प्रिमियरमा ‘बाटो : रोड टु डेथ’लाई उत्कृष्ट प्रतिक्रिया
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बाटो: रोड टु डेथ’को प्रिमियर गरिएको छ । बुधवार साँझ ललितपुरको पुलचोकस्थित लबिम मलको क्यूएफएक्स सिनेमाज्मा आयोजित प्रिमियरमा चलचित्रकर्मी, ब्यवसायी र रंगपत्रकारको बाक्लो उपस्थिती रहेको थियो । प्रिमिएरमा फिल्म हेर्न अधिकाम्सले ‘बाटो: रोड टु डेथ’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।
फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले ‘बाटो: रोड टु डेथ’ राम्रो बनेको प्रतिक्रिया दिए । फिल्मको छायाङ्कन र साउन्ड समेत उत्कृष्ट रहेको बताएका देउजाले फिल्म दर्शकका लागि नौलो स्वाद हुने बताए ।
त्यस्तै अभिनेता तथा निर्देशक दिनेश डिसीले फिल्म आफूलाई मन परेको प्रतिक्रिया दिए । उनले फिल्मको कथा, प्राविधिक पक्षको खुलेरै तारिफ गरे ।
कलाकार अभिनेता राजाराम पौडेले फिल्म आफूले सोचेभन्दा राम्रो पाएको बताए । उनले यस्ता फिल्मले नेपाली फिल्मको गुणस्तर वृद्धिमा जोड दिने बताए ।
अभिनेत्री उषा रजत, गजित बिष्ट, निर्देशक सुयोग गुरुङलगायतले थ्रिलर कथामा बनेका नेपालका फिल्म मध्य ‘बाटो: रोड टु डेथ’ उत्कृष्ट भएको प्रतिक्रिया दिए । प्राविधिक पक्ष समेत राम्रो रहेको फिल्म एकपटक सबैले हेर्नुपर्ने उनीहरूको धारणा रहेको थियो ।
प्रिमियर इभेन्टलाई राठी ग्रुपले एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो ।
प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए ।
अध्यक्ष राठीले चलचित्र क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली, तमिल, तेलुगु र हिन्दी गरी ४ भाषामा बनेको ‘बाटो: रोड टु डेथ’का लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् । थापाले फिल्म दर्शकलाई मनपर्ने र आफूले पनि कामको प्रसंसा पाउने बताए । ‘नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले फिल्म राम्रो नै बनाउनु पर्छ’ थापाले भने ।
अभिनेता सुलक्षण भारतीले यो फिल्मको निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको दाबी गरे ।
अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुँदा खुसी व्यक्त गरे ।
अभिनेत्री रक्षा थापाले यो फिल्म एकदमै धेरै भावना जोडिएको बताइन् । उनले ‘बाटो’ हेर्दा फिल्म सकिएको थाहा नै नहुने बताइन् ।
अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् ।
काठमाडौँ फिल्मस्को ब्यानरमा बनेको फिल्मका निर्माता चन्दन झा हुन् । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायाङ्कन गरेका हुन् ।
शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा लाइन प्रोड्युसर रहेको फिल्मका कार्यकारी निर्माता रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन् । त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन् ।
फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, अशान्त शर्मा लगायत कलाकारको अभिनय छ । फिल्मलाई डिसिएनले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र
-
माछामा आत्मनिर्भर बन्ने सरकारी सोच नै छैन
-
राखेपले बोलायो ११८ औँ बोर्ड बैठक, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिन आग्रह
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य