मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

युरो कप फुटबलको उद्घाटन समारोह : मृत्युपछि बेकेनबाउरलाई सम्मान

बुधबार, ३० जेठ २०८१, १३ : ४२
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरो कप जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनमा आयोजना हुँदैछ । प्रतियोगिताको यो १७ औँ संस्करण हो । प्रतियोगितामा २४ वटा टोलीले सहभागिता जनाउँदै छन् ।

युरो कपका खेलहरू जर्मनीका १० वटा सहरको रङ्गशालामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कटल्यान्डबिच खेलिने छ ।  उद्घाटन खेल नेपाली समयअनुसार शनिबार विहान ००ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि युरोपियन फुटबल महासंघ (यूईएफए) ले जर्मनीका महान् फुटबलर स्व.फ्रान्ज बेकेनबाउरलाई सम्मान गर्ने भएको छ । विश्व फुटबलकै सम्मानित व्यक्तित्व बेकेनबाउरको यसअघि नै निधन भइसकेको छ ।

सन् २०२४ को जनवरी ७ तारिखमा ७८ वर्षको उमेरमा उनको निधन भएको थियो । यूईएफएले उनलाई मृत्युपछि सम्मान गर्न लागेको हो ।

प्रतियोगिताको उद्घाटन समारोहमा जर्मनीका दुई महान् फुटबलर बनार्ड डिएट्ज र योर्गेन क्लिन्सम्यान पनि सहभागी हुनेछन् । समारोहमा बेकेनबाउरकी पत्नी हेइडी पनि उपस्थित हुनेछिन् । जर्मनीले सन् १९८० मा युरो कपको उपाधि जित्दा डिएट्ज टोलीका कप्तान थिए ।

जर्मनीले सन् १९९६ मा युरो कपको उपाधि चुम्दा क्लिन्सम्यान टोलीका कप्तान थिए । प्रतियोगिताको उद्घाटन समारोहमा दुई पूर्वकप्तान डिएट्स र क्लिन्सम्यानसँगै बेकेनबाउरकी पत्नी हेइडी ट्रफी बोकेर मैदानमा प्रवेश गर्नेछन् ।

त्यही ट्रफी युरो कपको विजेतालाई प्रदान गरिने छ । बेकेनबाउर जर्मनीका सबैभन्दा महान् फुटबलर हुन् । उनकै कप्तानीमा सन् १९७२ मा पश्चिम जर्मनीले युरो कपको उपाधि जितेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तत्कालीन सोभियत संघलाई ३–० गोलले हराएको थियो ।

बेकेनबाउरकै कप्तानीमा जर्मनीले सन् १९७४ मा फिफा विश्वकपको उपाधि पनि चुमेको थियो । यसका अतिरिक्त जर्मनीले सन् १९९० को विश्वकप खेल्दा बेकेनबाउर टोलीका प्रशिक्षक थिए ।

बेकेनबाउरले सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि लामो समय जर्मन क्लब बायर्न म्युनिखबाट ब्यवसायिक फुटबल खेलेका थिए । बायर्न म्युनिखले सन् १९७४ देखि सन् १९७६ को बिचमा तीन वटा युरोपियन उपाधि उचाल्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

यसका अतिरिक्त बेकेनबाउरले बायर्न म्युनिखलाई पाँच पटक बुन्डेस लिगाको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले खेलाडीको भूमिकामा चार वटा र प्रशिक्षकको भूमिकामा एउटा उपाधि जिताएका थिए । बेकेनबाउरले सन् २०१३ मा यूईएफए प्रेसिडेन्ट अवार्ड पनि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप