मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

सत्ता बार्गेनिङमा नेपालको देउवा कार्ड

मङ्गलबार, २९ जेठ २०८१, १९ : ५३
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको दुरी घटाएका छैनन् । गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसहित नयाँ सत्ता समीकरण बनाउँदा अध्यक्ष नेपालले सुइँको समेत पाएनन् ।

कांग्रेसको गठबन्धनमा समेत सामेल रहेको जनता समाजवादी पार्टीमात्र बोकेर प्रधानमन्त्री प्रचण्ड एमाले कित्तामा पुगेका थिए । एकीकृत समाजवादीलाई सत्ता समीकरणमा सामेल नगराइ मधेसमा सरकार नजोगिने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवमा अलमल देखियो । एमालेसहितको नयाँ सत्ता समीकरण निर्माणमा हस्ताक्षर गरेका यादवले मन्त्री पठाउन आनाकानी गरेपछि माधव नेपालको महत्त्व महसुस भएको थियो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पालै—पालो अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

आफूहरूसँग परामर्श नगरी गठबन्धन फेरेर प्रचण्डले गरेको ‘बेइमानी’ र ओलीसँगको विगतको तुष बिर्सिएर नेपाल सत्ता समीकरणमा सामेल भए । यादवको अलमलले नयाँ सत्ता समीकरण टिकाउन कठिन हुने देखिएपछि नेपालको ‘अस्वाभाविक बार्गेनिङ’ मान्न प्रचण्ड र ओली बाध्य भए । तर, प्रदेश सरकार निर्माण र राजनीतिक नियुक्तिमा नेपालसँगको पूर्वसहमति कार्यान्वयनमा प्रचण्ड र ओलीले उदासीनता देखाए ।

सातै प्रदेशमा नेतृत्वविहीन हुने अवस्था आएपछि नेपालले सुदूरपश्चिममा कांग्रेससहितको वैकल्पिक गठबन्धनलाई साथ दिएर केन्द्रमा प्रचण्ड र ओलीलाई चुनौती दिए । प्रचण्ड र ओलीले नागरिक उन्मुक्तिको रञ्जिता श्रेष्ठ पक्षलाई सुदूरपश्चिम प्रदेशको नेतृत्व सुम्पिएपछि देउवा र नेपालले नागरिक उन्मुक्ति पार्टीकै रेशम चौधरी पक्षलाई अगाडि बढाए । दलको सांसदको बहुमत सङ्ख्या कांग्रेस, एकीकृत समाजवादी र नाउपाको रेशम पक्षसँग भए पनि प्रदेश प्रमुखले पार्टीको दुई जनाको आएको भन्दै दुवै दाबी बदर गरिदिए ।

माधवको ‘सुदूर मुभ’ले सत्ता गठबन्धन नै धरापमा पर्ने देखेपछि प्रचण्ड र ओली सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिन बाध्य भए । तर, वैशाख  ५ गते साँझ कांग्रेस सभापतिलाई भेट्न नेपाल पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटार पुगे । सुदूरपश्चिम सरकारमा कांग्रेसको साथ खोज्न माधव त्यहाँ पुगेका थिए । गठबन्धनबाट सुदूरपश्चिममा मुख्यमन्त्रीको भाग एकीकृत समाजवादीलाई परेको थियो ।

एमाले कुनै पनि हालतमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार थिएन । सोडारीको ठाउँमा अर्को व्यक्ति अघि सार्नुपर्ने एमाले अडानले गर्दा सङ्कटमा परेपछि कांग्रेसको साथ खोज्न नेपाल गोल्फुटार पुगेका थिए । एमालेले सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार नभए कांग्रेसले साथ दिने देउवाको प्रतिवद्धता थियो । कांग्रेसलाई देखाएर एकीकृत समाजवादीका अध्यक्ष नेपालले तर्साएपछि वैशाख ६ मा एमाले अन्ततः सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार भयो ।

सोडारीलाई विश्वासको मत दिने विषयमा एमालेले फेरि बखेडा झिक्यो । वैशाख ६ मा मुख्यमन्त्री भएका सोडारीले जेठ ३ सम्म विश्वासको मत लिने परिस्थिति बन्न सकेन । कांग्रेस र एकीकृत समाजवादीका नेताहरूबिच सुदूरपश्चिम सरकारबारे संवाद सुरु भएपछि जेठ ३ मा विश्वासको मत दिन एमाले तयार भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीमाथि दबाब बढाउन कांग्रेससँगको उठबस अध्यक्ष नेपाललाई उपयोगी सिद्ध भएको छ । वर्तमान सत्ता समीकरणमा मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आफ्नो निर्णायक उपस्थितिलाई नेपालले भरपुर प्रयोग गरिरहेको देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रदेखि प्रदेशसम्म सत्ता गठबन्धनको विपक्षमा उभिएपछि बागमती प्रदेश सरकारमा पनि एकीकृत समाजवादी निर्णायक बन्न पुग्यो । बागमतीमा आफ्नो सरकार जोगाउन पनि सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिन माओवादी बाध्य भयो ।

राप्रपा कांग्रेसको कित्तामा उभिँदा सोमबार गण्डकी प्रदेशमा कांग्रेस सरकारले विश्वासको मत पाएको छ । एकीकृत समाजवादीले साथ छोड्दा केन्द्रीय सत्ता टिकाउन कठिन नभए पनि चार प्रदेश वर्तमान सत्ता गठबन्धनको हातबाट फुत्किने संसदीय गणितले देखाउँछ ।

मधेससहित विभिन्न प्रदेश सरकारबारे जेठ १६ मा देउवाको निवासमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादीबिच संवाद भएको थियो । सत्तारुढ एकीकृत समाजवादीलाई साथमा लिन सक्दा मधेसमा वैकल्पिक गठबन्धनको सरकार बन्ने देखिएपछि कांग्रेसले अग्रसरता लिएको थियो । मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको तत्कालीन सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिए पनि एकीकृत समाजवादीको कायमै थियो ।

यादव नेतृत्वको तत्कालीन सरकारबाट फिर्ता नभएका बेला नेपाल विपक्षीको बैठकमा पुग्नु अर्थपूर्ण पनि देखिन्थ्यो । एकीकृत समाजवादीले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरण बाहिर उभिने सङ्केत गरेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भयो ।

अध्यक्ष नेपालको रणनीतिले एकीकृत समाजवादीमा पनि हलचल ल्यायो । पार्टीका सम्मानित नेता झलनाथ खनालले केन्द्रको सत्ता गठबन्धनभन्दा बाहिर जान नहुने पक्षमा अडानमात्र लिएनन्, प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष नेपालको लाइनमा पार्टी नजाने विश्वाससमेत दिलाए ।

यता प्रधानमन्त्री प्रचण्ड र ओलीले पनि जेठ १७ मा अध्यक्ष नेपालसँग भेटवार्ता अगाडि बढाए । पार्टीबाट निर्णय गराएर मधेसमा केन्द्रीय सत्ता समीकरणभन्दा भिन्न उभिने बचन दिए पनि प्रचण्ड र ओलीसँगको तारन्तारको छलफलपछि नेपाल ‘ब्याक’ भए ।

जेठ २२ मा एकीकृत समाजवादीले साथ छाडेपछि २३ मा मुख्यमन्त्री यादवले विश्वासको मत पाउन सकेनन् । देउवा निवासमा विपक्षी नेताहरूलाई दिएको बचनबाट अध्यक्ष नेपाल टिक्न नसक्दा मधेसमा केन्द्रीय सत्ता समीकरण अनुसार नै जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री बनेका छन् ।

नेपालले देउवा देखाएर प्रचण्ड र ओलीलाई तर्साउँदा सुदूरपश्चिम प्रदेश सरकारले भने पूर्णता पाएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीलाई माओवादी र एमालेको समर्थन रहे पनि ती दुवै दल सरकारमा सहभागी थिएनन् ।

मुख्यमन्त्री नियुक्त भएको ५२ दिनपछि सोडारीले सोमबार पाँच विनाविभागीय सहित सात जनालाई मन्त्री बनाएर मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । अध्यक्ष नेपालको ‘देउवा कार्ड’ले मुख्यमन्त्री सोडारीको सरकारमा सहभागी हुन आनाकानी गरिरहेका माओवादी र एमाले मन्त्री पठाउन बाध्य भएको देखिन्छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले माधवको रणनीतिलाई पार्टीले स्वाभाविक रूपमै लिएको बताए । ‘सबैभन्दा कमजोर शक्तिका रुपमा एकीकृत समाजवादी छ । उहाँ (माधव नेपाल)लाई अस्तित्वको सङ्कट छ । स्वयं झलनाथ खनालले पनि थे्रट गरिराख्नु भएको छ । त्यसैले उहाँ (माधव नेपाल)ले दुवै समीकरणका शीर्ष नेताहरूसँग संवाद जारी राख्नु भएको छ । स्ट्रेन्थभन्दा पनि सस्टेन गर्नेमा लागिपर्नु भएको छ । सस्टेन गर्ने खोज्दा मानिस ढलमल देखिन्छ, त्यो स्वाभाविक हो,’ उनले भने ।

माधवको रणनीतिले कांग्रेसलाई क्षति नभएको आफूहरूको बुझाइ रहेको विश्वकर्माले सुनाए । ‘उहाँले आफूलाई दुवैतर्फ सन्तुलन मिलाएर जाँदा फाइदा हुने रणनीति अपनाइराख्नु भएको छ । उहाँलाई प्रधानमन्त्री बनाउने गरी हामीले अर्को समीकरणमा छलफल चलाइराखेका छौँ,’ उनले भने, ‘अहिले विकल्पमा जानु सक्नु भएन । विकल्पमा जान नसकेकालाई पनि हामीले स्वाभाविक रुपमा लिएका छौँ ।’

तत्काल सरकार छोड्दा पार्टीमा नोक्सान हुने भएकाले अध्यक्ष नेपाल वैकल्पिक गठबन्धन बनाउने कुरामा रोकिएको विश्वकर्माको भनाइ छ । ‘सरकारमा भएर पनि हामीसँग एजेण्डागत सहकार्य गरिराख्नु भएको छ । संसदमा बजेटको विरोध गर्नु भएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको पक्षमा उभिनु भएको थियो,’ उनले भने ।

माधव नेपालले फकाउने र थर्काउने दुवै रणनीति उपयोग गरिरहेको विश्वकर्माको भनाइ छ । ‘देउवाजीसँगको वार्ता देखाएर गठबन्धनमा थर्काएर केही लिने र यतातिर देउवाजीलाई फकाएर पछि हामी विकल्पमा जान सक्छौँ, सँगै हुन सक्छौँ भन्ने आशय व्यक्त गरिराखेको देखिन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?