बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सदाबहार नेतृत्व

२७ वर्षदेखि उपेन्द्र यादव निरन्तर पार्टी अध्यक्ष

बल्लतल्ल महाधिवेशन हुँदा पनि अरुले उम्मेदवारी दिन गरेनन् हिम्मत
बिहीबार, ३१ जेठ २०८१, १४ : ४४
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । जनकपुरमा जेठ २८ गतेदेखि जारी महाधिवेशनमा नयाँ कार्यसमितिका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

अध्यक्षमा चयन भएपछि उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्ष पदमा मलाई पुनः निर्विरोध निर्वाचित गरेकोमा महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक, नेता कार्यकर्ता, शुभचिन्तक एवं सम्पूर्ण पार्टी पंक्तिप्रति धन्यवादसहित हार्दिक आभार व्यक्त गर्दछु ।’

२०६३ मा मधेसी जनअधिकार फोरम नेपाल दर्ता गराएपछि उपेन्द्र यादवले सामना गरेको यो दोस्रो महाधिवेशन हो । यद्यपि जसपा नेपालले यसलाई प्रथम एकता महाधिवेशन भनेको छ । सामाजिक संस्थाको रूपमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालको अध्यक्षमा उपेन्द्र यादव २०५४ मै चयन भएका थिए । त्यही मधेसी जनअधिकार फोरम नेपाल विभिन्न रूप लिँदै जनता समाजवादी पार्टी नेपालसम्म आइपुगेको हो ।

यो एकता महाधिवेशनबाट पनि उपेन्द्र यादव नै अध्यक्षमा कायम रहे । उनको विरुद्धमा कसैले उम्मेदवारी दिएनन् । कतिपयको भनाइ छ, ‘जसपा नेपालको अध्यक्षमा दावी गर्ने सबै नेताहरूलाई उपेन्द्र यादवले साइड लगाइ दिए । फिल्ड खाली भएपछि सर्वसम्मतिले अध्यक्षमा चयन हुनु कुनै ठुलो कुरा होइन ।’

जसपा नेपालमा उपेन्द्र यादवलाई महन्थ ठाकुर, राजेन्द्र महतो, डा.बाबुराम भटट्राई, महिन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठबाट भय थियो । उनीहरूले पार्टीको अध्यक्षमा दाबी गर्ने हो कि भन्ने चिन्ता उपेन्द्र यादवमा थियो । तर बिस्तारै ती सबै जना साइड लागेपछि पार्टीमा उनको कोही प्रतिस्पर्धी नै भएनन् । त्यसपछि ढुक्कले महाधिवेशन गराएर पुनः अध्यक्षमा उनी चयन भएको धेरैको टिप्पणी छ ।

माओवादी केन्द्र, जनमत पार्टी र जसपा नेपालबाहेक हरेक पार्टीको महाधिवेशन हुँदा पार्टी अध्यक्षमा दुई वा सोभन्दा बढी उम्मेदवारी परेका छन् । कांग्रेस, एमाले, राप्रपा, लोसपा नेपाललगायत हरेक दलमा अध्यक्षको प्रतिस्पर्धी हुन्छन् । तर जसपा नेपालमा अध्यक्षको कोही प्रतिस्पर्धी नै देखिएन । बरु सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिवलगायतमा कडा प्रतिस्पर्धा हुने देखिएको छ तर अध्यक्षमा उपेन्द्र यादवबाहेक अरु कसैको उम्मेदवारी परेन ।

कांग्रेसमा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङले शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका थिए भने एमालेमा केपी शर्मा ओलीसँग भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै राप्रपामा राजेन्द्र लिङ्देनसँग कमल थापाले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । यहाँसम्म कि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन तमलोपाको महाधिवेशन गराउँदा गोविन्द चौधरीले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

लामो समय मधेस राजनीतिमा सक्रिय लेखक एवं पत्रकार श्रीमननारायण मिश्र भन्छन्, ‘जसपा नेपालमा मात्र होइन, मधेस केन्द्रित दलमा आजसम्मकै इतिहासमा महाधिवेशनबाट अध्यक्ष परिवर्तन भएको छैन । जो एक पटक अध्यक्ष हुनुभयो, सधैँका लागि रहनुभयो । कसैले पनि पुस्तान्तरण गर्नुभएको छैन ।’

गजेन्द्रनारयण सिंहदेखि महन्थ ठाकुरसम्म, उपेन्द्र यादवदेखि विजयकुमार गच्छदारसम्म कसैले पनि अध्यक्ष पद छाडेनन् । पार्टीको अध्यक्ष पदमा रहेकै अवस्थामा गजेन्द्र नारायण सिंहको निधन भएको थियो । जेपी गुप्ता अध्यक्ष रहँदा नै जेल परे । विजयकुमार अध्यक्ष रहँदा नै कांग्रेसमा विलय भए ।

‘मधेस राजनीतिमा कसैले पनि पार्टीको अध्यक्ष पद नछाडेको यतिका उदाहरण रहेको अवस्थामा उपेन्द्र यादवले अध्यक्ष छाडेर चुपचाप बस्ने कुरा नै हुँदैन,’ राजनीतिक विश्लेषक मिश्रले भने, ‘आर्थिक रूपमा पार्टी जसले सञ्चालन गर्न सक्छ, ऊ नै अध्यक्ष रहन्छ । अरुले पार्टी चलाउन हिम्मत नगरेको कारण उम्मेदवारी नदिएको हुन सक्छ ।’

अध्यक्षको यात्रा

२०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा सामाजिक संस्थाको रुपमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पछि त्यही फोरमलाई २०६३ मा पार्टी बनाइयो ।

मधेसी जनअधिकार फोरम नेपाल पार्टीको रूपमा आएपछि २०६५ मा पहिलो महाधिवेशन भएको थियो । त्यसमा पनि उपेन्द्र यादव सर्वसम्मतिले अध्यक्षमा चयन भएका थिए । १६ वर्षपछि भएको महाधिवेशनमा पनि त्यही अवस्था दोहोरिएको हो ।

अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग मधेसी जनअधिकार फोरम नेपालले एकीकरण गरेर सङ्घीय समाजवादी फोरम नेपाल बनाएको थियो । त्यसमा अशोक राईलाई वरिष्ठ नेता र उपेन्द्र यादव अध्यक्ष बने । त्यसपछि सङ्घीय समाजवादी फोरम नेपालले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरी समाजवादी पार्टी बनायो । समाजवादी पार्टीमा पनि उपेन्द्र यादव आफू अध्यक्ष बने भने भट्टराईलाई सङ्घीय परिषद्को अध्यक्ष बनाए ।

त्यसपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भएर जनता समाजवादी पार्टी बन्यो । त्यसमा महन्थ ठाकुर र उपेन्द्र यादव दुवै जना अध्यक्ष बने ।

तर दुई जना अध्यक्ष रहेको जसपा नेपाल धेरै समय एकीकृत रहन सकेन । जसपाबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरे । उपेन्द्र यादव जसपा नेपालको एकल अध्यक्ष रहे । महन्थ ठाकुर गएपछि त्यो ठाउँमा अर्को अध्यक्ष राख्न डा. भट्टराईले माग गरे । त्यही विषयमा दुवै जनाबिच खटपट भएपछि भट्टराई जसपाबाट अलग भए ।

त्यसपछि उपेन्द्र यादवले जसपा नेपालको विधान संशोधन गरेर पार्टीमा एकल अध्यक्ष कायम गरे । महाधिवेशनमा अशोक राई, राजेन्द्र श्रेष्ठलगायतले अध्यक्षमा दाबी गर्ने हो कि भनेर महाधिवेशनका लागि प्रतिनिधि चयनदेखि निर्वाचनको निर्देशिकासमेत उपेन्द्र यादवले आफ्नो अनुकूल बनाएपछि विवाद उत्पन्न भएको थियो ।

सोही विवादका कारण उनीहरू पार्टीबाट अलग भएर जसपा बनाएका छन् । अर्थात आफू पार्टीको अध्यक्ष रहनका लागि आफ्ना प्रतिस्पर्धीलाई सुरुदेखि नै किनारा लगाउँदै आएका यादवले पार्टीमा आफूलाई असुरक्षित महसुस गरेपछि महाधिवेशन गराउन चाहेनन् । पार्टीहरूसँग एकीकरणको बहाना बनाउँदै उनले महाधिवेशन टार्दै आएका थिए ।

एकीकरणमै टारे १६ वर्ष

२०७२ जेठ २२ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राइ नेतृत्वको सङ्घीय समाजवादी पार्टी नेपालबिच एकीकरण भइ सङ्घीय समाजवादी फोरम नेपाल बनेको थियो । त्यो एकीकरणपछि पार्टीले २०७५ माघ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । त्यसपछि अर्को मिति २०७६ वैशाखका तय गरियो । वैशाखमा महाधिवेशन त भएन, तर वैशाख २३ गते डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण भयो । नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखियो । त्यसपछि समाजवादी पार्टी नेपालको पनि एकता महाधिवेशन गर्ने भनी पार्टीमा चर्चामा चलाइयो । महाधिवेशनको चर्चा चलिरहेकै बेला २०७७ वैशाख १० गते तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भयो ।

दुई पार्टीबिच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बनाइयो । सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए । सो पार्टी एकीकरणपछि बनेको विधानमा पाँच वर्षमा एकता महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको चर्चा नहुँदै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबिच खटपट सुरु भयो र पार्टी विभाजन भयो ।

महन्थ ठाकुरले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे भने उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष भएर बसे ।

जनकपुरका वरिष्ठ पत्रकार बृजकुमार यादव भन्छन्, ‘आफ्नो विरुद्धमा उम्मेदवारी पर्न नदिनु पनि नेतृत्व पक्षको ठुलो जित हो । पार्टीमा उपेन्द्र यादवविरुद्ध कसैले उम्मेदवारी नदिनुको अर्थ अहिले पनि उपेन्द्र यादव पार्टीका लागि चाहिने व्यक्ति हो भन्ने पुष्टि हुन्छ ।’

चुनावको प्रक्रियामा गइसकेका कारण आकाङ्क्षीले उम्मेदवारी दिनसक्ने धरातल निर्माण भइसकेको थियो । तर उपेन्द्र यादवको विकल्प कसैले नखोजेको बृजकुमारको भनाइ छ । अरु पदहरूमा कडा प्रतिस्पर्धा भइरहे पनि अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन भएको उल्लेख गर्दै उनले कार्यसमितिको अन्य पदमा भइरहेको प्रतिस्पर्धाले पार्टीमा ठुलै परिवर्तन ल्याउने दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप