राप्रपा प्रदेशसभा सदस्यलाई प्रशिक्षण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना प्रदेशसभा सदस्यका लागि आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षणमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनोट, बजेट, कानुनी एवं संवैधानिक विषयहरूमा प्रशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रमको पहिलो दिन पार्टीका वरिष्ठ नेता ध्रुवबहादुर प्रधानले प्रशिक्षणको उद्घाटन गर्दै राजनीतिक वृत्तिविकासका लागि र सांसदहरूको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वार्ता बारेमा प्रशिक्षण दिए । त्यस्तै वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले नेपालको संविधान र सङ्घीयताले पार्ने असरका विषयमा प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षित गरे ।
त्यस्तै पार्टीका नेता, सदस्य र सांसदहरूले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठले प्रशिक्षण सञ्चालन गरे । प्रशिक्षणको दोस्रो दिन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सैद्धान्तिक रूपमा राप्रपा सङ्घीयताको विरोधमा रहेपनि यही संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा प्रशिक्षण र निर्देशन दिए ।
प्रशिक्षणका क्रममा पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका शीर्षकमा प्रशिक्षण दिए । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वृत्तिविकास र नेतृत्व विषयमा र पूर्वसचिव राजीव गौतमले प्रदेशसभा सञ्चालन, विधि निर्माण र सदस्यहरुको भूमिकामा र अर्का पूर्वसचिव केवलप्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा सांसदलाई प्रशिक्षित गरे ।
प्रशिक्षणको तेस्रो दिन राप्रपाका मुख्यसचिवसमेत रहेका पूर्वसचिव केदारबहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापनः सम्भावना र चुनौतीका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सदस्य सहभागी थिए । सातै प्रदेशमा गरी राप्रपाका २८ जना प्रदेशसभा सदस्य छन् ।
समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षाअनुरुप योजना छनोट, विकास निर्माणमा सक्रिय हुन सांसदलाई निर्देशन दिए । उनले विगतमा अनेकन जोखिम उठाउँदै पार्टीलाई आजको अवस्थासम्म ल्याइएको र अझै राजनीतिक कार्यभार बककाकी रहेकाले पार्टीको सङ्गठन निर्माणमा जुट्न सांसदलाई अनुरोध गरे ।
पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले झिनामसिना कुरालाई बेवास्ता गरेर राप्रपालाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति बनाउन आफ्नो ठाउँमा अहोरात्र खट्न प्रशिक्षार्थीलाई अनुरोध गरे । सहभागी प्रशिक्षार्थी सांसदलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र पनि प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
-
भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
-
सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य