बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

सहअध्यक्ष र महासचिवमा कडा प्रतिस्पर्धा
बुधबार, ३० जेठ २०८१, ११ : १५
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ ।

जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । 

यस्तै सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा रामकुमार शर्मा, मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । रामकुमार शर्मा हालै माओवादीबाट जसपा नेपालमा प्रवेश गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा नेपालका एक नेताले हालसम्म अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जानकारी दिँदै समय अझैँ बाँकी रहेपनि सो पदमा अरूको दाबी नदेखिएको बताए । 

जसपा नेपालको विधानअनुसार २०१ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ । 

यस्तै केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । 

केन्द्रीय पदाधिकारीमा एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । महासचिव दुई जना छन् भने उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला अनिवार्य गरिएको छ ।

 सचिव सात जना हुनेमा दुई जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ । यस्तै कोषाध्यक्ष एक जना रहने विधानमा व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप