शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
साहित्य

ज्यान जोगाउने ती तुइन र ज्यान लिने यी पुल

बुधबार, ३० जेठ २०८१, १३ : ०७
बुधबार, ३० जेठ २०८१

आइतबार जेठ २७ बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ बाट दैलेखको आठबिस नगरपालिका– ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्यवस्तु लिनका लागि आउँदै गरेको खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा पुलमै फसे ।

सामाजिक सञ्जालले अवगत गराएको यो हृदयविदारक घटनाले मेरो पूर्वस्मृतिमा यसैसँग मिल्दोजुल्दो एउटा घटना बिउँझाइदियो, जुन मान्छेकै ज्यान लिने पुलको कथा छ । 

  • ज्यान जोगाउने तुइनको कथा 

तुइनको छ है भर
नदी तर्नलाई छ है कर
नयाँ नेपाल दुःख पुरानै
नयाँ नेपाल सुख बिरानै
जाम जाम कान्छी जाम जाम
जाम जाम कान्छो जाम जाम
(नाइट ब्यान्ड)

२०७० साल १ जेठको सखारै अपि सैपालको ढाडमा घामले पाइला टेक्यो । उता हिमालमा हिउँले समुद्रसम्मको यात्रा तय गर्‍यो, यता बा गर्जिनुभयो, ‘एइ उठ, कति सुत्छस् ? बाहिर घाम हेर पन ।’

संसारका हरेक बा चाहलान्, आफ्नो छोरा घामभन्दा पहिले ब्युँझियोस् र कुदोस् क्षितिजतिर उज्यालो टिप्न ।

अघिल्लो सम्साँझै त हो, मैले आमालाई ‘अब म इन्डिया जान्छु, दाइलाई खोजेर ल्याउँछु है आमा ?’ भनेर सोध्दा प्रतिउत्तरमा ‘होइन ! क्या भन्दोछै ? सानै छै, क्यारी जालै नजा’ आमाले भन्नुभएको ।

image_123650291 (1)

‘किन ? म दाइकन ल्याइआउन्या हुँ,’ मैले अडान लिएँ ।

‘पैला रिजल्ट आउन दे । पास भया पुडा तेरा बा साथै जालाइ,’ आमाको फकाउने प्रयास जारी रह्यो ।

‘नाइँ, तुमीले नलाया पन म भागीकन बाइजान्या हुँ । रन्ने मामाले देश जान्या बाटो देख्या छन्,’ मैले ढिपी छाडिनँ ।

‘भन्या मान, भाउ ! यैइथो कर्नाली भेल छ । खोलानाला हुन्ना, तुइन तरीकन क्यारी जालै ?’ आमाका अनुनयका शब्द मेरा कानमा गुन्जिन थाले, जब मेरा पैतालाले जीवनको अन्तिम सास फेर्ने धोको नत्याग्दै किनार छोएका थिए ।

त्यसै दिन हो, जीवनले एक मुठ्ठी प्राण बोनसमा पाएको । यदि त्यो दिन यस मेरो पक्षमा हुन्थेन भने, कर्णालीको भेलमा एउटा अस्तित्व मात्रै समाप्त हुन्थेन, गुमनाम हुने थियो यस जीवन बोधको कथा पनि ।

‘पौडी हाल्न नआन्या भया तु तुइन तरीकन आ,’ चन्द्रले पनि भनेकै हो ।

ऊ साँच्चै पौडीबाज थियो । पहिले भेलतिर आफैँ हुर्रियो । हेर्दाहेर्दै एकैछिनमा पारि पुग्यो । र सिटी मार्‍यो– सिईई !

‘ओइ आउ तुमीहरू पन,’ चन्द्रले भन्यो ।

डुब्दै, तैरिँदै मुखभरिको पानी खाँदै रन्नले पनि पार गर्‍यो । जब नदी तर्ने पालो मेरो आयो, एकाएक होस गुम्यो । कल्याङमल्याङ आवाजसहित चन्द्र किनारै किनार दौडिएको थाहा नपाउँदै कान डम्म थुनिए, आँखामा अँध्यारोले पर्दा हाल्यो र एकैछिन पछि करिब एक किलोमिटर तल किनारको छेउमा पाउँदा मन्द ध्वनि कानमा गुञ्जियो ।

‘मु* ! तोकन पौडी हाल्न आउँदैन । नजा, बरु तुइन तरइकन आइजा भन्या होइनौ ?’ चन्द्रले मलाई छिपछिपे पानीबाहिर ल्याई जोरले किनारमा थचार्दै च्याँठ्ठियो । 

त्यसपछि चैतन्य फिर्ता आयो । आमालाई सम्झिँदै आँखाको कुनाबाट एक–एक धर्का आँसु खसे । जीवनको जञ्जिर तोड्न उचालिएका खुट्टाले होस् गुमाउँदा पनि त्यसबखत अकस्मात पैतालाले किनार किन छोए ? सायद, वर्षाैं पहिले हाम्रा पुर्खाका पैतालाले छाडी गएका आदिम डोब आज पनि मैले पछ्याउन बाँकी थियो कि ?

०००

टिनिनी ! टिनिनी !

कोल्टी एयरपोर्ट झर्नेबित्तिक्कै फोन बज्यो । घरबाट रहेछ ।

‘हेलो ! काँ पुग्यौँ ? पल्ला घरका मान्ठ बितिगया बिस्तारै आयापन हुँदोछ,’ उताबाट आवाज आयो ।

‘को मान्ठ ? जाउन्याँ काका ?’ सशङ्कित भएँ ।

‘कठै ! जीवनका हरेक सुखदुःख, उकालीओराली र तुइन घटनाका एक साक्षी मेरा प्रिय पात्र बितिगया ? एकाएक गह भरिए ।

‘ड्राइभर भाइ ! जुइना दोमुखसम्म जाने हो ?’

‘धुलाचौर हुँदै जान्छ, दाइ । बस्नुस् । पुग्नुपर्ने कहाँसम्म हो ?’ चालक भाइले भने ।

‘मुगुसम्म ।’ 

‘ए ए । त्यहाँबाट मुगु जाने हो भने, हुम्ला कर्णालीको तुइन तरीकन जानुपर्छ दाइ,’ उनले भने ।

उफ् फेरि तुइन ? स्मृतिको गर्वमा रहेको विस्मृति योग्य याद फेरि बल्झियो । अब म कसलाई सुनाउँला ? काका, वर्षौंअघि तुइन तरेर गएको मान्छे आज पनि तुइनै तरेर फर्किआए भनेर ।

image_123650291

०००

२०७२ असोज २५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद्ले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका तथ्याङ्कअनुसार ओलीको तुइनमुक्त मिसनले देशभर ३६६ वटा तुइन रहेका ठाउँमा झोलुङ्गे पुलमार्फत तुइन विस्थापन गर्ने पहिलो निर्णय गरेको हो । ओलीको उक्त कदमलाई नेपाली जनताले प्रशंसाले मात्र पुरेनन्, देश–विदेशबाट आर्थिक सङ्कलनका लागि तम्तयार पनि भए ।

गायिका तथा अभियन्ता आनी छोइङ डोल्माले प्रधानमन्त्रीको त्यस कदमको प्रशंसा गर्दै एक करोड सहयोग हस्तान्तरण गरिन् । सन् २०१८ जुलाई १८ मा देखापढीमा प्रसारित मनोज पाण्डे सञ्चालित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीका आँखा रसाउने ती दारुण दृश्य राज्यले परिभाषित गर्ने अविकसित दार्चुला या कर्णालीका थिएनन् । ती त राजधानीको छिमेकी धादिङकै थिए ।

सरकारले त्यसको दुई वर्षमै देशलाई तुइनमुक्त घोषणा गर्‍यो । लगत्तै एउटा कार्यक्रममा ओलीले सरकारको आलोचना गर्नेहरूप्रति व्यङ्ग्य गर्दै भने, ‘पूर्ण रूपमा तुइन विस्थापित भइसक्दा पनि सामाजिक सञ्जालमा पोहोरपरारका तुइनका फोटो राखेर प्रचार गरेको गर्‍यै छन् ।’

‘मेरो सुझाव छ, अझै केही तुइन बाँकी छन् भने विस्थापित गर्नुभन्दा पहिल्यै फोटो खिचेर राखौँ, अलिक पछाडि फोटो खिच्नलाई तुइन भेटिँदैन,’ ओलीले थपे ।

सरकारले तुइनमुक्त नेपाल घोषणा गरे पनि त्यसको केही वर्षपछि १५ साउन २०७८ मा दार्चुलामा जयसिंह धामीको तुइन घटनाले ओली समृद्धिको राष्ट्रवाद फेरि बुमर्‍याङमा पर्‍यो । 

स्मरण रहोस्, बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि आफू निर्वाचित जिल्ला गोरखालाई ध्यानमा राखेर त्रिशूलीका तुइन हटाई पुल बनाउने घोषणा गरेका थिए, तर उनले पनि कार्यान्वयन गर्न गराउन सकेनन् ।

गोरखापत्रमा गत वर्ष भदौ ५ मा प्रकाशित समाचार अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका अनुसार देशभर १४३ वटा तुइन रहेकामा अहिलेसम्म १४२ वटा विस्थापित छन् । याने कि देशमा हट्नुपर्ने अब एउटा मात्र तुइन बाँकी छ । समाचारले खुसखबर दियो । जुन हालसम्म हुम्ला र मुगु कर्णाली दोभानमा रहेको तुइन हो । 

यो तुइनको राजनीतिलाई एकैछिन थाती राखी आउनुस्, केहीबेर कर्णाली घुमौँ ।

००० 

‘कर्णाली दोमुख आइपुग्यौँ दाइ,’ ड्राइभर भाइ बोले ।

हुम्ला कर्णाली किनारको वल्लो छेउमा हामी थियौँ, पल्लोछेउमा केही मान्छे थिए । बिचमा थियो बेलगाम तुइन ।

हिजो साँझ कसैले तरेर तुइनबिचमै छाडिदिएछ । पारिछेउमा कोही तुइन कुरिरहेछन् ।

‘को हुन् ?’ हामीले बोली र हातले इसारा गर्‍यौँ ।

उताबाट ‘बिरामी हुन्,’ भनेजस्तो आवाज सुनियो ।

त्यसपछि हतारहतार वरपरका मान्छे गुहार्‍यौँ । हुम्ला श्रीनगरका बुढा थरका होटले साहुजीको सहायताले तुइनलाई किनारसम्म खिच्न सफल भयौँ । करिब ४ घन्टाको पर्खाइपछि बिरामीको उद्धार भयो ।

‘क्यान खबर नगरेको ?’ बिरामीसित होटले कड्किए ।

 ‘नेटवर्कले काम गर्‍योन हजुर,’ थकित ओठले मधुरो आवाजमा भने ।

 बिरामी रहिछिन्, ओइरा काकी । उनले करिब ४० वर्षअघि यही तुइन तरी बिहेबारी गरेकी थिइन् । कुनै बेला सम्बन्धको सेतु बनेको तुइनले आज जीवनलाई मृत्युको सँघारमा पुर्‍याएको थियो ।

‘यै दुःख बाटी कहिले मुक्ति पाइएला । यै बग्या कर्नालीका भेलपडी मर्‍यापन निजर्काे होइजान्या छियो,’ तुइनमा बस्दै दबिएको आवाजमा सुसेलिन् ।

‘तु देश विदेश घुमी आइगई । यो ठौर जइथो छियो, उइथै छ । र, हाम्रा दुःखपन उइथै छन,’ काकीलाई थाहा थियो, वर्षाैंदेखि कर्णालीवासीका सुख बगाउने भेलले दुःख पनि बगाउन सक्छ भनेर ।

काकीका बिलौना सुन्दा मन भक्कानिएन मात्रै, मनले अनेक तर्कना गर्न थाल्यो । भलै तुइन आजको पुँजीवादमा विकासको विम्ब नहोला, तर पनि यो आदिम मानव समाज र जनजीवनको सङ्घर्ष र सौन्दर्यको गाथा पक्कै हो । कर्णालीको छाल र तुइनसँग जोडिएका अनेक कहानी छन् । हामीले यसलाई नव पुस्तामाझ कसरी बुझाउला ? हुन त आज औपनिवेशिक मानसिकताले विकास भनेको यही हो भन्ने जुन भाष्य खडा गरेको छ, कुनै सहरको महँगो महलमा विलासी जिन्दगी बिताइरहेको शासक होस् या कर्णालीको बासिन्दा, विकास भन्नेबित्तिकै चन्द्रागिरीको हिल चढ्ने केवलकार या त सुकुमबासी बस्ती चियाउने अग्लो टावरलाई मात्र सम्झिन्छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा थप ठाउँमा तुइन विस्थापन हुने योजना पहिचान गरी कर्णाली प्रदेशको हुम्लामा तीनवटा पुल निर्माण गर्न गृह मन्त्रालयले डिभिजनलाई भनेको थियो, तर विस्थापन गर्ने निर्णय गरेको सात वर्षमा पनि तुइन हटेका छैनन् । ओलीको तुइन विस्थापनको अभियान आज कहाँ र कुन स्थितिमा पुग्यो होला ? यसमा वर्तमान सरकारले कसरी काम गरिरहेको छ ? यत्तिका वर्ष बितिसक्दा पनि के हुन्, तुइन विस्थापनका समस्या ? भौगोलिक कठिनाइ त हुन्छन् नै, तर त्यो निर्माण व्यवसायीको जिम्मेवारी हो । तुइन हटाएर समयमै पुल बन्न नसक्दा जनताका दैनन्दिन समस्याहरूको हल गर्न कठिनाइ हुन्छ । हटाएको तुइन अर्काे ठाउँमा लगेर जोड्ने, घाँस–दाउरा गर्नका लागि तुइन प्रयोग गर्ने र पुलभन्दा एक–दुई किलोमिटर पर जडान गर्नबाहेक स्थानीयसँग अन्य विकल्प छैन ! यस्तो अवस्थामा तुइन विस्थापन होइन, बरु यसलाई कसरी व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने भन्ने तर्क मुनासिब होला ।

२०७४ चैतको अन्तिम साता कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक मुगुको राराताल किनारमा बस्यो । बैठकले कर्णाली करिडोरको नाम ‘प्रधानमन्त्री अन्तरद्रूतमार्ग’ राख्यो । सरकारले कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत २०७६ माघ हुम्ला र मुगुलार्ई राष्ट्रिय सडक सञ्जालसँग जोड्न हुम्ला–मुगु कर्णाली दोभान, बाँधुको झुगला र सोरुको गुल्मा एकैसाथ तीनवटा बेलिब्रिज सर्भे गर्‍यो ।

चार वर्ष बितिसक्दा पनि झुगलाबाहेक अन्य दुईवटा पुल निर्माणको टुङ्गो छैन । गुल्मामा बेलिब्रिज शिलान्यास भइसकेको छ भने हुम्ला मुगु कर्नाली दोभानको पुल शिलान्यासको पनि टुङ्गो छैन । पुल बन्न नसक्दा राष्ट्रिय सडक सञ्जालसँग जोडिन त्यहाँका बासिन्दा तुइनको प्रयोग गर्न बाध्य थिए ।

यहाँ स्मरणीय के छ भने हालैसालै सम्पन्न खत्याड गाउँपालिका प्रवेश गर्ने झुगला बेलिब्रिज तत्कालीन निर्वाचित सांसद तथा मन्त्री मोहन बानियाँको क्षेत्र हो । शिलान्याससित सोरु गाउँपालिका प्रवेश गर्ने गुल्मा बेलिब्रिज निवर्तमान माननीय प्रदेश मन्त्री चन्द्रबहादुर शाहीको क्षेत्र अन्तर्गत पर्छ । यसबाट के पुष्टि हुन्छ भने विकास आजको दिनमा लोकतान्त्रिक र समावेशी छैन, बरु यो सत्ता र शक्तिको खानी कुनै सनकी शासकले जनतामाझ आफ्नो पहुँच विस्तारका लागि बाँड्ने उदार स्वरूपको बक्सिसजस्तो भएको छ ।

०००

हामी हुम्ला नदीको तुइन तरेर मुगु कर्णालीको पुल तर्दै थियौँ, माथिबाट ओरालो झरिरहेका डिलबहादुर दम्पती भेटिए । उनीहरू पनि जहान बिरामी परेर उपचार गर्न हुम्ला र बाजुराको सीमाना कवाडी लैजान लागेका रहेछन् ।

‘गाउँमा ईकाइ स्वास्थ्य चौकी भएर पनि औषधि छैन । औषधि हुँदा डाक्टर हुदैनन् । त्यसैले टाढाको मेडिकल धाउनूको विकल्प छैन । के गर्ने यस्तै छ बाध्यता,’ दम्पतीको गुनासो थियो ।

पङ्तिकारलाई पनि लाग्छ– यो बाटो यस्तै हो र यस्तै हुन कर्णाली कथा पनि । उक्त दम्पतीलाई स्वास्थ्य लाभको कामना गरेर उकालैउकालो लाग्नुको विकल्प थिएन । उकालोको थकानसँगै तल बगिरहेको कर्णालीलाई हेर्छु र गम्छु– सुसाइरहने नदीका जस्तै हामीसँग पनि जीवनका अनेक सुस्केरा छन् । जो वर्षाैं पहिलेदेखिका हुन् । कहिले ती ‘ऐना’ कथासङ्ग्रहकी एक पात्र कोइली रोकायाको आवाजमा दुःखका भाका बनेर गुञ्जिन्छन् त कहिले आफ्ना लालाबालासहित जीवन भेलमा होम्याउने सप्पा नेपालीको भोक विद्रोहको आत्मदाह ।

वर्षाैंअघि तुइन तरेर गएको यो पङ्त्तिकार जोसँग फास्ट मेट्रोमा देश दुनियाँ रमण गरेको अनुभव छ, तर तुइनमुक्त मिसनको आज सात वर्षपछि पनि तुइनकै यात्रा गर्नुपरेकाले देशको विराजमान तुइनको राजनीतिप्रति खेद छ । कामना गर्छु, पङ्क्तिकारको आगामी घर फिर्तीको यात्रामा यस्तो तुइन घटनाको तीतो अनुभव नहोस् । 

‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा 

हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा... ।’

मोटर र बाटो त धेरै परको कुरा भइगयो । जबसम्म कर्णालीको तीर नाप्ने हरेक यात्रीको बाटोमा तुइन  रहन्छ, तबसम्म गायक सुरज पण्डितको ‘रेलको बाटो’ गीत सुन्नु त छँदै छ । 

०००

  • ज्यान लिने पुलको कथा 

प्रिय पाठकबृन्द पूर्णविराम लगाइसकेको यो लेख फेरि लम्बाउन मन थिएन, तर स्मृतिको गर्वमा पत्र बनेर बसेको अनुभूति जति चोइट्यायो त्यति नै उप्किदोरहेछ, जहाँसम्म कर्णालीसँगको अविराम यात्रा छ, त्यहाँसम्म त दुःख छ नै । तुइन यात्राको तितो अनुभवको आज ठिक एक वर्षपछि म फेरि घर फिर्तीको तयारीमा छु । अब मेरो बाटोमा कुनै तुइन छैन । मैले त्यो बेला उकालो चढ्दै तल सुसाइरहेको कर्णाली नदीतर्फ हेर्दै गरेको कामना पूरा पनि भएको छ । गत वर्ष तरेको तुइनकै छेउमा शिलान्याससित झोलुङ्गे पुल बनेको छ रे । 

मैले आफ्नो पहिलोपटक घरफिर्तीको कहालीलाग्दो यात्रा संस्मरणलाई लिपिबद्ध नगर्दै पुल शिल्यान्यास भयो । त्यहाँका बासिन्दाले सामाजिक सञ्जालमा पुल बनेको फोटो राखेर तुइनबाट मुक्ति पाइएको खुसखबर बाँडे । जस समाचारबाट पङ्क्तिकार पनि खुसी भयो, विडम्बना पुलको गलत लोकेसन छनोट र निर्माण व्यवसायीको कमजोरीले गर्दा तुइनको विश्वासमा निर्धक्क कर्णालीको भेल काट्ने जीवनका लागि पनि आफैँमा भय बन्यो । 

शिलान्यासको केही समयपछि २०८० माघ १० गते उपचार गर्न हिँडेका स्थानीय पूर्वनेपाली काङ्ग्रेसका नेता नन्दुप्रसाद आचार्यको पुलको छेउबाट खसेर निधन भयो । पुल नबन्दासम्म मान्छेहरूको तुइनमै भरोसा थियो । पुल बनेपछि भयपूर्ण यात्राको अब दिन गए भन्ने सोचेर प्रफुल्लित मान्छेमा एकाएक पुल नै काल बनेर आयो । 

भिरालो ठाउँमा पुल बनाउँदा छेउछाउमा मजबुत ग्याबिन तारको बन्दोबस्त गर्नेतर्फ निर्माण व्यवसायी र प्राविधिक पक्षको ध्यान जानुपथ्र्यो, गएन ।  हामीकहाँ नेतादेखि ठेकेदार, उपभोक्ता समितिदेखि जनतामा विकास ल्याउ र खाउको प्रपञ्चले गाँजेको छ । त्यसै कारण हरेक संरचना कमसल बन्न पुग्छन् । त्यसैको परिणाम त हामीले भोग्नुपर्ने नै छ र त कहिले तुइनमा प्राण त्यागेको, कहिले साना बालबालिका स्कुल जाँदै गरेको दृश्य समेतको साक्षी बस्नुपरेको छ । मान्छे नै पुलबाट खस्नुपरेको स्थिति अघि चौपाया पुलमा अड्केको दृश्यले सरकारको मन के छुन्थ्यो होला र ?  

कर्नाली ओ कर्नाली, 
सदियौँदेखि बगिइह्यो उँदैउँदो !
बगाइरह्यो साथैमा
बगरछेउको खेत खलिहान,
तर बगाउन सकेन
हृदयको नाइल नदी हुँदै बग्ने
कोइलीको अनन्त दुःखको आँसु !
मेटाउन सकेन
दसताको जञ्जिर तोड्न
विवशताको भेलमा जीवन होम्याउने
सप्पा नेपालीको भोक !

बगाउन सकेन छोइछिटो,
पखाल्न सकेन,
छाउगोठमा सुकिरहेको रगतको आदिम टाटो
जो आज पनि गिज्याइरहेछ,
डिजिटल युगीन लोकतान्त्रलाई ।
 
बरु यसले त
मेटाइरहेछ फिरङ्गीको प्यास
जसको आँखामा मानवताको खडेरी छ
र हृदयमा सभ्यता संहारको भोक !
जो हिँडिरहेछ,
नव उदारवादको झोलीमा
परम्परागत विकासको ललिपल बोकेर !
कर्णालीको भोक मेटाउन
कर्नालीको तिरैतिर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिकर्ण मल्ल
डिकर्ण मल्ल
लेखकबाट थप