बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

श्रीलंकालाई हराउन सकिने कप्तान पौडेलको विश्वास

‘हामीभन्दा श्रीलंका बढी दबाबमा छ, त्यसको फाइदा उठाउँछौँ’
मङ्गलबार, २९ जेठ २०८१, १४ : ०९
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले पूर्णकालीन आईसीसी सदस्य राष्ट्रहरूलाई स्तब्ध बनाएको नतिजाका साथै निकै नजिकको प्रतिस्पर्धाहरूले नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेललाई उत्साहित बनाएको छ । बुधबार बिहान फ्लोरिडामा हुने खेलमा श्रीलंकालाई हराउन सकिन्छ भन्नेमा उनको आत्मविश्वास बढेको छ ।

नेपालका लागि प्रतियोगितामा मात्र यो दोस्रो खेल हुनेछ भने श्रीलंकालाई यो खेल प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न महत्त्वपूर्ण हुनेछ । समूह डीको सुरुवाती दुई खेल हारेको श्रीलंका प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ ।

‘हो, बिलकुल,’ श्रीलंकालाई हराउन सक्ने आशा कति छ भन्ने प्रश्नमा रोहितले भने, ‘यदि तपाईंले यो विश्वकप हेर्नुभयो भने एसोसिएट राष्ट्रहरूले टेस्ट खेल्ने राष्ट्रहरूलाई हराइरहेका छन् । यो हाम्रो लागि प्रेरणा हो, विशेष गरेर भोलि हुने खेलका लागि ।’

उनले थपे, ‘टिमका रूपमा हामीलाई भोलिको खेल जित्छौँ भन्ने विश्वास छ । हामीले जसरी केही महिनादेखि तयारी गरिरहेका थियौँ र हामीले जसरी पछिल्ला डेढ वर्षमा खेलिरहेका छौँ, मलाई लाग्छ हामीमा त्यो विश्वास छ । हामी भोलिको खेलका लागि उत्साहित छौँ । हामी भोलिको खेलमा हाम्रो ट्यालेन्ट विश्वसामु देखाउन चाहन्छौँ ।’

यसअघि अमेरिकाले पाकिस्तान र क्यानडाले आयरल्याण्डलाई हराएको नतिजाले नेपालको आत्मविश्वास बढाएको छ । दुवै खेल समूह ए का थिए । 

यी दुई खेलबाहेक पपुवा न्युगिनीले वेस्ट इन्डिज र नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई आच्छुआच्छु पारेको थियो । अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनु त अब ‘अस्वाभाविक’ मान्न छाडिएको छ । तर, ८४ रनको अन्तर भने धेरैले अपेक्षा गरेभन्दा विपरीत थियो ।

अमेरिका र क्यानडाबिचको उद्घाटन खेलबाहेक अमेरिकाको पिचमा यो विश्वकपमा उच्च स्कोर बनाउने खेल भएका छैनन् । यसले पनि पौडेलको आत्मविश्वास बढेको छ । हालसम्म न्युयोर्कमा सबैभन्दा कम रन बनेका छन् ।

‘ड्रप इन पिचका कारण रन बनाउन कठिन भएको छ,’ उनले भने, ‘न्युयोर्क र डालासभन्दा फ्लोरिडाको अवस्था अलि फरक छ । फ्लोरिडाले यसअघि भारत र वेस्ट इन्डिजबिचको खेल आयोजना गरेको थियो । त्यसैले मलाई लाग्छ यहाँको अवस्था अलि फरक छ । हामीले दुई–तीन दिन अभ्यास गर्दा यहाँको विकेट राम्रो लाग्यो । हामीले यहाँको अवस्थालाई सम्मान गर्दै हाम्रो सीप देखाउन सक्यौँ भने हामी कुनै पनि टोलीलाई हराउन सक्षम छौँ । हाम्रो टिमलाई यही विश्वास छ । हामी भोलिका लागि विश्वस्त छौँ ।’

‘यदि तपाईंले यो प्रतियोगितालाई हेर्नुभयो भने धेरै उतारचढावहरू छन्। त्यसैले हामीभन्दा बढी, एक टोलीको रूपमा, दबाब टेस्ट खेल्ने राष्ट्रमा छ। हामी दबाबको सदुपयोग गर्नेछौँ, थप दबाब सिर्जना गर्नेछौँ। हामी भोलि खेल जित्न चाहन्छौँ । यदि हामीले आधारभूत कुराहरू सही गर्‍यौँ भने, मलाई लाग्छ हामी अगाडि छौँ।’

‘मलाई लाग्छ श्रीलंकाको टोली हामीभन्दा बढी दबाबमा छ,’ पौडेलले भने, ‘यदि तपाईंले अमेरिकाको अवस्था हेर्नुभयो भने, त्यहाँ धेरै डट बलहरू खेलिएका छन् । भारतले (पाकिस्तानविरुद्ध) मात्र १ सय १९ रन बनाएको थियो। मलाई लाग्छ, यदि तपाईं परिस्थितिलाई हेर्नुभयो भने, जसले १४० रन बनाउँछ त्यो सफल हुन्छ। ब्याट्सम्यानका रूपमा मलाई लाग्छ कि जसले पनि सुरुवात गर्छ, उसले टिमलाई जिताउनै पर्छ । हाम्रो सुरुवात हामीले सोचेको जस्तो भएन, तर पनि, हामी विश्वास गर्छौं कि हामी अर्को खेल जित्नेछौँ । हामी निकै उत्साहित छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप