डेंगुको जोखिम बाह्रैमास, मनसुनमा बढी
काठमाडौँ । नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने भएकाले सतर्कता अनाउन विज्ञले सुझाएका छन् ।
सरकारी तथ्याङ्क अनुसार वर्षभर नै डेंगुको जोखिम रहन्छ । जसमध्ये मनसुनमा यसको जोखिम बढेको देखिएको हो । वर्षातको समयमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन् अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने उच्च जोखिम रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए ।
‘मनसुनमा गमला, टायर, खल्डाखुल्डी लगायत क्षेत्रमा पानी जम्छ,’ उनले भने, ‘त्यसमा लामखुट्टेले अण्डा पार्छ, लामखुट्टेको सङ्ख्या बढेपछि डेंगु बढ्ने भइहाल्यो ।’
एक साता अघिमात्रै ६८ जिल्लामा डेंगु सङ्क्रमण देखिएको थियो । हाल ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ । ६ महिना (जनवरी–जुन ९ गते) को अवधिमा ११ सय ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ ।
डेंगुको जोखिम बर्खामा बढी
ईडीसीडीको तथ्याङ्क अनुसार सन् २०२३ मा डेंगु सङ्क्रमणको जोखिम बाह्रै महिना देखिएको थियो । यो वर्ष (सन् २०२४) मा पनि हालसम्म डेंगुको सङ्क्रमण नभएको कुनै महिना नरहेको तथ्याङ्कले देखाएको छ । गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा यो वर्ष पनि डेंगु रोगको प्रकोप मनसुनमा बढ्ने अनुमान गर्न सकिन्छ ।
सन् २०२३ को जनवरीमा १३३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । यस्तै, फेब्रुअरीमा १३० जना डेंगु सङ्क्रमित भएका थिए । मार्च महिनामा १९५, अप्रिलमा १५८ र मे महिनामा १६३ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।
सन् २०२३ को हिउँद महिनामा दुई सयभन्दा कम सङ्ख्यामा देखिएको डेंगु सङ्क्रमण मनसुन अर्थात् बर्खा याम सुरु भएलगत्तै सङ्क्रमितको सङ्ख्या बढेको छ । जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यस्तै, जुलाईमा ६ हजार ४५९ जना डेंगु प्रभावित भएका थिए ।
अगस्ट महिनामा १४ हजार ५३४ जना, सेप्टेम्बरमा १३ हजार ९१२ जना र अक्टोबरमा १२ हजार ६९९ जनालाई डेंगु देखिएको थियो । गत वर्षको तथ्याङ्कमा अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा सबैभन्दा बढी सङ्ख्यामा डेंगु सङ्क्रमण भएको देखाएको छ ।
नोभेम्बरबाट डेंगुको सङ्क्रमण घटेको छ । यो महिनामा २ हजार ८०५ जना सङ्क्रमित भएका थिए । डिसेम्बरमा ५७६ जनालाई डेंगु पुष्टि भएको थियो ।
यो वर्ष (२०२४)को मनसुन सुरु भएको छ । मनसुनमा डेंगु रोग लगायत विभिन्न रोगको सङ्क्रमण फैलिने जोखिम उच्च रहेको चिकित्सकको तर्क छ ।
यो वर्षको जनवरीमा २४३ जनामा डेंगु देखिएको तथ्याङ्कमा उल्लेख छ । यस्तै, फेब्रुअरीमा १७३ जनामा, मार्चमा २ सय जनामा, अप्रिलमा २१५ जनामा, मेमा २५१ जनामा, जुन (९ गते) सम्म ४८ गरी ११३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
अब मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने चिकित्सकहरू बताउँछन् । सङ्क्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘मनसुनमा विभिन्न रोगको सङ्क्रमण देखिन्छ । बर्खामा लाग्ने किटजन्य रोगमा मुख्यगरी डेंगु र स्क्रब टाइफस हो ।’
नेपालमा पछिल्लो समय वर्षभर नै डेंगुको प्रकोप देखिएको छ । गर्मी र बर्खामा मात्रै डेंगुको प्रकोप देखिने गरेकोमा पछिल्लो समय वर्षभर नै देखिन थालेको हो । यसो हुनुमा जलवायु परिवर्तन अनुसार लामखुट््टेले पनि आफ्नो शरीरलाई वातावरण अनुकूल बनाएको चिकित्सकको भनाइ छ ।
के हो डेंगु र कसरी जोगिने ?
डेंगु सरुवा रोग हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ । यो रोग नेपालमा बाह्रैमास देखिए पनि मनसुनमा बढी देखिन्छ ।
लक्षण
–ज्वरो आउने,
–टाउको दुख्ने,
–आँखाको भित्री भाग दुख्ने,
–बान्ता आउने,
–रिङ्गटा लाग्ने,
–जिउ दुख्ने,
–गलेको महसुस हुने,
–साताभरमा शरीरमा राता बिमिरा आउने ।
जोगिने उपाय
–घरको वरिपरि पानी जम्न नदिने,
–पूरै शरीर ढाक्ने कपडा लगाउने,
–घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने,
–लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने,
–झ्याल ढोका बन्द राख्ने,
–आफ्नो वरिपरिको वातावरण सरसफाइ गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल