आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सकियो श्रमाधान रोजगार मेला, बागमतीमा १३ हजार ९७८ ले दिए रोजगारीका लागि आवेदन

बुधबार, ३० जेठ २०८१, २० : ५१
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन् ।

मेलाको समापन कार्यक्रममा बोल्दै पाटन बहुमुखी क्याम्पसका प्रमुख डा. लक्ष्मण सिंह कुँवरले नेपाली युवामा अझै पनि श्रमको महत्त्व नबुझेको बताएका छन् । विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि बेरोजगारी बढेको उनले बताए । तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्वलाई बुझाउने उनले बताए । साथै मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने बताए । ‘यता रोजगारदाता श्रमिक पाइएन भन्छन् उता श्रमिक रोजगारी पाइएन भन्छन् । यस्ता मेला दुवै पक्षलाई एकै स्थानमा भेला गराउँदा समस्या सम्बोधन हुनेछ,’ उनले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले रोजगार मेलाले नेपालमा नै रोजगारीको अवसर हुने सकारात्मक सन्देश दिएको बताए । त्यसैले यस्तो मेला जिल्ला र पालिका तहसम्म लैजानु पर्ने बताए ।

त्यस्तै, कार्यक्रमको समापन गर्दे मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको रोजगार मेलाका संयोजक डम्बर बहादुर सुनुवारले मेला सञ्चालनमा गर्नमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

गत जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा बुधबार सम्पन्न भएको छ । मेला प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप