शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

विराटनगर–रङ्गेली हुलाकी सडक नबनाएको भन्दै आक्रोश

बुधबार, ३० जेठ २०८१, १६ : ४३
बुधबार, ३० जेठ २०८१

विराटनगर–रङ्गेली हुलाकी सडक नबनाएको भन्दै आक्रोश

संसदीय पत्रकार मञ्चद्वारा जनप्रतिनिधिसँग सार्वजनिक सुनुवाइ

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय अगुवाले विराटनगर–रङ्गेली हुलाकी सडक नबनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । युएनडिपीको सहयोगमा संसदीय पत्रकार मञ्च विराटनगरले कटहरीको वडा नम्बर ५ बातरवस्तीमा बुधबार सार्वजनिक सुनुवाइ गरेको थियो । 

उक्त सुनुवाइमा कोशी प्रदेशका सांसदहरू गयानन्द मण्डल, भीम पराजुली, जयप्रकाश चौधरी र गीता तिम्सिनाका साथै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी तथा अन्य जनप्रतिनिधिसामु स्थानीयले उक्त सडक नबनेकोमा आक्रोश व्यक्त गरेका हुन् । 

यस्तै बातर समुदायका केही अगुवाहरूले भने आरक्षण कोटामा पहाडे र मधेसी समुदायमा विभेद हुने गरेको गुनासो पनि गरे । कार्यक्रममा बातर समुदायका अगुवा मोहनलाल सरदारले बातर समुदाय न घरको न घाटको भएको बताए । ‘आजसम्म हामीले विभिन्न निकायमा बिन्ति गर्दा पनि हाम्रो सुनुवाइ कतैबाट पनि भएन । बातर जातीमा शिक्षादिक्षाको कमी छ । बेरोजगारी छ । अरुको खेतमा काम गर्ने, विराटनगरमा जागिर गर्न जानेहरू मात्रै छन्,’ सरदारले भने, ‘दलितमा सूचीकृत भएका छौँ । तर, पहाडे दलित र मधेसी दलितमै समस्या छ । आरक्षणमा लड्दा एउटा सिट पाउँछ । त्यहाँ पहाडे दलितले पाउने कि मधेसीले पाउने । महिलाले पाउने कि पुरुषले पाउने भन्ने विषयमा समस्या छ ।’

यस्तै स्थानीय मुकेश बुढाथोकीले दलितहरू बढी रहेको क्षेत्रमा उनीहरूको घरमा आर्थिक समृद्धि कसरी ल्याउने भन्ने विषयमा जनप्रतिनिधिहरूले चासो नदिएको गुनासो गरे । रोजगारी सिर्जना गर्नुपर्ने, उपचार सहुलियतमा साझेदारी गर्नुपर्ने । कृषि क्षेत्रको विकासका लागि जीर्ण भएका बोरिङहरु सुचारु गर्नुपर्नेमा उनले जोड दिए । 

कटहरिकै प्रेमकुमार सरदारले कृषि क्षेत्रको उत्पादनमा लागिरहेका बातर समुदायका लागि पर्याप्त बिउको व्यवस्था हुन नसकेको बताए । ४० किलो बिउ ५ सय किसानलाई कसरी बाँड्न पुग्छ भन्दै पालिका अध्यक्ष देवराज चौधरीको ध्यानाकर्षण गराए । मञ्जिताकुमारी सरदारले कृषक महिलाहरूलाई तालिममा सहभागी गराउँदा जग्गा नै नभएका र कृषि क्षेत्रमा समावेश नभएकाहरूलाई पठाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । 

 

यस्तै कटहरिकै सुवास बातरले आत्मनिर्भर शिक्षा नीति नहुँदा शैक्षिक बेरोजगारहरू बढिरहेको बताए । ‘हामीले आत्मनिर्भर शिक्षा पाउनु पर्‍यो । प्राविधिक शिक्षा चाहियो,’ उनले भने । कटहरिकै वीर बुद्ध मुडियारीले तराई मधेस समृद्धि योजना अन्तर्गत कटहरी ५ मा जनता आवास निर्माण गर्नका लागि छुट्याएको ४० लाख रकम फ्रिज भएको, मुडियारी समुदाय होमस्टे कार्यक्रममा छुट्याएको २५ लाख रकम पनि फ्रिज भएको, पालिकाले सार्वजनिक सुनुवाइ नगरेको, कृषिमा बजेट नराख्ने तर भ्रमणको नाममा धेरै बजेट खर्च भइरहेको, छुट्ट्याएको बजेट पनि उत्पादनमुखी भन्दा वितरणमुखी भएको, कृषि सामाग्री बाँड्दा पनि आसेपासेलाई मात्रै दिइएको र वास्तविक किसानले नपाएको गुनासो गरे । 

कटहरी–२ का अशोक शर्माले हुलाकी बाटो नबन्दा सास्ती व्यहोर्नु परिरहेको बताए । उनले चुनावमा गरेको वाचा अनुसार सांसदहरुले काम नगरेको गुनासो पनि गरे । 

 

कार्यक्रममा बोल्दै प्रदेश सांसद भीम पराजुलीले हुलाकी सडक निर्माणको लागि पहल गरिरहेको जानकारी दिए । ‘हामी आफैँ सडक निर्माण गर्नुपर्छ भनेर अनसन बसेका छौँ । हामीले आश्वासन मात्रै पाएका छौँ । अब प्रधानमन्त्रीसमक्ष डेलिगेसन जानुपर्छ जस्तो छ,’ उनले भने, ‘कतिपय विकास निर्माणका काम सरकार बनाउने र ढाल्ने खेलमा अलमल हुँदा पनि प्रभावित भएको छ । हाम्रो बजेट निर्माणको प्रक्रिया पनि ठिक ढङ्गले चलिरहेको छैन । हामी प्रदेश सांसद निरीह जस्तै भयौँ ।’ उनले सरकार बदलिए पनि प्राथमिकता एउटै हुनुपर्नेमा जोड दिए । 

सांसद गीता तिम्सिनाले पहाडे र मधेसी दलित भन्ने विषयमा केही समस्या देखिएको बताइन् । उनले आफूले यो विषयमा प्रदेशसभामा आवाज उठाउने बताइन् । यसअघि संसद्मा प्रस्तुत गर्न तयार पारेको दलित अधिकार प्रवर्द्धन विधेयकलाई पुनः संसद्मा प्रस्तुत गर्न सरकारसमक्ष पहल गर्ने उनले जानकारी दिइन् । 

सांसद जयप्रकाश चौधरीले विराटनगर रिङ रोडको प्रगति १८ प्रतिशत भएको जानकारी दिए । विराटनगर रङ्गेली हुलाकी राजमार्ग नबनाउने ठेकदार कान्छाराम कन्ट्रक्सनलाई कारबाही गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिँदै उनले अर्को विकल्पमा जाँदा पनि सडक निर्माणको काम लम्बिने बताए । 

प्रदेश सांसद गयानन्द मण्डलले आफ्नो प्राथमिकता सिँचाइ र कृषि भएको बताए । ‘मेरो प्राथमिकता सिँचाइ र कृषि हो । यो सिँचाइ पर्याप्त भए बेरोजगारी समस्या पनि हल हुन्थ्यो,’ उनले भने, ‘कम्पोस्ट मल, भार्मिङ मल, किटनाशक औषधि कसरी बनाउने भन्ने विषयमा किसानहरुलाई तालिम दिनुपर्छ ।’ 

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र उद्योगको क्षेत्रमा काम गरिरहेको जानकारी दिए । विभिन्न जात जाती, भाषा, धर्मको विषयमा पनि हामीले लगानी गरिरहेको जानकारी दिँदै आउँदो बजेट कृषि क्षेत्रलाई प्राथमिकता दिएर आउने बताए । बोरिङको लागि ३० लाखको बजेट प्रदेशबाट आएको, सिँचाइको लागि १ करोड दिने प्रतिबद्धता आएको जनाउँदै अब केही हदसम्म सिँचाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा स्थानीय किशोर पाण्डेले कटहरीको जमिन र उद्योगलाई भरपुर उपयोग गर्न सक्नुपर्ने बताए । ‘कटहरी गाउँपालिकालाई उद्योगमैत्री कसरी बनाउने । जमिनको उपभोग कसरी गर्ने । यहाँका उद्योगमा यहीका मानिसलाई रोजगारी कसरी दिलाउने भन्ने विषयमा चिन्ता गर्नु आवश्यक छ,’ उनले भने । कटहरिकै सत्कर्म महतोले बजेट निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘हामीले मत दिएर पठाएका जनप्रतिनिधिले सांसले बाटो नबनाउने ठेकेदारलाई पत्राचार गर्नु पर्दैन ?,’ उनले भने, ‘खोइ अनुगमन, हुलाकी राजमार्ग किन बनेन ?।’ सुवास बातरले काम गर्न नसक्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा जोड दिए । 

प्रदेशका विकास निर्माण र कानुन निर्माणका विषयलाई ग्रामीण क्षेत्रहरूमा पुगेर सुझाव सङ्कलन गर्ने र संसदसँग समन्वय गर्ने उद्देश्यले पत्रकार मञ्चले कार्यक्रम गरेको मञ्चका अध्यक्ष कुमार लुइँटेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप