आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराई आफ्नो गल्ती सुधार्न तत्पर हुनुपर्छः साह

बुधबार, ३० जेठ २०८१, १६ : ०४
बुधबार, ३० जेठ २०८१

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई विगतका गल्तीबाट पाठ सिकेर त्यसलाई सच्चाउन तत्पर हुन सुझाव दिएका छन् । 

बुधबार काठमाडौंमा नेसपाको स्थापना दिवस कार्यक्रममा अध्यक्ष साहले अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना भएका नेता डा. भट्टराई भएको उल्लेख गर्दै उनले गल्ती सच्चाउन तत्पर हुनुपर्ने बताए ।

साहले संघीयताबारे भट्टराईले व्यवस्था राम्रो भएको तर शासकका कारण देश र जनताको अवस्था खराब बनेको भन्ने दुईअर्थी कुरा नगरेर स्पष्ट रुपमा बोल्न सक्नुपर्ने बताए । यस्तै, साहले आफ्नो एजेण्डा भ्रम छर्ने गरी भन्दा पनि प्रष्टसँग राखेर अगाडि बढ्नुपर्ने बताए ।

‘तपाईंले राष्ट्रियता जनतन्त्र, जनजिवीकाको कुरा उठाउनुभयो । आज राष्ट्रियताको स्थिति के छ, जनतन्त्र र जनजिवीकाको स्थिति के छ ? तपाईंले निधक्क भएर भन्न सक्नुपर्छ । चपाएर कुरा गरेर जनतालाई ढाँटेको जस्तो भैरहेको छ । जे छ त्यही प्रष्ट रुपमा भन्नुभयोभने गाडि अगाडी गुड्छ, त्यसलाई चपाउन थाल्नुभयो भने अबरोध हुन्छ’ उनले भने, ‘डा. बाबुराम भट्टराई भनेको एउटा सम्भावना बोकेको व्यक्तित्व हो । उहाँ अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न योग्य व्यक्ति हुनुहुन्छ । आफ्नो गल्तीहरुलाई सुधार गर्न आफू तत्पर हुनुहोस् ।’

उनले दोस्रो संविधान सभाको समयलाई स्मरण गर्दै भने, ‘संविधान सभालाई सम्झिएको छु । माओवादीले मलाई कारबाही गर्दा मस्यौदा समितिबाट राजिनामा दिँदा तपाईं पनि हुनुहुन्थ्यो । तपाईं संवैधानिक समितिको सभापति हुनुहुन्थ्यो मैले त्यतिबेला लिएको स्ट्याण्डमा तपाईंको साथ पाउँछु भन्ने अपेक्षा गरेको थिए । प्रचण्डसँग पुरै साँठगाठ गरेर जसरी पनि यो संविधान बनाउँदै हुनुहुन्थ्यो त्यो नेपाली जनताप्रति धोका थियो ।

जनआन्दोलन र जनयुध्दप्रति गद्दारी थियो त्यो भन्न सक्नुपर्छ । यो संविधान बनाउनेहरुले माफि माग्न सक्नुपर्छ अनिमात्र देश बनाउन सक्छौं । त्यसपछिमात्र वैकल्पिक शक्तिको कुरा गर्यो भने त्यो सही हुन्छ । दुनियाले ताली ठोक्छ । पुरानोको पनि स्वामित्व लिन नसक्ने नयाँ कुरा पनि गर्न नसक्ने यो दहीचिउरे जस्तो भयो डा.साव ।’ 

उनले भने, हिजोको माओवादी र तपाईं आज आफैंमा उदाहरण हुनुृहुन्नछ । यहाँ बसेका रवि लामिछाने र सिके राउत उदाहरण हुन् । सानो र ठूलोको कुरा होइन सही बाटो हिँड्नुहोस, ठूलो हुन कसैले रोक्न सक्दैन । पनि म यो मञ्चबाट भन्छु देशको अहिलेको आवश्यकता वैकल्पिक शक्तिको हो, बद्लाबको हो ।अग्रगामी शक्तिहरुलाई एकीकृत हुन जरुरी छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप