बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

भारतको जितको ह्याट्रिकबिच कोहलीको ओपनिङमाथि प्रश्न

बिहीबार, ३१ जेठ २०८१, १३ : ३२
बिहीबार, ३१ जेठ २०८१

न्युयोर्क ।१, ४, ० । यी हुन् टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतीय टोलीले खेलेका तीन खेलमा विराट कोहलीको ब्याटबाट बनेको रन ।

बुधबार विराट कोहली न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा ब्याटिङ गर्न निस्कँदा, उनले टी-२० क्रिकेटमा आफ्नो पहिलो खेलको १४ औँ वार्षिकोत्सव मनाउँदै थिए।

आयरल्यान्ड र पाकिस्तानविरुद्ध राम्रो खेल्न नसकेपछि कोहलीको ब्याटले एसोसिएट टोली अर्थात् अमेरिकाविरुद्ध राम्रो प्रदर्शन गर्छ भन्ने आशा क्रिकेटप्रेमी र विराटका फ्यानलाई थियो । 

तर यो खेलमा पनि कोहली गोल्डेन डकको सिकार बने । उनी पहिलो ओभरको दोस्रो बलमा अमेरिकी खेलाडी सौरभ नेत्रावलकरले शून्य रनमा आउट भएका थिए ।

अमेरिकालाई सात विकेटले पराजित गर्दै भारतले सुपर–८ मा पुग्ने बाटो खुलेको छ तर कोहलीको प्रदर्शनबाट आलोचकहरूले भारतीय टोलीको रणनीतिमा प्रश्न उठाइरहेका छन् ।

कोहली किन कप्तान रोहित शर्मासँग ओपनिङका लागि आउँदैछन् भन्ने प्रश्न पनि उठेको छ ।

विश्वकपमा कोहलीको प्रदर्शन कस्तो रह्यो ?

२३ अक्टोबर २०२२ । यो त्यही मिति हो जब विराट कोहलीको नेतृत्वमा भारतले टी-२० विश्वकपमा पाकिस्तानमाथि असम्भव जित हात पारेको थियो।

virat kohli

त्यो खेलमा विराट कोहली अन्तिम समयसम्म अडिग रहे र भारतलाई जित दिलाए । कोहलीले ५३ बलमा ८२ रन बनाएका थिए ।

कोहली दुई फरक टी-२० विश्वकप प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने एकमात्र खेलाडी हुन् । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा विराटले सर्वाधिक ३१९ रन बनाएका थिए ।

योसँगै अस्ट्रेलियामा २०२२ को विश्वकपमा विराट कोहलीले सर्वाधिक २९६ रन बनाएका थिए। गत महिना सकिएको इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा विराट कोहली सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

तर, त्यतिबेला पनि उनको सुस्त ब्याटिङको चर्चा थियो तर कोहलीले धेरै खेलमा छिटो रन बनाएर आफ्नो स्ट्राइक रेट १५० भन्दा माथि पुर्‍याएका थिए ।

बरु, कोहली आईपीएलको दुई फरक सिजनमा ७०० भन्दा बढी रन बनाउने पहिलो भारतीय खेलाडी बने । 

आईपीएलमा कोहलीको फर्म देखेर उनलाई टी–२० विश्वकपमा तेस्रो नम्बरको सट्टा ओपनिङ ब्याट्सम्यानको जिम्मेवारी दिइएको थियो । अब समूह चरणको अन्तिम खेलमा भारतले शनिबार जुन १५ मा क्यानडासँग खेल्नेछ ।

  • कोहलीको ब्याटिङ अर्डर परिवर्तनबारे आक्रोश

खेलपछि पूर्व क्रिकेटर इरफान पठानले विराट कोहलीले छिट्टै ठुलो स्कोर गर्ने आशा व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विराट कोहलीले छिट्टै ठुलो स्कोर गर्नेछन्, पर्खनुहोस्।

virat

उता, ओपनिङ ब्याटिङका लागि विराट कोहली र रोहित शर्माको जोडीमाथि प्रश्न उठाउनेहरु पनि छन् । पूर्व भारतीय क्रिकेटर मोहम्मद कैफले पनि कोहली तेस्रो नम्बरमा आउनु पर्ने बताएका छन् । मोहम्मद कैफले खेलपछि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

कैफले भने, ‘हेर्नुहोस्, तेस्रो नम्बरमा आउनुको फाइदा यो हो कि तपाईं बाहिरबाट बसेर खेल बुझ्न सक्नुहुन्छ । तपाईं बुझ्न सक्नुहुन्छ कि खेलाडीले के गर्न खोजिरहेको छ। पिचको व्यवहार कस्तो छ भन्ने बुझ्न पनि जरुरी छ । विराट कोहली यसमा माहिर छन् किनभने उनी चीजहरू बुझेर फर्ममा आउँछन् । यहाँ हामीले विकेट बचाएर खेल्नुपर्छ । तेस्रो नम्बरमा उनले अलि ढिलो खेल्ने मौका पाउनेछन् । तेस्रो नम्बरमा रहँदा विराटले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विराट कोहलीलाई बाहिरबाट खेल बुझ्ने मौका दिनुपर्छ। उसलाई तेस्रो नम्बरमा मात्र खेल्न दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’

अमेरिकाविरुद्ध कोहली शून्य रनमा आउट भएपछि एक प्रयोगकर्ताले रोहित शर्मा र विराट कोहलीले आयरल्याण्डविरुद्ध २२ रन, पाकिस्तानविरुद्ध १२ रन, अमेरिकाविरुद्ध एक रनको साझेदारी गरेको लेखे । अब रोहित शर्मासँगै यशस्वी जैसवाल वा सञ्जु सैमसनलाई ओपनरको रूपमा ल्याउनुपर्ने र विराट कोहलीले तेस्रो नम्बरमा ब्याटिङ गर्नुपर्ने समय आएको उनको भनाई छ ।

virat rohit

अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘कस्तो बेकार टिम छनोट । जैसवालको सट्टा विराट कोहली किन ओपनिङ गर्दैछन् ?’

अर्को प्रयोगकर्ताले लेखे, ‘रोहित शर्मासँग ओपनिङका लागि यशस्वी जैसवाल वा सञ्जु सैमसनलाई फिर्ता ल्याउनुहोस् । विराट कोहली तेस्रो नम्बरमा उत्कृष्ट छन्। भारतले उनलाई ओपनरको रूपमा बर्बाद गरिरहेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप