१० बजे, १० समाचार
आज २०८१ जेठ २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । मंगलबार साँझ राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन जेनेभा प्रस्थान गरेका हुन् ।
- उपेन्द्रको प्रतिवेदन
अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालको राजनीतिमा जरो गाडिएका सामन्तवादी, पुँजीवादी र साम्यवादी शक्तिहरूको विकल्पमा समाजवादी लोकतान्त्रिक धारको सबल र सक्षम क्रान्तिकारी समाजवादी शक्ति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
- बजेट बहस
आर्थिक सङ्कुचनबाट माथि उठ्ने सरकारी योजनाको अपेक्षा गरेर बसेको निजी क्षेत्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै निराश बनेका छन् । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमार्फत लिएको नीतिका कारण आधा दर्जनभन्दा बढी औद्योगिक तथा व्यावसायिक क्षेत्र निराश बनेको हो ।
- स्वास्थ्य जोखिम
मनसुन अर्थात् बर्खा याम सुरु भएसँगै मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । बर्खाको समय दूषित पानी र खानाका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् ।
- न्यायालय
सर्वोच्च अदालतको दुई न्यायाधीश संलग्न (संयुक्त) इजलासले पछिल्लो हप्ता लगातार दुई मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गर्यो । एउटा मुद्दामा बहस सुरु भएपछि र अर्को मुद्दामा दुई दिन बहसपछि सुनुवाइकै क्रममा गम्भीर संवैधानिक व्याख्याको विषय भएको भन्दै ती मुद्दा तीन न्यायाधीशको पूर्ण इजलासमा पठाएको हो ।
- माधव–झलनाथको सम्बन्ध
नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन मिति नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच मतभेद बढ्दै गएको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा नीति र नेतृत्वलाई लिएर दुई शीर्ष नेताबिच मतभेद बढेको हो ।
- अड्कियो नियुक्ति
मन्त्रिपरिषद्ले गरेको नियुक्ति कम्तीमा तीन दिनसम्म परिपक्व हुनका लागि राख्ने गरिन्छ । उक्त नियुक्ति सम्बन्धी निर्णयहरू परिपक्व भएपछि सरकारका प्रवक्तामार्फत पत्रकार सम्मेलन गरेर जानकारी दिइन्छ । यही प्रक्रिया अन्तर्गत जेठ २५ गते मन्त्रीपरिषदले १३ बुँदे निर्णय गरेको कुरा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् । ती निर्णयमध्ये एक निर्णय थियो, अशोक राई नेतृत्वको जसपाको सिफारिसमा राष्ट्रिय योजना आयोगमा एक सदस्य सिफारिस ।
- १५ करोड ठगी
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् ।
- क्रिकेट क्रेज
डेढ दशक यता काठमाडौँको भोटाहिटीमा खेलकुद सामग्री बेच्दै आएका सिन्धुपाल्चोकका दीपक भुजेल हिसाबकिताबमा मस्त देखिन्छन् । आफ्नो पसलमार्फत भइरहेको खेल सामग्रीको बिक्री वितरणको हिसाब राख्न तथा बिल काट्दै पैसा साट्न उनी व्यस्त देखिएका हुन् ।
- गण्डकी विवाद
माओवादी केन्द्रको निर्वाचन चिह्न लिएर निर्वाचित भएका गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले सोमबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएपछि उनको पद के हुन्छ भन्ने विवाद सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई