बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

नामिबियालाई हराउँदै अर्को चरण प्रवेश गर्ने धुनमा अस्ट्रेलिया

मङ्गलबार, २९ जेठ २०८१, १५ : ०५
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा बुधबार अस्ट्रेलियाले नामिबियाको सामना गर्दैछ । अस्ट्रेलिया र नामिबियाबिचको खेल क्यारेबियन राष्ट्र एन्टिगुआको सर भिभियन रिचर्डस स्टेडियममा बुधबार बिहान ०६ः१५ बजे सुरु हुनेछ ।

नामिबिया र अस्ट्रेलिया जारी विश्वकपको समूह ‘बी’ मा रहेका छन् । उक्त समूहमा स्कटल्यान्ड, इङ्ल्यान्ड र ओमान पनि छन् । समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो सातौँ खेल हो । समूहको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो ।

australia

त्यसपछि इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको थियो । चौथो खेलमा भने स्कटल्यान्डले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो ।

यसैगरी पाँचौँ खेलमा पूर्वविजेता अस्ट्रेलियाले साबिक विजेता इङ्ल्यान्डलाई ३६ रनले पाखा लगाएको थियो । छैटौँ खेलमा स्कटल्यान्डले ओमानलाई सात विकेटले हराएको थियो । स्कटल्यान्ड र ओमानले तीन–तीन तथा अन्य टोलीले दुई–दुई खेल खेलेका छन् ।

namibia

पाँच अंकसहित स्कटल्यान्ड पहिलो र चार अंकसहित अस्ट्रेलिया दोस्रो स्थानमा छन् । दुई अंकसहित नामिबिया तेस्रो र एक अंकसहित इङ्ल्यान्ड चौथो स्थानमा आसिन छन् । ओमानले भने हालसम्म एक खेल पनि जित्न सकेको छैन ।

ओमान जारी विश्वकपको उपाधि होडबाट बाहिरिने पहिलो टोली पनि बनेको छ । साबिक विजेता इङ्ल्यान्डको पनि सुपर–८ चरणमा पुग्ने सम्भावना कमजोर देखिएको छ । बुधबारको खेलमा अस्ट्रेलिया र नामिबिया दुवै एक–अर्कालाई हराउँदै सुपर–८ चरणको यात्रा बलियो बनाउने धुनमा हुनेछन् ।

australia

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा अस्ट्रेलिया दोस्रो र नामिबिया १३औँ स्थानमा छन् । टी–२० विश्वकपमा अस्ट्रेलियाको यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै अस्ट्रेलियाले टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।

नामिबियाको भने टी–२० विश्वकपमा यो तेस्रो सहभागिता हो । नामिबियाले सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । अस्ट्रेलिया टी–२० विश्वकपको पूर्वविजेता पनि हो । अस्ट्रेलियाले सन् २०२१ मा विश्वकपको उपाधि जितेको थियो ।

namibia 2

अस्ट्रेलियाले त्यतिबेला फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले हराएको थियो । त्यतिबेला एरोन फिन्च अस्ट्रेलियाका कप्तान थिए । अस्ट्रेलिया सन् २०१० मा पनि टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले हराएको थियो ।

टी–२० विश्वकपमा नामिबियाको उत्कृष्ट प्रदर्शन भने सुपर–१२ चरण हो । नामिबिया सन् २०२१ को विश्वकपमा सुपर–१२ चरणमा पुगेको थियो । नामिबियाले हालसम्म विश्वकपमा कुल १३ खेल खेलेको छ । त्यसमध्ये नामिबिया चार खेलमा विजयी र आठ खेलमा पराजित भएको छ । एक खेल भने बराबरीमा सकिएको छ ।

warner

यसैगरी अस्ट्रेलियाले हालसम्म टी–२० विश्वकपमा कुल ४२ खेल खेलिसकेको छ । अस्ट्रेलिया त्यसमध्ये २७ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । अस्ट्रेलिया र नामिबियाले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

तर, नामिबियाका खेलाडी डेभिड विसेले भने अस्ट्रेलियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । डेभिड विसेको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट लामो समय क्रिकेट खेलेका थिए ।

त्यसैक्रममा उनले दक्षिण अफ्रिकी टोलीबाट अस्ट्रेलियाविरुद्ध चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यसपछि सन् २०२१ उनी नामिबियाको राष्ट्रिय टोलीमा आबद्ध भएका हुन् । डेभिड विसेका पिता नामिबियामा जन्मिएकाले उनले त्यहाँको राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका हुन् ।

381898

आफूले खेलेको पछिल्लो पाँच टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाको प्रदर्शन उत्कृष्ट देखिन्छ । अस्ट्रेलियाले पछिल्ला पाँचवटै खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई पराजयको स्वाद चखाएको छ । नामिबियाले पछिल्ला पाँचमध्ये दुई खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

अस्ट्रेलियाको सम्भावित टोलीमा मिचेल मार्स (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यु वेड (विकेटकिपर), प्याट कुमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जस हेजलउड रहेका छन् ।

यसैगरी नामिबियाको सम्भावित टोलीमा जेरहार्ड एरास्मस (कप्तान), जेपी कोट्जी, निकोलस डोभिन, जन फ्राइलिंक, मलान क्रुगर, जेन ग्रिन (विकेटकिपर), डेभिड विसे, रुवेन ट्रम्पलम्यान, जेजे स्मिट, बेनार्ड स्कोल्ज र तान्जेनी लुङ्मेनी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप