स्वस्थ रहन आँप कति खाने ?
काठमाडौँ । स्वदेशी आँप नेपाली बजारमा आउने बेला भएको छ । तर सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्याउने विज्ञहरू बताउँछन् ।
रसायनयुक्त आँप खाँदा फुड पोइजनिङ, पेट दुख्ने, झाडापखाला लाग्ने लामो समयपछि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले औँल्याएको उनीहरूको भनाई छ । यस्तो अवस्थामा रसायनमुक्त आँप पहिचान गर्नुपर्ने जानकारहरूले सुझाएका छन् ।
खाद्य स्वच्छता विशेषज्ञ निर्भीक श्रेष्ठका अनुसार कृत्रिम तरिकाले पकाएको आँपमा ‘क्याल्सियम कार्बाइड’ नामक रसायन प्रयोग गरिएको हुन्छ । यसले स्वास्थ्यमा एकैपटक असर नदेखिए पनि ‘स्लो पोइजन’ को रूपमा काम गर्ने उनको भनाई छ । लामो समयसम्म ‘क्याल्सियम कार्बाइड’ खानाले क्यान्सर समेत गराउने उनको जिकिर छ ।
आँप आफैमा भने पोषणको दृष्टिकोणले भरिपूर्ण हुन्छ । आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिज पाइन्छन् । श्रेष्ठका अनुसार प्राकृतिक रूपले पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ ।
रसायन प्रयोग गरी पकाएका र प्राकृतिक रूपमा पाकेको आँपहरू रङ्ग, बास्ना, स्वादका आधारमा छुट्याउन सकिने उनी बताउँछन् । श्रेष्ठका अनुसार कृत्रिम र प्राकृतिक रूपमा पाकेको आँप पहिचान गर्ने केही आधार:
- प्राकृतिक रूपले पाकेको आँपभन्दा रसायन प्रयोग गरिएको आँप धेरै चम्किलो र हेर्दा लोभलाग्दो देखिन्छन् । हल्का पहेँलो र हरियो रङ्गको आँप प्राकृतिक रूपले पाकेको हुन्छ । बढी गढा रङ्गको आँपमा कृत्रिम रूपमा अर्थात् केमिकल प्रयोग भएको हुन्छ ।
- प्राकृतिक रूपले पाकेको आँपमा धेरै धब्बाहरू हुँदैनन्, तर रसायनले पकाइएको आँपमा कालो र सेतो विभिन्न धब्बाहरू हुन सक्छ ।
- केमिकल प्रयोग भएको आँपको स्वाद पनि फरक हुन्छ । प्राकृतिक रूपमा पाकेको आँप स्वादिलो, रसिलो हुन्छ । तर कृत्रिम रूपले पाकेको आँप कम गुलियो र कम स्वादिष्ट हुन्छ ।
- रसायन प्रयोग भएको आँप बास्ना नहुने वा कम बास्ना हुन्छ । प्राकृतिक रूपमा पाकेको आँपबाट मिठो बास्ना आउँछ ।
- रसायन प्रयोग भएको आँप काट्दा गुदीको रङ्ग सामान्य आँपभन्दा फरक देखिन्छ । कतै बढी पाकेको अर्थात् पहेँलो कतै काँचै अर्थात् हरियो हुन्छ ।
त्यसैले विश्वासिलो ठाउँबाट आँप खरिद गर्न उनी सुझाउँछन् । बजारबाट खरिद गरी ल्याएको आँप करिब १५ मिनेट पानी भिजाएर खाँदा केही हदसम्म रसायन कम गर्न सकिने उनको भनाई छ ।
- आँप कति खाने ?
रसिलो, गुलियो मानेर आँप धेरै खाँदा कहिलेकाहीँ स्वास्थ्यमा समस्या पनि देखिन सक्छ । बालबालिका, वृद्धवृद्धा र पाचन शक्ति कमजोर भएका व्यक्तिले दैनिक एक–दुई चानादेखि एउटा आँप खाना जानकारहरू सुझाउँछन् । एकै पटक खाँदा समस्या हुन सक्ने भएकाले आफूले आँप खाँदा विचार गरेर खान खाद्य स्वच्छता विशेषज्ञ निर्भीक श्रेष्ठको सुझाव छ ।
मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.दीपक मल्लले मधुमेह भएका बिरामीले धेरै आँप खाँदा ‘सुगरको लेबल’ बढ्ने भएकाले विचार गरेर खाना सुझाएका छन् । ‘सुगर भएका बिरामीले आँप, मेवा उपभोग गरेमा सुगरको लेबल ह्वात्तै बढ्न सक्छ । यसले समस्या निम्तिन्छ,’ उनले भने, ‘त्यसैले सुगरका बिरामीले आँप खाँदा एक दुई–टुक्रा मात्र खानुपर्छ र खाइसकेपछि पनि केही समय बाहिर हिँडडुल गर्नुपर्छ । यसले क्यालोरी कम हुन्छ, सुगरको लेबल कन्ट्रोलमा रहन्छ ।’
- आँप उत्पादन, आयात र निर्यात कति ?
नेपाली उत्पादनले माग धान्न नसकेर बर्सेनि आँपको आयात हुन्छ । नेपाली उत्पादन र आयातित आँप गरी देशभरमा करिब ५ लाख मेट्रिक टन खपत भएको देखिन्छ ।
नेपालमै करिब साढे चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुन्छ भने बर्सेनि करिब २० हजार मेट्रिक टन आँप आयात भएको सरकारी तथ्याङ्क छ । नेपालमा भारतबाट बढी मात्रामा आँप आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा उत्पादन हुने आँप र आयात हुने आँपको तुलना गर्ने हो भने आँप उत्पादनमा थप केही मात्रामा जोड दिएमा पनि आँप आयात गर्न नपर्ने अवस्था सक्छ ।
- स्वदेशी आँप कति ?
नेपालमा करिब ५० हजार हेक्टर क्षेत्रफल बढीमा आँप खेती गरिएको छ । यसबाट करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिएको छ । सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमध्ये ४० हजार हेक्टर क्षेत्रफलबाट ४ लाख ९८ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ५१ लाख हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमध्ये ४३ हजार हेक्टर क्षेत्रफलबाट ४ लाख ६६ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ५१ लाख हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमध्ये ४२ हजार हेक्टर क्षेत्रफलबाट ४ लाख ५३ हजार मेट्रिक टन आँप उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
- नेपालमा आँप उत्पादनको विवरण:
विदेशी आँप नेपाली बजार
नेपालमा स्वदेशी उत्पादनले नपुगेर आँप आयात गर्नुपर्ने अवस्था छ । भन्सार विभागको तथ्याङ्क अनुसार भारत, चीन, थाइल्यान्ड लगायत विभिन्न मुलुकबाट आँप आयात भइरहेको छ । वार्षिक रूपमा १२ देखि २२ हजार मेट्रिक टनको हराहरीमा आँप आयात भइरहेको सरकारी तथ्याङ्कमा भेटिन्छ । सो बापत ५५ करोडदेखि १ अर्ब बढी रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्क छ ।
नेपालमा आँप आयातको विवरण:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता