बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतका लागि यू–१९ विश्वकप खेलेका यी दुई खेलाडीले आज भारतलाई नै दिँदैछन् चुनौती

बुधबार, ३० जेठ २०८१, १६ : ३५
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (बुधबार) भारत र अमेरिकाबिच समूह चरणको खेल हुँदैछ ।

यो खेलमा अमेरिकाबाट खेल्ने दुई खेलाडी यस्ता छन्, जो यसअघि भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेलिसकेका छन् । भारतको १९ वर्ष मुनि उमेर समूहको टिममा समावेश रहेका उनीहरू पछिल्लो समय अमेरिका बस्न थालेसँगै अमेरिकाको टिमबाट विश्वकप क्रिकेट खेलिरहेका छन् ।

सौरभ नेत्रवलकर सन् २०१० मा भारतको यू–१९ विश्वकप क्रिकेट टोलीमा सामेल थिए । उनले सन् २०१३ मा मुम्बईका लागि रणजी ट्रफीमा डेब्यू गरेका थिए । उनी सन् २०१५ मा अमेरिका गए । त्यसपछि उनले अमेरिकामै क्रिकेट करिअर अघि बढाउँदै अहिले अमेरिकाकै लागि विश्वकप खेलिरहेका छन् ।

यस्तै अमेरिकी टोलीमा रहेका अर्का खेलाडी हरमीत सिंह पनि भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेलिसकेका खेलाडी हुन् । उनले सन् २०१० र २०१२ मा भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेले । भारतीय टिममा रहेका अक्षर पटेल, कुलदीप यादव उनका समकक्षी हुन् ।

हरमीतले पनि भारतमा रणजी ट्रफी खेलेका छन् । आफूले रणजी ट्रफीमा डेब्यू गर्दा भारतका वर्तमान कप्तान रोहित शर्मा पनि उक्त टिमको सदस्य रहेको बताउँदै उनले भारतविरुद्धको विश्वकपमा आफूले रोहितलाई चाँडै आउट गर्न प्रयास गर्ने बताए ।

त्यसो त अमेरिकी टिममा रहेका अन्य केही सदस्य पनि भारतीय मूलकै छन् । अमेरिकी टोलीका कप्तान मोनाङ्क पटेल (गुजरात), मिलिन्द कुमार (दिल्ली) र निसर्ग पटेल (गुजरात) पनि भारतीय मूलका खेलाडी हुन् । भारतविरुद्ध मैदानमा उत्रिनु आफूहरूका लागि भावुक पल हुने भारतीय मूलका अमेरिकी खेलाडी बताउँछन् ।

हरमीतले भने, ‘म भारतीय फ्याक्टरका बारेमा धेरै कम कुरा गर्न चाहन्छु । भारत विश्वकै सर्वश्रेष्ठ टिममध्ये एक हो । तर यो टी–२० क्रिकेट हो र यस्तो विकेटमा जे पनि हुन सक्छ ।’

नेत्रवलकर भने खेल सुरु हुनु अघि आफूले दुवै देशको राष्ट्रगान गाउने बताउँछन् । उनले भने, ‘भारत मेरो जन्मभूमि हो, अमेरिका मेरो कर्मभूमि हो । म दुवै देशको सम्मान गर्न चाहन्छु । यो मेरालागि फरक अनुभव हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप