लुम्बिनीमा प्रत्यक्षतर्फका सांसदलाई २ करोड ७५ लाख, समानुपातिकलाई १ करोड रुपैयाँको योजना
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश सरकारले बजेटमा योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने भएको छ । यस्तो रकम चालु आर्थिक वर्षको तुलनामा बृद्धि गरिने भएको हो ।
चालु आर्थिक वर्षका लागि प्रत्यक्षतर्फका सांसदलाई २ करोड २५ लाख र समानुपातिकतर्फका सांसदका लागि ७५ लाख रुपैयाँ दिइएकोमा आगामी आर्थिक वर्षको बजेटमार्फत प्रत्यक्षतर्फ २ करोड ७५ लाख र समानुपातिक सांसदका लागि १ करोड रुपैयाँको योजना दिने गरी प्रक्रिया अगाडि बढाएको छ ।
सांसदहरूले रकम वृद्धि गर्न सरकारलाई दबाब दिँदै आएका थिए । समानुपातिक सांसदहरूले प्रत्यक्ष सांसद बराबरको योजना दिनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
प्रदेशमा प्रत्यक्ष र समानुपातिक सांसदहरूले आफ्नो तोकिएको रकम बराबरका योजनाहरू पार्टीको प्रमुख सचेतक मार्फत बुझाउने छन् । त्यसरी आएका योजनालाई अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयमा पठाउने काम गरेको छ ।
एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले आफ्नो पार्टीका संसादहरूले योजना पठाइसकेको जानकारी दिए ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै १० अर्ब रकम घटाएर मन्त्रलायहरूमा सिलिङ बनाउन निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालय प्रवक्ता एवं उपसचिव सुरेन्द्र पाण्डेले मन्त्रालयमा सिलिङ बनाउने काम भइरहेकाले कुन योजनाका लागि कति बजेट भन्ने अझै फाइनल नभएको रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य छन् । त्यसमध्ये ३५ समानुपातिक सदस्य छन् ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वसीउद्दीन खाँले एउटा वडा अध्यक्षले ५०÷६० लाखको सिलिङ पाउने तर प्रदेश सभा सदस्यलाई २÷३ करोड रुपैयाँको योजना दिन पनि आनाकानी गरिएको भन्दै असन्तुष्टि पोखे ।
उनले सांसद विकास कोषप्रति गलत बुझाइ भएको भन्दै जनताको आवश्यकताको आधारमा सांसदले योजनाहरू दिँदा त्यसलाई कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको बताए । सांसदलाई रकम तोक्नु भन्दा आवश्यकताको आधारमा खुला हुनुपर्ने उनको सुझाव छ ।
कस्ता योजना माग गर्दछन् सांसदहरूले ?
रुपन्देहीको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य आशिष चौधरीले आफ्नो क्षेत्रको लागि मदरसा शिक्षा, देवदहमा पार्क, स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर निर्माणजस्ता योजना मागेको रातोपाटीलाई बताए ।
उनले स्थानीयको आवश्यकताको आधारमा योजना माग गरेको जानकारी दिए । खासगरी आफ्नो क्षेत्रका सरकारी विद्यालयको भौतिक पूर्वाधारमा जोड दिएको उनको भनाइ छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ (१)बाट निर्वाचित विष्णुप्रसाद पन्थीले विद्यालयको भौतिक पूर्वाधार, रोजगारीका लागि तालिम, होमस्टे, सिँचाइ, डाइलेसिस सेवा सञ्चालन, सडक निर्माण जस्ता योजना माग गरेको रातोपाटीलाई बताए ।
रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित वसीउद्दीन खाँले आफ्नो क्षेत्रको लागि पुल निर्माण, विद्यालयको भौतिक पूर्वाधार, अधुरा सडक योजना पूरा गर्न माग गरेको बताए । आफ्नो क्षेत्र विकासको दृष्टिकोणले निकै पिछडिएको बताउँदै उनले यहाँको पर्यटन, कृषिका लागि पनि केही योजना माग गरेको बताए ।
नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद नरमाया ढकालले प्रत्यक्ष र समानुपातिक सांसदलाई योजना दिँदा सरकारले विभेद गरेको भन्दै असन्तुष्टि जनाइन्् । प्रत्यक्ष र समानुपातिक सांसदलाई बराबर रकम दिनुपर्ने उनको भनाइ छ ।
आफूले चालु आर्थिक वर्षमा बर्दिया जिल्लाको शिक्षामा सबै बजेट खर्च गरेको बताउँदै उनले अहिले पनि बर्दिया र रुपन्देहीको शिक्षाको लागि योजना पठाएको रातोपाटीलाई बताइन् ।
लुम्बिनी प्रदेश सभाका सबै सांसदले आ–आफ्नो योजना बुझाइसकेका छन् । तीमध्ये केही नीति तथा कार्यक्रममा पनि परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति