‘सुपर–८’ चरणमा पुग्न संघर्षरत बंगलादेश र नेदरल्यान्ड्सबिच रोचक भिडन्त
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा बिहीबार बंगलादेश र नेदरल्यान्ड्सबिच भिडन्त हुँदैछ । उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको अर्नोस भेल स्टेडियममा नेपाली समयअनुसार, राति २०ः १५ बजे सुरु हुनेछ ।
टेस्ट राष्ट्र बंगलादेश र नेदरल्यान्ड्स दुवै टोली समूह ‘डी’ बाट ‘सुपर–८’ चरणमा पुग्न संघर्षरत छन् । उक्त समूहबाट दक्षिण अफ्रिका भने यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगिसकेको छ । यो समूहमा हालसम्म ६ खेल सम्पन्न भइसकेका छन् ।
समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सले पनि नेपाललाई ६ विकेटले नै हराएका थिए । तेस्रो खेलमा बंगलादेशले अर्को टेस्ट राष्ट्र श्रीलंकामाथि दुई विकेटको जित हात पारेको थियो ।
यसैगरी समूहको चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । पाँचौँ खेलमा भने दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
उक्त समूहमा दक्षिण अफ्रिका र श्रीलंकाले तीन–तीन तथा अन्य टोलीले दुई–दुई खेल खेलेका छन् । ६ अंकसहित दक्षिण अफ्रिका पहिलो, दुई अंकसहित बंगलादेश दोस्रो र समान अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल र श्रीलंकाले भने एक–एक अंक बटुलेका छन् । नेट रन रेटमा श्रीलंकाभन्दा नेपाल अगाडि छ ।
अंक तालिकाको वर्तमान अवस्थालाई हेर्दा प्रतियोगिताको सुपर–८ चरणमा पुग्न नेदरल्यान्ड्स र बंगलादेश दुबैले बाँकी खेल जित्नैपर्ने हुन्छ । बंगलादेशले समूहगत चरणमा आफ्नो अन्तिम खेल नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्सले भने आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बंगलादेश नवौँ र नेदरल्यान्ड्स १५ औँ स्थानमा छन् । यी दुबै राष्ट्र अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा यसपटक सिधै विश्वकपमा सहभागी भएका हुन् ।
टी–२० विश्वकपमा बंगलादेशको यो नवौँ सहभागिता हो । बंगलादेशले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा बंगलादेशको उत्कृष्ट प्रदर्शन भने सुपर–८ चरण प्रवेश हो ।
बंगलादेश सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै सुपर–८ चरणमा पुगेको थियो । नेदरल्यान्ड्सको भने टी–२० विश्वकपमा यो छैटौँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो ।
टी–२० विश्वकपमा नेदरल्यान्ड्सको उत्कृष्ट प्रदर्शन सुपर–१२ चरण प्रवेश हो । नेदरल्यान्ड्स सन् २०२२ मा सुपर–१२ चरणसम्म पुगेको थियो । बंगलादेशले हालसम्म टी–२० विश्वकपमा कुल ४० खेल खेलिसकेको छ । बंगलादेश त्यसमध्ये १० खेलमा विजयी र २९ खेलमा पराजित भएको छ ।
बंगलादेशको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । नेदरल्यान्ड्सले हालसम्म टी–२० विश्वकपमा कुल २५ खेल खेलेको छ । नेदरल्यान्ड्सको टोली त्यसमध्ये १० खेलमा विजयी र १४ खेलमा पराजित भएको छ । नेदरल्यान्ड्सको पनि एक खेल अनिर्णित रुपमा सकिएको छ ।
यी दुई टोलीबिच हालसम्म चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमा बंगलादेश नै बलियो देखिन्छ । चारमध्ये तीन खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई हराएको छ । बाँकी एक खेलमा भने नेदरल्यान्ड्स विजयी भएको छ ।
बंगलादेश र नेदरल्यान्ड्सबिच भएको चार टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये दुईवटा खेल विश्वकपमै खेलिएको थियो । विश्वकपमा खेलिएको दुबै खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई पराजित गरेको तथ्याङ्क पाइन्छ ।
यी दुई टोलीबिच पछिल्लो भिडन्त सन् २०२२ को टी–२० विश्वकपमा भएको थियो । त्यो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । नेदरल्यान्ड्सले भने २० ओभरमा एकसय ३५ रनमात्र बनाउन सकेको थियो ।
जारी विश्वकपमा भने बंगलादेशका लागि सकिब अल हसन र मुस्तफिजुर रहमान प्रभावशाली खेलाडी हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वकप्तान सकिब अल हसनको प्रदर्शन उत्कृष्ट छ । अलराउन्डर सकिब अल हसन बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एक सय २४ खेलमा कुल दुई हजार चार सय ५१ रन बनाएका छन् । उनले १२ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
बंगलादेशी टोलीका लागि पछिल्लो समय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर मुस्तफिजुर रहमान हुन् । उनले बंगलादेशका लागि पछिल्लो १२ महिनाको अवधिमा १५ खेल खेल्दै कुल २३ विकेट लिइसकेका छन् ।
यसैगरी पछिल्लो समय नेदरल्यान्ड्सका माइकल लेभिट र लोगन भान विक लयमा देखिन्छन् । माइकल लेभिटले पछिल्लो एक वर्षको अवधिमा ११ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल खेल्दै कुल तीन सय ५० रन बनाइसकेका छन् ।
लोगन भान विक भने टोलीका प्रभावशाली बलर हुन् । उनले जारी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले जारी विश्वकपको अघिल्ला दुई खेलमा पाँच विकेट लिइसकेका छन् । पछिल्लो १२ महिनाको अवधिमा उनले टोलीका लागि सबैभन्दा बढी विकेट लिएका छन् ।
बंगलादेश र नेदरल्यान्ड्सबिच खेल हुने किङ्सटाउनस्थित अर्नोस भेल स्टेडियमको पिच सन्तुलित प्रकृतिको रहेको छ । यो पिचले ब्याट्सम्यान र बलर दुबैलाई उस्तै ब्यवहार गर्छ । यो पिचले स्पिन बलरलाई तुलनात्मक रुपमा बढी साथ दिने गरेको छ । यो स्टेडियममा टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्न सक्ने सम्भावना देखिन्छ ।
नेदरल्यान्ड्स र बंगलादेशबिच खेल हुने दिने बिहीबार किङ्सटाउनमा वर्षाको सम्भावना २५ प्रतिशत रहेको समाचारमा जनाइएको छ । बिहीबार किङ्सटाउनको तापक्रम २६ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम