शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

बागवानी अनुसन्धानमा राज्यले अपेक्षित लगानी नगरेको सरोकारवालाको गुनासो

बुधबार, ३० जेठ २०८१, १६ : ५०
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । बागवानी अनुसन्धानमा राज्यले अपेक्षित लगानी गर्न नसकेको सरोकारवालाले गुनासो गरेका छ । बुधवार आयोजित पत्रकार भेटघाटमा सरोकारवालाले यस्तो गुनासो गरेका हुन् । 

तरकारी बालीमा अनुसन्धानका लागि लगानी न्यून भएकाले आवश्यकताका अनुसार बीउ उत्पादन गर्न नसकिएको उनीहरूको तर्क छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख तथा मुख्य वैज्ञानिक डा. टिकाराम चापागाईँले तरकारी बालीमा राज्यबाट लगानी र अन्तर्राष्ट्रिय स्तरको सहयोग प्राप्त गर्न नसकेकाले तरकारी बालीमा आवश्यकताका अनुसार बीउ उत्पादन हुन नसकेको बताए । 

‘सरकारले कृषि क्षेत्रमा कुल बजेटको करिब ३ प्रतिशत मात्रै बजेट छुट्याउने गरेको छ,’ उनले भने, ‘सो बजेटमध्ये ५.६६ प्रतिशत नार्कले प्राप्त गर्ने देखिन्छ । राष्ट्रिय बजेटको सन्दर्भमा हेर्ने हो भने, ०.१९ प्रतिशत मात्रै कृषि अनुसन्धानमा खर्च हुने देखियो ।’ 

उनले अनुसन्धानमा थोरै लगानी गरेर धेरै आस गर्न नहुने समेत तर्क गरे । ‘अन्तराष्ट्रियस्तरमा कुल बजेटको ९ देखि १० प्रतिशत अनुसन्धानमा लगानी देखिन्छ,’ उनले भने, ‘हाम्रोमा थोरै लगानी गरेर धेरै प्रतिफलको अपेक्षा राख्न कतिको उपयुक्त हुन्छ भन्ने हो ।’ 

राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले बागवानी क्षेत्रमा नीतिगत योजना बनाउनका लागि दुई दिने गोष्ठी आयोजना गर्दैछ । जेठ ३१ र ३२ गते हुने ११ औं राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीमा ५५ वटा कार्यपत्र र ३० बढी कृषिसँग सम्बन्धित निजी तथा सरकारी कार्यालय सहभागी हुने छन् । 

‘व्यावसायिकताका लागि बागवानी अनुसन्धान’ सो गोष्ठीको नारा छ । नेपालमा बागवानी बालीहरूको वर्तमान अवस्था, यसका सम्भावना तथा चुनौतीहरूलाई उजागर गर्ने बागवानी वरिष्ठ वैज्ञानिक अमर बहादुर पुनले बताए । 

बागवानी क्षेत्रमा भएका अनुसन्धानका नतिजाहरूलाई एकीकृत गर्दै समग्र बागवानी क्षेत्रको विकासका योगदान पुर्‍याउनु मुख्य उद्देश्य रहेको उनले तर्क राखे । ‘गोष्ठीमा बागवानी क्षेत्रमा भएको उपलब्धिको समीक्षा गर्ने, बागवानी क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने अनुसन्धानको प्राथमिकता क्षेत्र के छ, त्यसको छलफल गर्छौँ,’ उनले भने, ‘नेपालको समग्र बागवानी क्षेत्रमा अनुसन्धानले गर्नु पर्ने भावी रणनीतिक योजनाहरू र कार्यक्रम के हुन सक्छ ? यी विषय छलफल गर्छौँ ।’ 

नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको करिब एक चौथाइ हिस्सा रहेको छ भने बागवानीले कृषि क्षेत्रमा ३१ प्रतिशत योगदान पु¥याएको केन्द्रको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप