सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
विकास निर्माण

२३ महिनामा कर्णाली सरकारले गर्‍यो ११७ किलोमिटर सडक कालोपत्रे

बुधबार, ३० जेठ २०८१, ११ : ५४
बुधबार, ३० जेठ २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको जेठ महिनासम्म गरी २३ महिनामा ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्षमा सरकारले ७८.९५ किलोमिटर सडक कालोपत्रे गरेको थियो ।

यस्तै चालु आर्थिक वर्षको जेठसम्म ३८.१८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । असार मसान्तसम्म यो तथ्याङ्क केही मात्रामा बढ्ने देखिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा ३३.०२, आर्थिक वर्ष ०७८/७९ मा १५.९० किलोमिटर पक्की सडक निर्माण गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेश सरकारको प्राथमिकता कालोपत्रे भन्दा पनि नयाँ सडक (ट्र्याक ओपन) हो । प्रदेशका कतिपय गाउँ–ठाउँ अझै सडक सञ्जालमा जोडिएका छैनन् । सरकारको प्राथमिकता सडक नपुगेका ठाउँहरूमा सडक पु¥याउनु रहेको मन्त्रालयको भनाइ छ ।

प्राप्त तथ्याङ्क अनुसार २३ महिनाको अवधिमा दुई हजार ६२९.४८ किलोमिटर नयाँ सडकको ट्र्याक ओपन गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म २०५.३७ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ भने गत वर्षमा दुई हजार ४२४.११ किलोमिटर नयाँ सडक निर्माण भएको छ । असार मसान्तसम्म यो नयाँ सडकको लम्बाइ तीन हजार कट्ने सम्भावना रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यस्तै २३ महिनाको अवधिमा सरकारले ४८१.७५ किलोमिटर सडक ग्राभेल/खण्डस्मित गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षको हालसम्म ४७.७४ किलोमिटर सडक ग्राभेल/खण्डस्मित गरेको छ । यस्तै सरकारले चालु आर्थिक वर्षको हालसम्म ५७.१२ किलोमिटर सडकको स्तरोन्नति र नाला निर्माणको काम गरेको छ । २३ महिनाको अवधिमा २७३.४० किलोमिटर स्तरोन्नति र नालाको काम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविन कार्की कालोपत्रे सडकभन्दा कर्णालीमा ट्र्याक ओपन पहिलो प्राथमिकतामा रहेको बताउँछन् । यद्यपि कालोपत्रे पनि आवश्यकता अनुसार भइरहेको उनले बताए ।

विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश सडक कालोपत्रे भइसकेका छन् । प्रदेश सरकारबाट काम भइरहेका दर्जनौँ सडक कालोपत्रे भएसँगै राजधानीको सडक पूर्वाधारको अवस्थामा निकै सुधार आएको उनले बताए । सुर्खेतपछि दैलेख, रुकुम पश्चिम र सल्यानमा कालोपत्रे भएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म सरकारले १६ वटा झोलुङ्गे पुल निर्माण गरेको छ भने ८ वटा पक्की पुल निर्माण गरेको छ । गत वर्ष २२ झोलुङ्गे र ८ वटा पक्की पुल निर्माण भएका थिए ।

यस्तै २३ महिनाको अवधिमा सरकारले ११ वटा सार्वजनिक भवन निर्माण गरेको छ । सरकारले हरेक वर्ष पूर्वाधारलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने गरेको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयका लागि १० अर्ब ११ करोड ४२ लाख ६१ हजार वार्षिक बजेट थियो । जेठ १५ गतेसम्म २८.८१ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ९९ सडक

कर्णालीमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम लागु छ । उक्त कार्यक्रम अन्तर्गत गत वर्ष र चालु आर्थिक वर्षको अहिलेसम्म ९९ वटा सडक निर्माण भएको मन्त्रालयले जनाएको छ । यही कार्यक्रम अन्तर्गत १८२ वटा भवन बनेका छन् ।

विद्युतीय संरचना ७, तटबन्ध तथा बाँध निर्माण ३९, सिँचाइ आयोजना ६८ र खानेपानी आयोजना ४१ वटा बनेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप