शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

वैकल्पिक राजनीतिमा ‘असफल’ बाबुरामको दल अदलबदलमा रेकर्ड

खगेन्द्र संग्रौलाको टिप्पणी– भट्टराई इतिहासको कागतालीले गलत ठाउँमा परेको पात्र
बिहीबार, ३१ जेठ २०८१, ११ : ००
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । वैकल्पिक राजनीतिको उद्घोषसहित २०७२ मा माओवादी केन्द्रबाट अलग भएका डा बाबुराम भट्टराई आफ्नो एजेन्डाअनुसार विकल्प दिनबाट नराम्ररी चुकेका  छन् ।

स्तम्भकार तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौला आफूले असफल करार गरेका कांग्रेस, एमाले, माओवादी केन्द्र र  मधेसी दलहरुसँग मिलेर सत्ता भागबन्डा सुनिश्चित र राजनीति अस्तित्व जोगाउनमै बाबुरामले समय खेर फालेको टिप्पणी गर्छन् । 

माओवादी केन्द्र परित्याग गरेको केही समयमा नयाँ शक्ति गठन गरे पनि सफलता हासिल गर्न नसकेका उनले दल अदलबलमा भने रेकर्ड नै राखेका छन् । दल अदलबदलको अनेक शृङ्खला पार गर्दै उनी अहिले नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् ।

२०७४ को निर्वाचनसँगै नयाँ शक्ति निकै कमजोर भएपछि भट्टराईले एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपासँग पार्टी विलय गराउन चाहेका थिए । असोज १७ गते राष्ट्रिय सभागृहमा दुई ठुला वाम दलबिच एकता घोषणा सभामा सहभागी भएका उनी प्रचण्डका कारण रिङआउट भएका थिए । 

नेकपामा जाने प्रयास असफल भएपछि उनी उपेन्द्र यादव र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी नेपालसँग एकता प्रक्रियामा जोडिन पुगे । २०७६ वैशाख २३ गते सङ्घीय समाजवादी पार्टीमा नयाँ शक्ति विलय गराए । पार्टी गठन भएको एक वर्ष नपुग्दै सङ्घीय समाजवादी विभाजन उन्मुख भयो । २०७७ साल वैशाख १० गते मध्यरातमा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी पार्टीबिच हतारमा पार्टी एकता भयो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राखियो । 

अध्यक्षद्वय ठाकुर र यादवबिच सत्ता स्वार्थ र शक्ति सङ्घर्ष उत्कर्षमा पुग्यो । २०७८ साल साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले र जसपा विभाजन गर्न सजिलो हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । भदौ ९ गते जसपाबाट ठाकुर समूह अलग भई लोकतान्त्रिक पार्टी गठन ग¥यो । भट्टराई र यादवले जसपा पुनर्गठन गरे । 

तथापि भट्टराई र यादवबिचको सम्बन्ध धेरै समय सुमधुर हुन सकेन । पार्टीभित्र द्वन्द्व उत्कर्षमा पुग्यो । २०७९ असार २८ गते उनी सहमतिमै अलग भए । 

गत साउन २१ गते भट्टराईले नेसपा गठन गरेका थिए । उनलाई महिन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठले साथ दिएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा भट्टराईले फेरि माओवादीमै फर्किने सहमति गरे । तर निर्वाचनपछि प्रचण्डसँग सम्बन्ध चिसिएपछि पूर्व निर्णयबाट भट्टराई पछि हटेको यादव समूहको आरोप छ । माओवादीसँग एकता गर्ने कि नगर्ने सवालमा भट्टराई र यादवबिच विवाद चर्किँदा नेसपा नै विभाजन भएको छ । 

गत चैत ३ गते भट्टराईलाई बाइपास गरी यादव समूहले माओवादीसँग एकता गर्ने सहमति गरेपछि नेसपा विभाजन भएको हो । नयाँ शक्ति विलय भएको ७ वर्षपछि भट्टराई फेरि ग्राउन्ड जिरोमै फर्किएका छन् । 

प्रदेश सभा र प्रतिनिधिसभामा दुई÷दुई सांसद रहेको नेसपामा अहिले भट्टराईलाई गण्डकीका फणीन्द्र देवकोटाले मात्र साथ दिएका छन् । यसरी आफैले अस्तित्व मेटेको वैकल्पिक नयाँ शक्तिको खोजीमा भट्टराईले ८ वर्ष खेर फालेका छन् । भट्टराईले २०७३ जेठ ३० मा निकै तामझामका साथ नयाँ शक्ति घोषणा गरेका थिए । 

अहिले अस्तित्वमै नरहेकाे तर बाबुरामले जम्माएको नयाँ शक्ति नेपाल स्थापनाको अवसरमा नेपाल समाजवादी(नेसपा)ले बुधबार प्रज्ञा भवनमा आयोजना भएको कार्यक्रममा स्तम्भकार तथा नागरिक समाजका अगुवा संग्रौलाले भट्टराई आफ्नो रोजाइले र इतिहासको कागतालीले गलत ठाउँमा परेको पात्र भएको टिप्पणी समेत गर्न भ्याए । 

भट्टराईको इतिहास बनाउने र भत्काउनेमा सीमित भएको भन्दै उनले गम्भीर समीक्षा गर्न सुझाव पनि दिए । 

‘बाबुरामको इतिहास भनेको बन्ने र भत्काउनेमा सीमित भएको छ । यसमा गम्भीर समीक्षा हुनुपर्छ । नेपाली समाजमा राजनीति गर्ने बाबुरामको न मनोवृत्ति छ, न स्वभाव छ । न शैली छ न संस्कार छ । आफ्नो रोजाइले र इतिहासको कागतालीले गलत ठाउँमा परेको पात्र भएका छन्’, भट्टराईको चरित्रमाथि चित्रण गर्दै संग्रौलाले टिप्पणी गरे । 

भट्टराईले लिएका सङ्कल्प पुरा गर्न राजनीतिक, सांस्कृतिक र वैचारिक रूपमा धेरै संग्राम गर्नुपर्ने बेला आएको उनको विश्लेषण थियो । पात्र, प्रवृत्ति र व्यवस्था के कुरा पुरानो भयो ? पुरानोको ठाउँमा नयाँ स्थापना गर्नुपर्ने के हो ? त्यसको चिन्तन शैली नबनीकन अगाडि बढाउन नसकिने उनको तर्क छ ।

संग्रौला यतिमा मात्र सीमित रहेनन् भट्टराईले नयाँ शक्ति घोषणा गर्दा दशरथ रंगशालामा देखिएको उपस्थिति, त्यसको चरित्र र झाँकी हेर्दा एउटा गम्भीर राजनीतिक सम्मेलन जस्तो नलागेको अनुभव सुनाए । 

‘नयाँ शक्ति घोषणा सभामा पूर्वनोकरशाहहरु, पूर्वसिनेकर्मी मोजमस्तीवालाहरू, राताराता लाभ प्राप्त गर्न चाहनेहरू बढी थियो । त्यसको प्रारम्भ नै ठीक थिएन कि भन्ने मेरो प्रश्न छ । गम्भीर कुरामा राजनीतिक दल त्यसरी प्रारम्भ हुन्छ जस्तो मलाई लाग्दैन’, त्यतिबेलाको अवस्थाबारे चित्रण गर्दै उनले भने, ‘बाबुरामले प्रारम्भ गर्नुभएको सङ्कल्प ८ वर्ष बितेको छ । पार्टी धेरैसँग जुट्यो । धेरै फुट्यो । अहिलेसम्म पनि समाजवादी पार्टी जुट र फुटको अवस्थाबाट गुज्रिरहेको छ । जुट र फुटको इतिहासलाई अगाडि राखेर हेर्दा प्रारम्भदेखि अहिलेसम्म तपाईँले कति पाइला अगाडि बढाउनुभयो ?’

चिप्लेकीरा पनि घस्रिँदै गएर निश्चित बिन्दुमा पुगेपछि गति लिन्छ भन्दै संग्रौलाले बाबुरामको पार्टीको गति विल्कुल नभएको बताए । इतिहासमा नयाँ विचार प्रक्षेपण गर्न, स्थापित गर्न, नयाँ व्यवस्था ल्याउन पुरानो व्यवस्था भत्काउन त्यति सजिलो नभएको र पुराना व्यवस्था, संस्कार र संस्कृतिलाई मेटाउनुपर्नेमा उनले जोड दिए । नयाँ शक्ति विलयपछि भट्टराई, अशोक राई र भूपेन्द्र यादव तीन जना नेता एक ठाउँमा आएपछि खण्डित नेपाली समाजको एकीकरण प्रारम्भ हुन्छ भन्ने आफूलाई लागेको भए पनि त्यसो नभएकोमा उनले प्रश्न उठाए ।

पार्टी स्थापना दिवसमा भट्टराईले परम्परागत राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी लगायत शक्तिहरूलाई भने आमन्त्रण गरेनन् । खासगरी २०७९ को निर्वाचन वरिपरीबाट उदाएका शक्तिहरू रास्वपा, नाउपा, जनमत जस्ता दलहरूलाई बोलाएका थिए । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायतले भट्टराईको अजेण्डामाथि समर्थन गरे पनि यथास्थितिमा वैकल्पिक नयाँ शक्ति निर्माणमा चुनौती रहेको धारणा राखेका थिए । राज्यको संरचनात्मक सुधारका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी, समावेशी सहभागी पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणाली आवश्यक भएको उनीहरूको समान धारणा थियो । 

नयाँ संविधान जारी भएपछि २०७२ असोज ९ गते नयाँ वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ भट्टराईले तत्कालीन एकीकृत नेकपा(माओवादी) परित्याग गरेका थिए ।

 त्यतिबेला राज्य नियन्त्रित साम्यवादी लक्ष्य बोकेको माओवादीसहित कम्युनिस्टको औचित्य समाप्त भएको निष्कर्ष निकालेका थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर आर्थिक विकास र समृद्धि हुँदै समाजवादको दिशामा जान नयाँ नेतृत्व आवश्यक उनको विश्लेषण थियो । 

साथै भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ स्वाधिनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई अबलम्बन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता बमोजिम भट्टराईले २०७३ साल जेठ ३० राजधानीको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल गठन गरेका थिए । 

तर वैकल्पिक शक्ति गठन गरेको ८ औँ वर्षगाँठ मनाइरहँदा उनले त्यतिबेला अगाडि सारेको भिजन अहिले अलपत्र परेको टिप्पणी भइरहँदा स्वयम् बाबुरामले भने वैकल्पिक शक्ति अगाडि बढ्न नसक्नुमा परम्परागत राजनीतिक दलहरूको घेराबन्दी र ध्वंसात्मक नीति प्रमुख कारण रहेको निष्कर्ष सुनाए । 

‘वैकल्पिक नयाँ शक्तिले प्रतिस्थापन गर्ने भयले तत्कालीन सत्तासीन दलहरूले नयाँ शक्तिलाई चुनाव चिन्ह दिएनन् । आफ्नै चुनाव चिन्ह नभएकाले अन्य पार्टीको चिन्ह सापटी लिएर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताले नयाँ शक्तिको पहिचान गुम्यो’, भट्टराईले भने, ‘त्यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूसँग एकीकरण र ध्रुवीकरण गर्ने प्रयास गरे पनि सफल भएन । नयाँ शक्तिमा जोडिएका केही साथीहरूको चरम सत्तास्वार्थ र यथास्थितिवादी सोचका कारण पार्टी सफल भएन ।’ 

पछिल्लो समय जनयुद्धबाट स्थापित भएको माओवादीसहित समाजवादी शक्तिहरूलाई रूपान्तरण गर्ने सकारात्मक प्रयास समेत सत्ता स्वार्थका कारण सफल नभएको भट्टराईले गुनासो गरे ।

संग्रौलाले विश्लेषण गरेजस्तै भट्टराई लगायत नयाँ भनिएका वैकल्पिक शक्तिहरूले समेत पुरानाको विकल्प दिन चुकेका छन् । सत्ता राजनीतिको भाग दौडमा नयाँ दलहरू केन्द्रित हुँदा परम्परागत राजनीतिक दल र नयाँ वैकल्पिक राजनीतिक दलहरूबिच भेद छुट्याउन सकिएको छैन । 

पुराना दलहरू कांग्रेस, एमाले, माओवादी लगायत दलहरूको कमजोरी देखाएर राजनीतिमा हाम फालेका रवि लामिछाने, सीके राउत र रेशम चौधरी लगायत नेताहरूले सत्तामा जान गरेको हतारो र स्वार्थका कारण वैकल्पिक शक्तिमाथि गम्भीर प्रश्न उठेको कतिपयको टिप्पणी छ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप