शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
खोर्साने–केराबारी–सिंहदेवी सडकको बेहाल
पूर्वाधार

खोर्साने–केराबारी–सिंहदेवी सडकको बेहाल

२ वर्षमा सक्नुपर्ने काम ५ वर्षमा पनि सकिएन
बुधबार, ३० जेठ २०८१

विराटनगर । उत्तरी मोरङको केराबारीबाट सिंहदेवी जाने ‘खोर्साने–केराबारी–सिंहदेवी रोड’ निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीआइसीओ (सिको) र केसीसीपीएल जेभीले काम नगर्दा सडकको बेहाल भएको छ ।

दुई कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी संयुक्त रूपमा ५ अगस्ट २०१९ मा ७० करोड ३९ लाख २९ हजार ३५५ रुपैयाँमा ठेक्का लिएका थिए । तर, ५ वर्ष बित्न लाग्दा पनि सडक निर्माणको प्रगति भने ५४ प्रतिशत मात्रै रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको झापाको दमकमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)ले जनाएको छ ।

khursane road (1)

कार्यालयका प्रमुख शालिग्राम देवकोटाले दिएको जानकारी अनुसार एउटै प्याकेजमा उक्त सडकसँगै लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोड निर्माण गर्नुपर्ने थियो । तर, दुवै सडकको प्रगति चित्तबुझ्दो नभएका कारण आगामी असार ३ (जुन १७) तारिखमा अन्तिम बैठक डाकिएको देवकोटाले जनाएका छन् ।

‘खोर्साने–केराबारी–सिंहदेवी रोड’ १३.६१५ किलोमिटर हो भने लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोड १७.१५ किलोमिटर हो । लक्ष्मीमार्ग अमाही रोड हालसम्म १० किलोमिटर पिच भएको छ । खोर्साने–केराबारी–सिंहदेवी रोड भने सडकमा स्ट्रक्चरको सामान्य काम भएको देवकोटाले बताए ।

khursane road (2)

‘त्यहाँ भने साइट सफा गर्ने र डे«न निर्माणको मात्रै काम भएको छ,’ उनले भने, ‘दुवै सडकको ५४ प्रतिशत निर्माण सकिएको छ । भुक्तानी भने ४५ प्रतिशत भइसकेको छ ।’

उक्त प्याकेजमा म्याद थप लगायतका धेरै समस्या रहेको देवकोटाले बताए । एसियाली विकास बैंकको ऋण सहयोगमा बनेको उक्त सडकको अनुगमन स्वयं एडीबीले पनि गरिरहेको छ । ‘यसको ठेक्का के गर्ने भन्ने विषयमा अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालयमा मिटिङ भएर आगामी १७ तारिखमा हामीलाई समेत राखेर एडीबीसँग अन्तिम मिटिङ तय भएको छ । आयोजनाको केन्द्रीय कार्यालयमा हुने मिटिङले केही निष्कर्ष निकाल्छ,’ देवकोटाले भने ।

khursane road (3)

भुक्तानीका कारण निर्माण कार्य ढिला नभएको देवकोटाले बताए । हालसम्म निर्माण कम्पनीले १२ करोड पेस्की लिएको छ । जसमध्ये ४ करोडको बिल फर्स्यौट भइसकेको र ८ करोडको बाँकी रहेको देवकोटाले जानकारी दिए ।

‘म्याद थप धेरै भइसक्यो । म्याद थपको कारणले पनि उसले बिल पेस गर्न सकेको छैन । हर्जाना लाग्ने भएकाले उसले बिल पेस गर्न नसकेको हो,’ उनले भने, ‘सार्वजनिक खरिद ऐनको १२ औँ संशोधनले हर्जाना लाग्ने भनेको थियो । अहिले १३ औँ संशोधनमा त्यो विषय उल्लेख नभए पनि म्याद थप गर्न नसकिने अवस्था छ ।’

khursane road (4)

ठेकेदार कम्पनीले गरेको कामको आधारमा बिल पेस भए ८ करोड हाराहारी नै हुने उनको आकलन छ ।

उनले काम सुस्त भए पनि नरोकिएको बताए । ‘काम सुस्त भएको हो । रोकिएको होइन । ठेक्का तोडेर मूल्याङ्कन गरेर उसले पाउने बिलको पैसा पाउँछ । तर, नयाँ काम गर्नका लागि उसले ब्याज हर्जानासहित २५ प्रतिशत थप बेहोर्नुपर्ने हुनसक्छ,’ देवकोटाले भने ।

khursane road (5)

उता, सो क्षेत्रका प्रदेश सांसद खड्ग बस्नेतले निर्माण कम्पनीले ठेक्कामा लिएर सडक निर्माणमा चरम लापरबाही गरेको बताए । ‘यो सडकको बिजोग छ । हामीले कति ठाउँ धाउनु, कसैले राम्रो रेस्पोन्स गरिरहेको छैन,’ खड्काले भने ।

कान्छाराम कन्स्ट्रक्सनका मालिक नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ हुन् ।

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पनि सडक निर्माणको ठेक्का पाएको कान्छाराम कन्स्ट्रक्सनले लापरबाही गरेको बताए । ‘तीन वर्ष अगाडि सक्नु पर्ने काम अहिलेसम्म भएको छैन । पूरै लापरबाही भएको छ । यो विषयमा हामीले सिंहदरबार, सडक विभाग, मन्त्रालय धेरै धायौँ । तर, काम अगाडि बढेन,’ उनले गुनासो गरे ।

khursane road (6)

उता, पेटी ठेक्कामा लिएका इटहरीका भीम पौडेलले आफूले काम गरेको ६ करोडभन्दा बढी भुक्तानी नपाएको गुनासो गरे । ‘अहिले मैले उक्त काम छोडिसकेँ । पेमेन्ट नपाएपछि काम गर्नुको अर्थ पनि भएन,’ उनले भने ।

पूर्व सांसद उपेन्द्र घिमिरेले पनि आफ्नो पालामा सुरु भएको सडक निर्माणको काम अहिले अलपत्र पर्दा दुःख लागेको बताए । ‘सांसद नै ठेकेदार भएका छन् । काम गर्दैनन् । जबाफदेही कसलाई बनाउने हो ?,’ उनले भने ।

कान्छाराम कन्स्ट्रक्सनका मालिक नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ हुन् । ‘आफूले ठेक्कामा लिएको विकास निर्माणको काम गर्न नसक्ने सांसदले देशको विकास कसरी गर्लान्,’ केराबारी–२ जेफालेका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले भने, ‘यो सडक निर्माण भए उत्तरी मोरङ सिंहदेवी धेरै लाभान्वित हुने थियो ।’

khursane road (7)

मोरङको दुर्गम क्षेत्रमा पर्ने सिंहदेवी पर्यटकीय क्षेत्र पनि हो । पर्यटकीय क्षेत्रको विकासका लागि उक्त सडक निर्माण अनिवार्य भएको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्का बताउँछन् ।

स्थानीय बिनादेवी राईले आन्तरिक पर्यटकहरू जेफाले आउन चाहे पनि बाटोको समस्याकै कारण बिचैबाट फर्किरहेको बताइन् । ‘तराईबाट चिसो हावा खान र रमाउन आउनेहरू बाटोबाटै फर्कियौँ है भन्छन् । हामीलाई दुःख लाग्छ,’ उनले भनिन्, ‘यो सडक बनेदेखि यहाँको विकास हुने थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया