बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

अप्ठ्यारोमा रहेको न्युजिल्यान्ड र लयमा देखिएको वेस्ट इन्डिजबिच रोचक भिडन्त

बुधबार, ३० जेठ २०८१, १७ : ४७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बिहीबार दुईपटकको च्याम्पियन वेस्ट इन्डिजले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्दैछ । उक्त खेल क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा बिहान ६ः१५ बजे सुरु हुनेछ ।

वेस्ट इन्डिज र न्युजिल्यान्ड प्रतियोगिताको समूह ‘सी’ मा छन् । अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी पनि सोही समूहमा रहेका छन् । जारी विश्वकपमा वेस्ट इन्डिजले तेस्रो र न्युजिल्यान्डले दोस्रो खेल खेल्न लागेको हो ।

382433

समूह ‘सी’ अन्तर्गत हालसम्म पाँच खेल खेलिएको छ । समूहको पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानले युगान्डालाई एक सय २५ रनले हराएको थियो ।

यसैगरी समूहको तेस्रो खेलमा युगान्डाले पपुवा न्यु गिनीलाई तीन विकेटले पराजित गरेको थियो । चौथो खेलमा भने अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो । पाँचौँ खेलमा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले पाखा लगाएको थियो ।

382340

समूह ‘सी’ तालिकामा दुई खेल खेलेको अफगानिस्तान चार अङ्कसहित पहिलो र समान खेलबाट समान अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा आसीन छन् । तीन खेल खेलेको युगान्डा भने दुई अङ्कसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा आसीन पपुवा न्यु गिनी र न्युजिल्यान्डले भने एक खेल पनि जित्न सकेका छैनन् ।

बिहीबार खेलिने खेल वेस्ट इन्डिज र न्युजिल्यान्ड दुबैका लागि निकै महत्त्वपूर्ण छ । आयोजकसमेत रहेको वेस्ट इन्डिज यो खेलमा न्युजिल्यान्डलाई हराउँदै ‘सुपर–८’ चरणमा पुग्ने धुनमा देखिन्छ । न्युजिल्यान्ड पनि वेस्ट इन्डिजलाई हराउँदै ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

त्यो खेलमा पराजित भएमा न्युजिल्यान्डको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना पनि निकै कम कमजोर बन्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा सार्वजनिक गरिएको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र न्युजिल्यान्ड पाँचौँ स्थानमा छन् ।

टी–२० विश्वकपमा वेस्ट इन्डिजको यो लगातार नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै वेस्ट इन्डिजले टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । वेस्ट इन्डिज दुईपटक टी–२० विश्वकपको उपाधि चुम्ने पहिलो राष्ट्र पनि हो ।

382421

वेस्ट इन्डिजका अतिरिक्त इङ्ल्यान्डले मात्र दुईपटक टी–२० विश्वकपको उपाधि जित्न सकेको छ । वेस्ट इन्डिजले सन् २०१२ मा टी–२० विश्वकप जितेको थियो । यो क्यारेबियन राष्ट्रले त्यतिबेला फाइनलमा श्रीलंकालाई ३६ रनले हराएको थियो ।

त्यसपछि वेस्ट इन्डिजले सन् २०१६ मा पनि उपाधि हात पारेको थियो । वेस्ट इन्डिजले त्यतिबेला फाइनलमा इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो । त्यसयता भने वेस्ट इन्डिज टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

न्युजिल्यान्डको पनि टी–२० विश्वकपमा यो नवौँ सहभागिता हो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि न्युजिल्यान्डले हालसम्म उपाधि चुम्न सकेको छैन । न्युजिल्यान्ड सन् २०२१ मा फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा न्युजिल्यान्डलाई अस्ट्रेलियाले आठ विकेटले पराजित गरेको थियो ।

वेस्ट इन्डिजले टी–२० विश्वकपमा हालसम्म ४१ खेल खेलिसकेको छ । त्यसमध्ये वेस्ट इन्डिज २१ खेलमा विजयी र १८ खेलमा पराजित भएको छ । वेस्ट इन्डिजको एक खेल बराबरीमा सकिएको छ भने एक खेल अनिर्णीत रूपमा टुंगिएको छ ।

यसैगरी न्युजिल्यान्डले हालसम्म टी–२० विश्वकपमा कुल ४३ खेल खेलिसकेको छ । न्युजिल्यान्ड त्यसमध्ये २३ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित भएको छ । न्युजिल्यान्डको दुई खेल भने बराबरीमा सकिएको छ ।

382316

वेस्ट इन्डिज र न्युजिल्यान्डबिच हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १९ खेल खेलिएको छ । त्यसमध्ये ११ खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ । ६ खेलमा भने वेस्ट इन्डिजले किविज टोलीलाई पराजित गरेको छ ।

यी दुई टोलीबिचको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ । टी–२० विश्वकपमा भने यी दुई टोलीबिच हालसम्म एक खेलमात्र खेलिएको छ । सन् २०१२ को विश्वकपमा खेलिएको त्यो खेल पनि बराबरीमा सकिएको थियो । पछि ‘सुपर ओभर’ मा वेस्ट इन्डिज विजयी भएको थियो ।

त्यो विश्वकपको ‘सुपर–८’ चरणमा खेलिएको खेलमा पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३९ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले पनि २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन नै बनाएको थियो ।

यी दुई टोलीबिच पछिल्लो पटक सन् २०२२ को अगस्तमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिएको थियो । त्यो शृङ्खलामा न्युजिल्यान्ड २–१ विजयी भएको थियो । शृङ्खलाको पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड क्रमशः १३ र ९० रनले विजयी भएको थियो । तेस्रो खेलमा भने वेस्ट इन्डिज आठ विकेटले विजयी भएको थियो ।

जारी विश्वकपका लागि घोषित वेस्ट इन्डिजको टोलीमा रोभमन पोवेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ली, रोस्टन चेज, सिमरन हेटमायर, जासन होल्डर, साई होप, अकेल होसैन, सामर जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोटी, निकोलस पुरन, आन्द्रे रसेल, सेरफन रुथरफोर्ड र रोमारियो सेफर्ड रहेका छन् ।

यसैगरी न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रासवेल, मार्क चापम्यान, डेभोन कनवे, लोकी फर्गुसन, म्याट हेनरी, ड्यारल मिचेल, जिमी निसाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, ईश सोढी र टिम साउथी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप