बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
प्रदेश

हेटौँडा अस्पतालको खाता प्रतिष्ठानको कब्जामा, मुख्यमन्त्री गुहार्दै मेसु अर्याल

बुधबार, ३० जेठ २०८१, १६ : २७
बुधबार, ३० जेठ २०८१

हेटौँडा । हेटौँडा अस्पतालको बैंक खाता रोक्का गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कब्जा गरेको छ । प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पतालको बैंक खाता केही समय अघि प्रतिष्ठानले रोक्का गरी हाल कब्जा गरेको हो ।

अस्पतालको बैंक खाता प्रतिष्ठान अन्तर्गत ल्याएर रकम निकालिएको हो । प्रतिष्ठानको कार्यकारी परिषद्का पदाधिकारी र सदस्यसहित अस्पतालको खाता नियन्त्रणमा लिएर रकम निकालेको हेटौँडा अस्पतालका निमित्त मेडिकल सेपेरिटेण्डेन्ट डा. श्रीधर अर्यालले जानकारी दिए । उनले कृषि विकास बैंकको हेटौँडा शाखा प्रमुखको मिलेमतोमा आर्थिक अपचलन गरेको आरोप समेत लगाए ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०८० फागुन ३० गते निमित्त प्रमुखका रूपमा अस्पतालमा सरुवा भएका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. अर्याललाई आर्थिक तथा प्रशासनिक अधिकार तोकेको थियो । प्रदेश स्वास्थ्य मन्त्रालयले लेखेको पत्रमा आफूलाई आर्थिक तथा प्रशासनिक अधिकार दिई जिम्मेवारी तोकिए पनि प्रतिष्ठानका करारका डाइरेक्टर डा. धीरेन्द्र गिरीले प्रतिष्ठानको कार्यकारी परिषद‍्बाट गैरकानुनी ढंगले निर्णय गराइ आर्थिक अपचलन गरेको उनले बताए ।

मुख्यमन्त्री गुहार्दै मेसु अर्याल

अस्पतालले प्रतिष्ठानका पदाधिकारी, करारका कर्मचारी तथा बैंकको प्रमुखलाई कारबाही माग गर्दै मुख्यमन्त्री कार्यालयसहित माथिल्लो निकायमा पत्राचार समेत गरेको छ । उनले प्रदेश लेखा उत्तरदायी अधिकारीको अख्तियारी बिना कृषि विकास बैंकका शाखा प्रमुखसँग साँठगाँठ गरी आर्थिक अपचलन गरेको आरोप लगाएर पत्र काटेका हुन् ।

प्रतिष्ठानका करारका लेखा अधिकृत सुरज बिस्टसँगको संयुक्त दस्तखत प्रयोग गरी गिरिले व्यवस्थापन समितिको कोष (सरकारी कोष) प्रयोग गरेर सरकारी खाताको आर्थिक अपचलन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा  जेठ २२ देखि व्यक्तिसरहको स्वायत्त संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका करारका डाइरेक्टर डा. गिरिले आफूलाई सरकारी संयन्त्रको अस्पतालको निर्देशक तथा कार्यालय प्रमुख भएको, स्वास्थ्य मन्त्रालय तथा मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयलाई नचिन्ने भन्दै अस्पतालमा जबरजस्ती बस्दै सरकारी खाताको आर्थिक अपचलन गरिरहेको आरोप लगाइएको छ ।  सरकारी ऐनकानुनलाई ठाडो चुनौती दिने करारका निर्देशक डा. गिरि र करारका लेखा अधिकृत विष्टलाई समेत छानबिन गरी कारबाही  गर्न माग गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार लेखिएको उक्त पत्र डा. अर्यालले स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, प्रमुख जिल्ला अधिकारी, कुलपति, सहकुलपति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँ, राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ, उच्च सरकारी वकिल कार्यालय हेटौँडा, जिल्ला अदालत, प्रदेश लेखा नियन्त्रक कार्यालय, कृषि विकास बैंकको मुख्य कार्यालय, काठमाडौँ र चिकित्सक संघ नेपालमा पनि पठाएका छन् ।

कानुन अनुसार नै काम गरेका छौं : निर्देशक गिरी

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. नरेन्द्र गिरीले प्रतिष्ठानको ऐनले निर्देशित गरे अनुसार नै अस्पतालको खाता सञ्चालन गरेको बताए । उनका अनुसार ऐन विपरीत कुनै काम नगरिएको र प्रतिष्ठानको ऐनले अस्पताल सञ्चालन तथा आर्थिक अधिकार निर्देशक सहित लेखा हेर्ने कर्मचारीलाई तोकेको छ ।

मन्त्रालयको पत्राचार पछि अस्पतालको खाता सञ्चालन गरिएको निर्देशक डा. गिरीले बताए । मन्त्रालयको पत्राचार पश्चात् कार्यकारी परिषद्को बैठकले निर्णय गरी प्रतिष्ठानको रजिस्ट्रारको सिफारिसमा भिसीले अधिकारसहित नियुक्त गरेको उनले बताए । कार्यकारी परिषदमा प्रतिष्ठानको पदाधिकारीहरू रहने व्यवस्था रहेको छ ।

‘म प्रतिष्ठानको निर्देशक हुँ । मेरो व्यक्तिगत केही पनि छैन । हामीले ऐनले निर्देशित गरे अनुसार नै काम गरेका हौँ,’ उनले भने, ‘ऐनमा अस्पताल र आर्थिक अधिकार प्रतिष्ठान अन्तर्गत हुने भनिएको छ । सोही अनुसार कार्यकारी परिषद्को बैठकको निर्णय र रजिस्ट्रारको सिफारिसमा भिसीले आर्थिक अधिकार तोक्ने कानुनी व्यवस्था रहेको छ । त्यस बाहेक पनि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले आर्थिक अधिकारका लागि प्रतिष्ठानलाई पत्राचार गरेको थियो ।’

हालसम्म सो खाताबाट कर्मचारीको एक महिनाको तलब भत्ता मात्र खर्च भएको उनले बताए । सो खाताबाट करिब ३१ लाख रुपैयाँ खर्च भएको र सो बाहेक कुनै पनि रकम खर्च नगरिएको उनको भनाइ छ । सो खाता प्रतिष्ठानले नियन्त्रणमा लिएपनि हालसम्म कुनैपनि आर्थिक गतिविधिको बुझ्बुझारत नभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप