बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

टी–२० विश्वकप : जित्नै पर्ने दबाबबिच पहिलो पटक श्रीलंकाविरुद्ध ओर्लँदै नेपाल

कस्तो छ सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियमको पिच ?
मङ्गलबार, २९ जेठ २०८१, १६ : ०२
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार, बिहान ५ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ । 

त्यो समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेश पनि छन् । त्यो समूहमा हालसम्म पाँच खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । 

यसैगरी तेस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहको पाँचौँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा टेस्ट राष्ट्र श्रीलंका आठौँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो आईसीसी वरीयताको १७औँ स्थानमा रहेको छ । 

nepali cricket

  • अङ्क तालिकाको समीकरण

समूह ‘डी’ मा हालसम्म नेपालले एक खेलमात्र खेलेको छ । बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकाले भने दुई–दुई खेल खेलेका छन् । दक्षिण अफ्रिकाले तीन खेल खेलिसकेको छ । तीन खेलबाट ६ अङ्क बटुलेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा आसीन छ । 

दुई खेलबाट दुई अङ्क बटुलेको बंगलादेश दोस्रो स्थानमा आसीन छ । दुई खेलबाट दुई अङ्क हात पारेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका नेपाल र श्रीलंकाले भने हालसम्म खाता खोल्न सकेका छैनन् । 

sri lanka 3

लगातार दुई हारसँगै श्रीलंकाको अगाडि बढ्न सम्भावना निकै कम भइसकेको छ । नेपालको भने सुपर–८ चरणमा पुग्ने सम्भावना अझै पनि कायमै छ । त्यसैले बुधबार बिहान खेलिने श्रीलंकाविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । 

त्यो खेलमा विजयी भए नेपालेले आफूलाई सुपर–८ को दौडमा कायम राख्नेछ । तर, त्यो खेलमा श्रीलंकासँग पराजित भए नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कमजोर बन्नेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली सुपर–८ चरणमा पुग्ने प्रावधान रहेको छ । 

  • नेपालको दोस्रो सहभागिता

आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो । 

nepali cricket team 2

आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै ‘सुपर–१०’ चरणमा पुगेका थिए । पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका बंगलादेश र जिम्बाबेले छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्यसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, यूएई र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए । नेपालसँगै यूएई र हङ्कङका लागि पनि त्यो पहिलो विश्वकप सहभागिता थियो । 

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । दुवै समूहबाट एक–एक टोली ‘सुपर–१०’ चरणमा पुग्ने प्रावधान थियो । 

Nepal.jpg

नेपालले पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । 

समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अङ्क थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर–१०’ चरणमा पुगेको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । 

यसपटक पनि नेपाली टोली छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । नेपाल एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा ओमान विजेता र नेपाल उपविजेता बन्दै विश्वकपमा पुगेका हुन् । 

  • श्रीलंकाको नवौँ सहभागिता

टेस्ट राष्ट्र श्रीलंकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा श्रीलंकाको यो नवौँ सहभागिता हो । श्रीलंकाले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि चुमेको छ । 

sri lanka 1

श्रीलंकाले सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाली टोलीले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । यसदेखि वाहेक पनि श्रीलंकाली टोली दुईपटक टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।

सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा श्रीलंका फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकालाई पाकिस्तानले आठ विकेटले हराएको थियो । त्यसपछि सन् २०१२ मा पनि फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकालाई वेस्ट इन्डिजले ३६ रनले हराएको थियो ।

श्रीलंकाली टोली अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ विश्वकपमा छनोट भएको हो । सन् २०२२ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आठौँ स्थानसम्म रहेका राष्ट्रले सिधै नवौँ संस्करणमा प्रवेश पाउने प्रावधान रहेको थियो । 

  • टी–२० विश्वकपमा नेपालको पाँचौँ खेल 

आईसीसी टी–२० विश्वकपमा नेपालले हालसम्म चार खेल खेलिसकेको छ । बुधबार बिहान खेलिने श्रीलंकाविरुद्धको खेल टी–२० विश्वकपमा नेपालका लागि पाँचौँ खेल हुनेछ । नेपालले हालसम्म खेलेका चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । 

sri lanka 2

  • टी–२० विश्वकपमा सर्वाधिक खेल खेल्ने श्रीलंका

टी–२० विश्वकप क्रिकेटमा सबैभन्दा बढी खेल खेल्ने राष्ट्र हो, श्रीलंका । श्रीलंकाले टी–२० विश्वकपमा ५३ खेल खेलेको छ । अन्य कुनै टोलीले यति धेरै खेल खेलेको छैन । श्रीलंकाले टी–२० विश्वकपमा ३१ खेल जितेको छ भने २१ खेलमा हार बेहोरेको छ । श्रीलंकाको एक खेल भने बराबरीमा सकिएको छ ।

  • एक–अर्काका लागि नयाँ प्रतिद्वन्द्वी 

आईसीसीको एसोसिएट्स सदस्य राष्ट्र नेपाल र टेस्ट राष्ट्र श्रीलंकाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म आपसमा एक खेल पनि खेलेका छैनन् । यी दुई टोली टी–२० विश्वकपअन्तर्गत बुधबार बिहान हुने खेलमा एक–अर्काविरुद्ध पहिलो पटक मैदानमा ओर्लने छन् । 

  • पछिल्लो पाँच खेलमा नेपाल

नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको पछिल्ला पाँच खेलमा दुई जित र तीन हारको नतिजा निकालेको छ । त्यसमध्ये पनि नेपाली टोली पछिल्ला तीन खेलमा लगातार पराजित हुँदै आएको छ । 

सन् २०२४ को अप्रिल १५तारिखमा खेलिएको एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेको थियो । त्यसपछि अप्रिल १७ तारिखमा खेलिएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको थियो । 

kushal

प्रिमियर कपअन्तर्गत नै अप्रिल १९ तारिखमा खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६ विकेटले पराजित भएको थियो । प्रिमियर कपअन्तर्गत अप्रिल २० तारिखमा खेलिएको खेलमा पनि नेपाली टोली हङ्कङसँग चार विकेटले हारेको थियो । 

यसैगरी जुन ४ तारिखमा अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा खेलिएको आफ्नो पछिल्लो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यो खेल नवौँ टी–२० विश्वकपकै क्रममा खेलिएको थियो । 

  • पछिल्लो पाँच खेलमा श्रीलंका

आफूले खेलेको पछिल्लो पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलमा श्रीलंकाको अवस्था पनि नेपालको भन्दा फरक छैन । श्रीलंकाली टोली पनि आफूले खेलेको पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । 

sl

सन् २०२४ को मार्च ४ तारिखमा खेलिएको टी–२० अनतर्राष्ट्रिय खेलमा श्रीलंकाले अर्को टेस्ट राष्ट्र बंगलादेशमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । मार्च ६ तारिखमा खेलिएको खेलमा भने बंगलादेशले श्रीलंकालाई आठ विकेटले हराएको थियो ।

यसैगरी मार्च ९ तारिखमा खेलिएको खेलमा श्रीलंकाले बंगलादेशलाई २८ रनले हराएको थियो । श्रीलंकाले पछिल्लो दुई खेल भने नवौँ विश्वकपकै क्रममा खेलेको हो । श्रीलंकाली टोली जुन ३ मा खेलिएको खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले र जुन ७ मा खेलिएको खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । 

monti desai

  • औपचारिक अभ्यास खेलमा नेपाल 

आईसीसी टी–२० विश्वकप सुरु हुनुअघि आईसीसीले सहभागी २० वटै टोलीका लागि दुई–दुईवटा अभ्यास खेलको ब्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेल क्यानडासँग खेलेको थियो । त्यो खेलमा क्यानडाले नेपाललाई ६३ रनले हराएको थियो । 

त्यो खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । नेपालका बलरहरु प्रभावकारी देखिएका थिएनन् । क्यानडाका लागि निकोलस किर्तनले सर्वाधिक ५१ रन बनाएका थिए । 

nepali cricket 2

रविन्द्रपाल सिंहले ४१ र नवनित धालिवालले ३२ रन जोडेका थिए । नेपाली टोलीका बलर अविनाश बोहराले दुई तथा करण केसी, सोमपाल कामी, गुलसन झा, ललित राजवंशी र सागर ढकालले एक–एक विकेट हात पारेका थिए । 

नेपालका लागि भने कुशल मल्लले ३७ रन बनाएका थिए । अनिल साहले २४ र आसिफ शेखले २२ रन बटुलेका थिए । उक्त खेलमा नेपाली ब्याट्सम्यानको प्रदर्शन पनि निराशाजनक थियो । ओपनर कुशल भुर्तेलको प्रदर्शन यो खेलमा पनि गतिलो रहेन । उनी १० रन बनाउँदै आउट भएका थिए । 

क्यानडाका बलर डिल्लन हेलिगर एक्लैले चार विकेट लिएका थिए । जेरेमी गोर्डन र साद बिन जाफरले पनि दुई–दुई विकेट हात पारेका थिए । विश्वकपअघि नेपाल र अमेरिकाबिच दोस्रो अभ्यास खेल खेलिने कार्यक्रम थियो । तर, वर्षाका कारण त्यो खेल रद्द भएको थियो । 

  • औपचारिक अभ्यास खेलमा श्रीलंका 

टी–२० विश्वकप सुरु हुनुअघि श्रीलंकाले आफ्नो पहिलो अभ्यास खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकाली टोली नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । 

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने १९ ओभरमै अलआउट हुनुअघि एक सय ६१ रनमात्र बनाउन सकेको थियो । 

त्यो खेलमा श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगाले ३९ रन बनाएका थिए । धनन्जय डा सिल्भाले पनि ३६ रन जोडेका थिए । दासुन सानकाले ३५ रन बटुलेका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक थिएन ।

sl

श्रीलंकाली टोलीका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अङ्कमा पनि रन बनाउन सकेका थिएनन् । त्यो खेलमा श्रीलंकाली टोलीका बलर दिल्सान मदुसानकाले दुई तथा नुवान थुसरा, दुनिथ वेलालागे र कामिन्दु मेन्डिसले एक–एक विकेट लिएका थिए ।

यसैगरी दोस्रो औपचारिक अभ्यास खेलमा भने श्रीलंकाले आयरल्यान्डलाई ४१ रनले हराएको थियो । श्रीलंकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफमा आयरल्यान्डले १८.२ ओभरमा अलआउट हुनुअघि एक सय २२ रनमात्र बनाउन सकेको थियो ।

त्यो खेलमा श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले ३२ रन र कप्तान वानिन्दु हसरंगाले २६ रन बनाएका थिए । दुसान सानकाले पनि २३ रन जोडेका थिए । दोस्रो खेलमा पनि श्रीलंकाली टोलीका माथिल्लो क्रमका ब्याट्सन निरीह देखिएका थिए । 

ओपनर पाथुम निसानका २२ र कुशल मेन्डिस १३ रनमा आउट भएका थिए । त्यो खेलमा श्रीलंकाली टोलीका बलर दुसान सानकाले चार तथा वानिन्दु हसरंगा र महिस थिक्सनाले दुई–दुई विकेट लिएका थिए । माथिसा पाथिराना र दुसमन्था चामिराले पनि एक–एक विकेट हात पारेका थिए ।

  • विश्वकपको अघिल्लो खेलमा नेपालको प्रदर्शन

जारी विश्वकपमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । त्यो खेलमा खासगरी नेपालले ब्याटिङ र फिल्डिङमा निराशाजनक प्रदर्शन गरेको थियो ।

anil shah

नेदरल्यान्ड्सविरुद्ध नेपालको बलिङ भने सन्तोषजनक नै देखिएको थियो । नेपालका माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर कुशल भुर्तेल सात, आसिफ शेख चार र अनिल साह ११ रनमा आउट भएका थिए । 

चौथो नम्बरका ब्याट्सम्यान कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए । यसदेखि बाहेक करण केसीले १७ र गुलसन झाले १४ रन बनाएका थिए । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् । 

नेपालका कुनै पनि ब्याट्सम्यानले धैर्यतापूर्वक ब्याटिङ गर्न सकेनन् । नेपाली टोलीका सात ब्याट्सम्यान त हावामा अनावश्यक सट खेल्ने क्रममा क्याच आउट भएर पेभेलियन फर्किएका थिए । कप्तान रोहित बाहेक नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । 

नेपालका विकेटकिपर ब्याट्सम्यान असिफ शेख, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी र अविनाष बोहरा क्याच आउट भएर मैदानबाट बाहिरिएका थिए । कुशल भुर्तेले एलबीडब्लूको धरापमा परेका थिए भने सोमपाल कामी र गुलसन झा बोल्ड भएका थिए । त्यो खेलमा नेपाली ब्याट्सम्यान केही बढी रन बनाउन सकेको भए जितको ठोस आधार तयार हुन सक्थ्यो ।

यसैगरी फिल्डिङमा पनि नेपालको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । नेपाली फिल्डरले खेलका क्रममा दुईवटा क्याच महत्त्वपूर्ण क्याच छाडेका थिए । यसका अतिरिक्त नेपालले एउटा रन आउटको गतिलो अवसर पनि खेर फालेको थियो ।

फिल्डिङका क्रममा यति धेरै गल्ती नभएको भए नेपालले खेल जित्ने सम्भावना पनि थियो । त्यसैले श्रीलंकाविरुद्धको खेलमा नेपालले यस्ता कमजोर नदोहोर्‍याउनेतर्फ ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ ।

  • प्रभावकारी नदेखिएको नेपालको ओपनिङ जोडी

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ओपनिङ जोडीको प्रदर्शन प्रभावकारी देखिएको छैन । जारी विश्वकपको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पनि यो क्रमले निरन्तरता पायो । त्यो खेलमा नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किए ।

ओपनिङ जोडीले गतिलो सुरुआत दिन नसकेपछि दबाबमा परेका अन्य ब्याट्सम्यान पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किने क्रम जारी रह्यो । ओपनिङ जोडीले डच टोलीविरुद्ध केवल १० रनको साझेदारी गरेको थियो । 

विश्वकपअघि खेलिएको क्यानडाविरुद्धको अभ्यास खेलमा पनि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । क्यानडाविरुद्धको उक्त खेलमा ओपनर कुशल भुर्तेल केवल १० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर आसिफ शेख पनि २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

विश्वकपमा बलिया प्रतिद्वन्द्वीहरुविरुद्ध टोलीलाई गतिलो सुरुआत दिन ओपनिङ जोडीले निखारिएको प्रदर्शन गर्नुको विकल्प देखिँदैन । विश्वकपअघि घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० शृंखलामा पनि नेपालको ओपनिङ जोडी खासै प्रभावकारी देखिएको थिएन ।

उक्त शृंखलाको नामिबियाविरुद्धको पहिलो खेलमा कुशल शून्य रनमा र आसिफ शेख ६ रनमै आउट भएका थिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा कुशल भुर्तेल शून्य रनमा र आसिफ शेख ३४ रनमा पेभेलियन फर्किएका थिए ।

नामिबियाविरुद्धको तेस्रो खेलमा भने ओपनरको भूमिकामा कुशल भुर्तेलको स्थानमा अनिल साह आएका थिए । त्यो खेलमा अनिल साह २३ रन बनाउँदै आउट भएका थिए भने आसिफ शेख एक रनको ब्यक्तिगत स्कोरमै क्रिजबाट बाहिरिएका थिए । नेदरल्यान्ड्सविरुद्धको चौथो खेलमा नेपालका ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख आठ रन बनाउँदै आउट भएका थिए । 

यसैगरी सन् २०२४ को अप्रिलमा ओमानमा खेलिएको एसीसी प्रिमियर कपमा पनि नेपाली ओपनरको भूमिका खासै प्रभावकारी देखिएको थिएन । प्रिमियर कपमा नेपाल चौथो भएको थियो । तेस्रो स्थानका लागि खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख पाँच रनमा आउट भएका थिए । 

त्यसअघि खेलिएको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा पनि नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख आठ रनमा पेभेलियन फर्किएका थिए ।सोही प्रतियोगिताको समूहगत चरणमा साउदी अरेबियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शून्य र आसिफ शेखले दुई रनमात्र बनाउन सकेका थिए ।

यसैगरी समूहगत चरणमै हङ्कङविरुद्धको खेलमा भने नेपालको ओपनिङ जोडीले निखारिएको प्रदर्शन गरेको थियो । त्यो खेलमा ओपनिङ जोडीले ७० रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३२ र आसिफ शेखले ४० रन बनाएका थिए । 

nepali cricket team

कतारविरुद्धको खेलमा पनि नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ४१ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेल भने १२ रनमा पेभेलियन फर्किएका थिए । एसीसी प्रिमियर कपको समूहगत चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा पनि नेपालको ओपनिङ जोडीको प्रदर्शन खासै प्रभावकारी थिएन । त्यो खेलमा ओपनिङ जोडीले ४४ रनको साझेदारी गरेको थियो । त्यो खेलमा ओपनर कुशल भुर्तेलले २४ र आसिफ शेखले ३२ रन बनाएका थिए । त्यसैले टी–२० विश्वकपको बुधबार विहान खेलिने श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपालको ओपनिङ जोडीमाथि धेरैको आँखा रहने छ ।

  • ब्याट्सम्यानलाई साथ दिने पिच

नेपाल र श्रीलंकाबिच बुधबारको खेल हुने अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । जारी विश्वकपमा उक्त स्टेडियममा खेल्न लागिएको यो नै पहिलो खेल हो । 

यो स्टेडियममा नेपाल र श्रीलंकाबिच खेल हुँदा पनि ठुलो स्कोर बन्न सक्ने अनुमान गरिएको छ । विश्वकप सुरु हुनुअघि यही स्टेडियममा श्रीलंका र नेदरल्यान्ड्सबिच औपचारिक अभ्यास खेल खेलिएको थियो । त्यो खेलमा दुवै टोलीले एक सय ५० भन्दा बढी रन बनाएका थिए ।

WhatsApp_Image_2024-04-27_at_16.47.35

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीले पनि १९ ओभरमा अलआउट हुनुअघि एक सय ६१ रन बनाएको थियो । त्यो खेलमा दुवै टोलीका ब्याट्सम्यानले आक्रामक शैलीमा रन बनाएका थिए । 

श्रीलंकाली टोलीले आफ्नो दोस्रो औपचारिक अभ्यास खेल पनि आयरल्यान्डसँग यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा श्रीलंकाले आठ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । आयरल्यान्ड भने १८.२ ओभरमा एक सय २२ रन बनाउँदै अलआउट भएको थियो । 

यसअघि दुईवटा अभ्यास खेल खेलिसकेकाले यो स्टेडियम श्रीलंकाली खेलाडीका लागि केही परिचित बनेको छ । तर, नेपाली खेलाडीका लागि भने यो स्टेडियम नितान्त नयाँ हो । सन् २०१० को मे २२ तारिखमा पनि यो स्टेडियममा श्रीलंका र न्युजिल्यान्डबिच टी–२० क्रिकेट खेलिएको थियो । 

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले बढी खेल जित्ने गरेका छन् । यो स्टेडियममा खेलिएको पछिल्ला १५ मध्ये ११ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा औसतमा एक सय ६० रन बन्ने गरेको छ । पहिलो पालीमा बन्ने औसत रन भने एक सय ६८ रहेको छ ।

sompal rohit

  • वर्षाले खेल बिथोल्न सक्ने

नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन । यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।  

  • नेपाल र श्रीलंकाको टोली

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी । 

श्रीलंकाली टोली : वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका, कुशल मेन्डिस, पाथुम निसानका, कामिन्दु मेन्डिस, सदिरा सामराबिक्रमा, एन्जेलो म्याथ्युज, दुसान सानका, धनन्जय डा सिल्भा, महिश थिक्सना, दुनिथ वेलालागे, दुसमन्था चामिरा, नुवान थुसरा, माथिसा पाथिराना र दिल्सान मदुसानका ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप