बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यु-१५ विद्यालय खेलकुद : अनुज र सरितालाई स्वर्ण

मङ्गलबार, २९ जेठ २०८१, १५ : ३४
मङ्गलबार, २९ जेठ २०८१

कास्की । मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन् ।

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते । सरिताले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेसका दीपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।

छात्र १ सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेसका अर्जुन शाह दोस्रो तथा कोशीका राजन वान्तवा राई तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुङ्गो लाग्दा ५ प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले २ तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जितेका छन् । जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ । सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप