शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
सत्तामा स्वतन्त्र

यस्तै अवस्था भए ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन्छ : मनाङे

मङ्गलबार, २९ जेठ २०८१, १५ : १५
मङ्गलबार, २९ जेठ २०८१

पोखरा । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौँ पटक मन्त्री नियुक्त भए । अघिल्लो ३ पटक खेलकुद मन्त्री बनेका उनी अहिले भने लगातार तेस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् । 

उनी प्रदेशसभाको पहिलो कार्यकालमा डेढ वर्ष गरेर तीन पटक मन्त्री बने । अहिले ३ महिना नहुँदै तेस्रो पटक मन्त्री बनेका हुन् । मनाङे र गण्डकीको सत्ता राजनीति पर्यायवाची जस्तै भएको छ । प्रत्येक मुख्यमन्त्रीको क्याबिनेटमा उनी छुटेका छैनन् । त्यसैले प्रदेश संरचनाको ७ वर्षमा उनी ६ पटक मन्त्री भएका हुन् । सुरुमा एमालेका पृथ्वी सुब्बा गुरुङको क्याबिनेटबाट सरकारमा छिरेका उनी त्यसपछि बनेको कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा पनि सामेल भए ।

मनाङ प्रदेशसभा २ बाट दोस्रो कार्यकालमा सर्वसम्मत निर्वाचित भएका उनलाई सुरुको १ वर्ष खासै वास्ता गरिएन । कारण यो पटक उनको मतले सरकारलाई खासै असर गर्दैनथ्यो । अहिले सत्ताको अङ्कगणित यस्तो ठाउँमा आएर अड्किएको छ कि फेरि मनाङे नै सत्ता गठन र विघटनको निर्णायक भएका छन् । २०७७ सालमा तत्कालीन नेकपा टुक्रिएपछि सङ्कटमा परेको पृथ्वी सुब्बा गुरुङको सरकारलाई मन्त्री बनाउनुपर्ने सर्तसहित सघाए ।

उनको सरकार ढल्यो, २०७८ जेठ २९ गते नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार बनाउँदा पनि उनै मनाङे अनिवार्य भए । दोस्रो कार्यकालका लागि अघिल्लो वर्ष चुनाव भयो । मनाङे सर्वसम्मत निर्वाचित भएर संसदमा प्रवेश गरे । मन्त्री बन्ने लोभमा सुरुमै कमजोर दल (एकीकृत समाजवादी जो केन्द्रको सत्ता गठबन्धनमा भएपनि प्रदेशमा सांसदविहीन थियो) मा प्रवेश गरे । अध्यक्ष माधव नेपालले मनाङेलाई मन्त्री बनाउन कम जोड गरेका होइनन् ।

तर खगराज अधिकारीको पहिलो क्याविनेट र सुरेन्द्रराज पाण्डेको बहुमत छँदासम्म उनी मन्त्री हुन पाएनन्, कारण दुवैले मनाङेको आवश्यकता महसुस गरेनन् । पाण्डे जब अल्पमतमा परे उनले सत्ता जोगाउन मनाङेलाई अल्पमतमै रहेका बेला मन्त्री बनाएर रणनीति बुने । त्यति हुँदा पनि उनको सरकार जोगिएन । अधिकारीले दलका नेताहरूको हस्ताक्षर सहित ३१ जना गणना गरेर मुख्यमन्त्री दाबी गरे । प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री बनाइदिए ।

त्यतिबेला ३१ औं सङ्ख्या मनाङेकै थियो । उनी भौतिक मन्त्री दोहोरिए । अधिकारीले विश्वासको मत लिँदा ३१ पु¥याउन सकेनन् । ३० सिटलाई बहुमत घोषणा गरे पनि सर्वोच्चले उक्त प्रक्रिया खारेज गरिदियो र उपधारा (३) अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्तिको परमादेश जारी ग¥यो । पाण्डे जेठ १६ गते मुख्यमन्त्री बनेका हुन् । मनाङे सहितको मतमा उनले सोमबार विश्वासको मत पाइसकेका छन् । मंगलबार उनलाई तेस्रो पटक भौतिक मन्त्री नियुक्त गरिएको हो । पद बहालीपछि उनले बाध्यताका कारण आफू पटक पटक मन्त्री बन्ने अवस्था आएको बताए । उनले भने, ' यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नु पर्ने हुन सक्छ ।'    

मनाङेको भनाइ जस्ताको तस्तै-

रेकर्ड भन्दा नि, ६ पटक मन्त्री भएर पुरस्कार पाउन गरेको होइन । यो बाध्यता हो । सरकार भनेको कस्तो रहेछ भने जहाँ महत्त्व हुन्छ, त्यहाँ गएन भने भताभुङ्ग हुन्छ । म कांग्रेसको सरकारमा पहिलो पटक आउँदा लामो जान्छ होला भन्ने लागेको थियो । तर दुर्भाग्य सहयोगी पार्टीहरू आएनन् । त्यसमा मेरो के दोष छ र ? मेरो काम भनेको सरकारलाई जोगाइदिने मात्रै हो । म स्वतन्त्र सांसद हुँ, पार्टी होइन । एउटा सिट पनि किन बिगार्ने भनेर सरकारलाई साथ दिएको हो ।

त्यसपछि झन् मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ । एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि । हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?

गण्डकी प्रदेश सरकार जानुमा सबैभन्दा ठुलो हात त माओवादीको छ नि । मेरो के हात छ र ? मैले त सहयोग गरेकै हो त । खगराजको सरकार बन्ने बेलामा मैले, एमाले र माओवादीले हस्ताक्षर गरेको हो । ३१ जनाको सङ्ख्या ठिक हो । तर सरकार बनाउन खोज्दा पूरै भोट चाहिन्थ्यो नि । त्यतिबेला सभामुखले राजीनामा गर्नुपर्थ्यो । उहाँले नगरेपछि मैले के गर्न सक्छु त ? अहिले मान्छेले राप्रपा र नेसपालाई भनेका छन् । यो समस्या यहाँको होइन, केन्द्रको हो । कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भयो । यहाँ सांसदहरुले भोट हालेका हुन् । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप