफाइ
-
रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ