शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
बजेट

बागमतीको बजेट असार १ गते संसद्‍मा प्रस्तुत हुने

मङ्गलबार, २९ जेठ २०८१, २० : ५९
मङ्गलबार, २९ जेठ २०८१

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट सार्वजनिकीकरणका लागि असार १ गते ४ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको सभामुख पाठकको भनाई छ । बजेट प्रस्तुत भए लगत्तै संसद्मा सरकारको आगामी आर्थिक वर्षको अर्थ सम्बन्धी विधेयक पेश हुने र केही दिनपछि बस्ने प्रदेशसभाको बैठकमा उक्त विधेयक माथि सांसदहरूले छलफल सहित संशोधन राख्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । संसद् विकास कोष खारेज भएपछि बजेटमा सन्तुलन कायम गर्न सरकारले प्रत्येक सांसदहरूको ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । उक्त बजेट संसद्को बैठकबाट सार्वजनिक गर्ने तयारी अनुसार असार १ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

त्यसअघि प्रदेशसभा बैठक आगामी जेठ ३२ गते पनि बस्दैछ । जेठ ३२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत हुने कार्यक्रम रहेको सभामुख पाठकले बताए ।

सभामुख पाठकका अनुसार प्रदेशसभा बैठक अघि दिउँसो १२ बजे कार्यव्यवस्था समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले प्रदेशसभाको बैठक तथा प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने कार्यसूची तयार गर्ने सभामुख पाठकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप