शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा लगानीको सम्भावना बढेको छ : अध्यक्ष ढकाल

बुधबार, ३० जेठ २०८१, १७ : ०७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । 

अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबिचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताए ।

यही जुन ३ देखि स्विट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकाल रोजगारदाताको प्रतिनिधित्व गर्दै सहभागी छन् । नेपालका रोजगारदाताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकालको भनाई थियो ।

सामाजिक सुरक्षा लैङ्गिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

यसैगरी भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिल स्टेसनहरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको बताए । ‘सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरू पनि नेपालको लाभका क्षेत्र हुन्,’ ढकालले भने- ‘लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप