बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपद्प्रति सरकारको पूर्वतयारी सन्तोषजनक छैन : योगेश भट्टराई

बिहीबार, ३१ जेठ २०८१, ११ : ४४
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङजस्ता प्राकृतिक विपद् निम्तिन थालेको भन्दै यसबाट बच्न र बचाउन सरकारले गर्नुपर्ने पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भट्टराईले मनसुन सुरु भएलगत्तै नेपालको पूर्वी क्षेत्रमा बाढी पहिरोको प्रकोप सुरु भैसकेको बताए ।  ‘कोशी प्रदेशबाट मनसुन भित्रिएको छ, मनसुन भित्रिनु खुसीको कुरा हो तर मनसुनले विपद् पनि ल्याइरहेको छ’, भट्टराईले भने, ‘हिजो र अस्ति आएको अविरल वर्षापछि ताप्लेजुङका विभिन्न खोलानालामा आएको बाढीले त्यहाँको जनजीवन प्रभावित भएको छ ।’

त्यसक्रममा उनले ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा रहेको सिसुवा खोलामा आएको बाढीले तमोर नदी समेत छेकेको, स्वास्थ्य चौकी र झोलुङ्गे पुलमा क्षति पुर्‍याएको तथा ओलाङचुङगोला जाने सडक अवरुद्ध भएको बताए । केही दिनअघि कावेली खोलाले ट्याक्टर बगाउँदा चालकको ज्यान गएको भन्दै भट्टराईले बुधवारमात्र परेको चट्याङबाट पशु र बाली नालीमा क्षति भएको बताए ।

उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विपद् पूर्व तयारीप्रति सरकारको काम सन्तोषजनक नभएको बताए । ‘नेपाल सरकारको पूर्वतयारी सन्तोषजनक छैन’, उनले भने, ‘विपद् प्राधिकरण त बनाएका छौँ तर यसको वार्षिक १८ करोड बजेट छ । जसमा १५ करोड साधारण खर्च हुन्छ भने ३ करोड रकमले विपत् प्राधिकरणले के गर्न सक्छ ?’

उनले भूकम्पलाई छाडेर बाढी पहिरो चट्याङजस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिस अकालमा मृत्युवरण गर्ने र अर्वौ भौतिक क्षति हुने गरेको बताए । ‘यस्तो बेलामा ताप्लेजुङलगायत देशभरका जिल्लामा विपद्को सन्दर्भमा पूर्वतयारी जुन तहको हुनुपर्ने हो त्यो भएको छैन’, उनले भने, ‘हामीले लस एन्ड ड्यामेज फन्डमा अन्तर्राष्ट्रिय लविङ गर्नुपर्नेछ र त्यो फन्डलाई विपद् प्राधिकरण खर्च गर्ने प्रयास गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप