जगदम्बा स्टिलले अतिक्रमण गरेको जग्गामा विभागको ताकेता

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिलले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले निकुञ्जलाई जवाफका लागि पुनः ताकेता गरेको छ ।
विभागले जेठ २४ गते निकुञ्जलाई दोस्रो पटक पत्र पठाएर अतिक्रमण भएको जग्गाको सम्बन्धमा जवाफ माग गरेको हो । ‘यसअघि पठाएको पत्रको हालसम्म कुनै जवाफ प्राप्त नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सो सम्बन्धमा ताकेता पत्र प्राप्त भएकाले संलग्न पत्रअनुसार माग भए बमोजिमको कागजपत्र तथा विवरणहरू पत्र प्राप्त भएको मितिले ३ दिनभित्र विभागमा उपलब्ध गराइदिनु हुन आदेश अनुसार अनुरोध छ,’ विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।
यसअघि फागुन २ गते वन्यजन्तु विभागले आवश्यक कारबाहीका लागि निकुञ्जलाई पहिलो पत्र पठाएको थियो । सो पत्रमा जगदम्बा स्टिलले अतिक्रमण गरेको निकुञ्जको २५ बिघा जग्गा सम्बन्धमा के कसो भएको हो, सोको राय प्रतिक्रिया ५ दिनभित्र विभागमा उपलब्ध गराउन निर्देशन दिएको थियो ।
उद्योगले अतिक्रमण गरेर भोगचलन गरेको जग्गाको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वन्यजन्तु विभागमा जवाफ नपुगेपछि विभागले पुनः ताकेता पत्र पठाएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले उद्योगले भोगचलन गरेको निकुञ्जको जग्गा विगतमा केही कारोबारीहरुले कब्जा गरेर उद्योगलाई बिक्री गरेको टिप्पणी गरेका छन् । उनले सो जग्गाको नापजाँचको सम्बन्धमा निकुञ्ज र सरोकारवाला निकायसँग छलफल भइरहेको र केही दिनमा नापजाँच गर्ने दाबी गरे ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्योगले अतिक्रमण गरेको जग्गाको लालपुर्जा समेत बनाइ पूर्वाधार निर्माण गरेर भोगचलन गरेकाले जिल्ला प्रशासन कार्यालय बारामार्फत आवश्यक कारबाही अगाडि बढाउन सुझाव दिएको बताएका छन् । उनले निकुञ्ज एक्लैले केही गर्न नसक्ने प्रस्ट पारे ।
‘विभागले पठाएको पत्रको जवाफ हामीले पठाइसकेका छौँ । अब पत्र सम्बन्धित शाखामा नपुगेर पुनः ताकेता पत्र आएको होला,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘अतिक्रमण गरेको जग्गा नापजाँचको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा मार्फत कारबाही गर्न उपयुक्त हुन्छ भनेर हामीले राय सुझाव पेस गरेका छौँ ।’
निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत राधाकृष्ण सामुदायिक वनको जग्गा जगदम्बा स्टिलले अतिक्रमण गरेर भोगचलन गरेको विषयमा २०८० माघ २१ गते अख्तियारमा उजुरी परेको थियो । आयोगमा परेको उजुरीमा विभागमार्फत आयोगले जवाफ माग गरेको हो ।
२०५०-०५१ सालमा ४ बिघा व्यक्तिको जग्गा खरिद गरेर उद्योग प्रशासनले संरचना निर्माण सुरु गरेको थियो । तर, अहिले उद्योगसँग ४० बिघाभन्दा धेरै जग्गा भोगचलनमा छ ।
सो उद्योग पूर्वतर्फ पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको ६ लेन सडक र पश्चिमतर्फ पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ ।
२०६० सालपछि तत्कालीन गाविस अध्यक्ष, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय प्रहरी प्रशासनसँगको मिलेमतोमा उद्योगले निकुञ्जतर्फको जग्गामा १५ देखि २० फिट अग्लो पर्खाल लगाएको छ । साथै वन्यजन्तुहरूले पानी पिउँदै आएको सार्वजनिक भाङ्ग्रे खोलालाई समेत कब्जा गरेर उद्योगभित्रबाट ढल निकासका लागि खोला प्रयोग गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले उद्योगले भोगचलन गरेको निकुञ्जको जग्गा विगतमा केही कारोबारीहरुले कब्जा गरेर उद्योगलाई बिक्री गरेको टिप्पणी गरेका छन् । उनले सो जग्गाको नापजाँचको सम्बन्धमा निकुञ्ज र सरोकारवाला निकायसँग छलफल भइरहेको र केही दिनमा नापजाँच गर्ने दाबी गरे ।
एक महिनाभित्र जग्गाको नापजाँच गरेर प्रतिवेदन पेस गर्न लगाउँछु : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जगदम्बा स्टिलले अतिक्रमण गरेको निकुञ्जको जग्गा तत्काल नापजाँच गर्न निर्देशन दिने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा प्रमुख आयुक्त राईले एक महिनाभित्र जग्गा नापेर प्रतिवेदन बुझाउन आदेश दिने बताएका हुन् ।
‘निकुञ्जको सार्वजनिक जग्गा कुनै व्यक्ति वा उद्योगले अतिक्रमण गर्न मिल्दैन । यो विषयमा म एक महिनाभित्र जग्गाको नापजाँच गरेर प्रतिवेदन पेस गर्न लगाउँछु,’ उनले भने, ‘त्यसपछि बाँकी कारबाही प्रक्रिया अगाडि बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित