कृत्रिम गुलियोले हर्ट अट्याकको खतरा
काठमाडौँ । दुई महिना अघि भारतको पन्जाबस्थित पटियालामा एक १० वर्षीय बालिकाको मृत्यु भयो । उनको मृत्युको कारण जन्मदिनको केक थियो । कृत्रिम गुलियोका कारण मृत्यु भएको जाँचबाट थाहा भएको थियो ।
चिनीको विकल्पका रूपमा प्रयोग गरिने कृत्रिम गुलियो जाइलिटलको हर्ट अट्याक, स्ट्रोक र मुटुसँग सम्बन्धित रोगसँग प्रत्यक्ष सम्बन्ध रहेको युरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ । यसको निरन्तर प्रयोगले भविष्यमा मुटु रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ ।
गएको वर्ष अर्थात् २०२३ को जुलाईमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिनीको विकल्पका रूपमा प्रयोग हुने कृत्रिम गुलियो एस्पार्टमले टाइप–२ मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम बढाउन सक्ने चेतावनी दिएको थियो । डब्ल्यूएचओ र इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)को संयुक्त अध्ययनपछि एस्पार्टमलाई क्यान्सरको श्रेणीमा राखिएको थियो । यसको मतलब एस्पार्टमले क्यान्सर पनि निम्त्याउन सक्छ । विकल्पको रूपमा प्रयोग भइरहेको सबै प्रकारका कृत्रिम गुलियोबारे पनि चेतावनी दिइएको थियो ।
आजको यस लेखमा हामीहरू कृत्रिम गुलियो र मुटुको स्वास्थ्य बिच के सम्बन्ध छ ? के कृत्रिम गुलियोले क्यान्सर पनि निम्त्याउँछ ? यसको प्रयोगले कुन–कुन रोगको जोखिम बढ्न सक्छ ? आदि प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ ।
डब्ल्यूएचओका अनुसार विश्वभर ४२ करोडभन्दा धेरै मानिस मधुमेह पीडित छन् । अधिकांश मानिसहरू मिठासका लागि कृत्रिम गुलियोलाई सुरक्षित ठानेर प्रयोग गर्छन् । विश्वभर कृत्रिम गुलियोको प्रयोग बढ्दो छ । नेपालमा चिनीको विकल्पको रूपमा कृत्रिम गुलियोको प्रयोग बढिरहेको छ । स्टेटिष्टामा प्रकाशित एक अध्ययनअनुसार विश्वभर एक वर्षमा करिब १२० करोड केजी कृत्रिम गुलियो प्रयोग भइरहेको छ । यो आगामी ४ वर्षमा बढेर सन् २०२८ सम्ममा १४५ करोड किलोग्राम पुग्न सक्ने देखिएको छ । कृत्रिम गुलियोको बढ्दो प्रयोगबारे विशेषज्ञहरू चिन्तित छन् ।
कृत्रिम गुलियोमाथि प्रश्न
विश्वका अधिकांश ठुला डाक्टरहरूले कृत्रिम मिठाईको प्रयोगमाथि प्रश्न उठाएका छन् । प्रसिद्ध डाक्टर जेसन फङले आफ्नो पुस्तक ‘द डायबिटिज कोडः प्राकृतिक रूपमा टाइप २ मधुमेह रोक र उल्ट्याउ’मा कृत्रिम गुलियोलाई मिथक भनेका छन् । यसैबिच क्यालिफोर्निया विश्वविद्यालयको एन्डोक्राइनोलजी विभागका प्राध्यापक डाक्टर रोबर्ट लुस्टिगले आफ्नो पुस्तक ‘फ्याट चान्स’मा यसलाई स्वास्थ्यका लागि असुरक्षित भनेका छन् ।
रगत जम्ने समस्या
क्लिभल्याण्ड क्लिनिकमा कार्डियोभास्कुलर र मेटाबोलिक साइन्सेसका अध्यक्ष डा. स्टेनली हेजेनका अनुसार कयौँ प्याकेज फुडमा कृत्रिम गुलियो जाइलिटाल हुन्छ । यसको लगातार प्रयोगले रगत जम्ने खतरा बढाउँछ । जसले हृदयाघात वा स्ट्रोक जस्ता समस्या निम्त्याउँछ । सबै खाले कृत्रिम मिठाईमा छुट्टै अध्ययनको आवश्यकता रहेको पनि उनले बताएका छन् । यसको सेवनले मधुमेह र मोटोपन दुवै रोगको जोखिम हुन्छ ।
कृत्रिम गुलियोले निम्त्याउन सक्छ क्यान्सर
कृत्रिम गुलियोले क्यान्सर पनि हुन सक्ने इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरको एक अध्ययनले देखाएको छ । एफएओ र डब्ल्यूएचओको एक समितिले पनि कृत्रिम गुलियोलाई क्यान्सरको कारक मानेको छ । सबैखाले कृत्रिम गुलियो मध्ये एस्पार्टमलाई बढी खतरनाक मानिन्छ । विश्वमा हरेक छैटौं मृत्यु क्यान्सरका कारण भइरहेको छ । त्यसैले डब्ल्यूएचओले यसलाई सकेसम्म कम प्रयोग गर्न आग्रह गरेको छ ।
कुन–कुन खानेकुरामा हालिएको हुन्छ कृत्रिम मिठाई ?
कयौँ पटक मधुमेहका बिरामीहरूले चिनी हालेको चियाको लोभ छाड्न सक्दैनन् । चिया गुलियो बनाउन सुगर फ्री ट्याब्लेट र क्युब्स प्रयोग गर्छन् । तर यी सुगर फ्री ट्याब्लेटहरू कृत्रिम गुलियोबाट बनाइको हुन्छ । बजारमा पाइने प्याकेज जुस, चकलेट, जाम, केक, चुइङ्गम, केचअप, शुगर फ्रि बिस्कुट लगायत अधिकांश प्याकेज खानेकुरामा कृत्रिम मिठासको प्रयोग हुने गरेको छ ।
मुटु रोग र क्यान्सर बाहेक कुन कुन रोगको जोखिम हुन्छ ?
लामो समयसम्म कृत्रिम मिठास प्रयोग गर्दा मुटु सम्बन्धी रोग र क्यान्सर आदि रोग लाग्छन् । सुरुआतमा चाहिने भन्दा धेरै खाने, मोटोपना र टाउको दुख्नेजस्ता समस्या हुन सक्छ ।
ओभर इटिङको मुख्य कारण हो कृत्रिम मिठास
नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार कृत्रिम मिठाईको निरन्तर प्रयोगले तृप्त भएको महसुस गराउने लेप्टिन हर्मोन प्रभावित हुन्छ । फलतः बारम्बार खान मन लाग्छ अनि खानेकुरा धेरै खाइन्छ ।
बढ्दै छ मोटोपनको समस्या
विश्वभर तौल घटाउन चाहनेहरूको सङ्ख्या बढ्दै गएको छ । हरेक मानिस स्लिम अनि फिट देखिन चाहन्छन् । जसका कारण ठुलो सङ्ख्यामा मानिसहरू चिनी त्यागिरहेका छन् । कतिपयले चिनीको विकल्पका रूपमा कृत्रिम मिठासको प्रयोग गरिरहेका छन् । तर अध्ययनले भने ठिक उल्टो दाबी गरिरहेका छन् । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार बढ्दो तौल र मोटोपनका लागि कृत्रिम मिठास जिम्मेवार हुन्छ ।
टाउको दुखाइ र डिप्रेसनको कारण
हेल्थ जर्नल हेडेकमा प्रकाशित एक अध्ययनअनुसार कृत्रिम मिठासले टाउको दुख्ने, डिप्रेसन र बेहोसी जस्ता समस्या आउन सक्छ । यस्ता समस्या साना बालबालिकामा बढी देखिएको छ ।
पेटको स्वास्थ्यमा असर
हाम्रो पेट ब्याक्टेरियाले चिनीको तुलनामा कृत्रिम मिठाससँग फरक तरिकाले प्रतिक्रिया जनाउँछ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार जब स्याकरिन र सुक्रोलोज जस्ता गुलियो हाम्रो माइक्रोबायोमसँग सम्पर्कमा आउँछन्, डिस्बिओसिसको जोखिम बढ्छ । यसको मतलब हो आन्द्रामा राम्रा ब्याक्टेरियाको तुलनामा हानिकारक ब्याक्टेरियाको सङ्ख्या बढ्छ । यसले पेट फुल्ने, अटो इम्युन कन्डिसन, माइग्रेन र चिन्ताजस्ता समस्याहरू निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !