बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बलले ‘बाउन्ड्री लाइन’ पार गर्दा पनि अम्पायरले बङ्गलादेशलाई किन दिएनन् चौका ?

मङ्गलबार, २९ जेठ २०८१, १० : ३०
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार राति दक्षिण अफ्रिका र बंगलादेशबिच खेल भएको थियो । त्यो रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई चार रनले हराएको थियो । 

टस जिती पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । बङ्गलादेशले भने सात विकेट गुमाएर एक सय नौ रनमात्र बनाउन सक्यो । 

त्यो खेलका क्रममा एउटा रोचक घटना भएको थियो । अहिले त्यो घटना सामाजिक सञ्चालमा पनि समर्थकहरूबिच गतिलै चर्चाको विषय बनेको छ । धेरै समर्थकले बङ्गलादेशमाथि अम्पायरले अन्याय गरेको आरोप पनि लगाएका छन् ।  

घटना बङ्गलादेशले जवाफी ब्याटिङ गर्दा भएको थियो । बङ्गलादेशी ब्याट्सम्यानको प्याडमा ठोक्किएर बलले सिधै ‘बाउन्ड्री लाइन’ पार गरे पनि अम्पायरले त्यसलाई चौकाको मान्यता दिएनन् । 

अन्ततः उक्त खेलमा बङ्गलादेशी टोली चार रनले नै पराजित हुन पुग्यो । के चौका नदिएर अम्पायरले बङ्गलादेशमाथि अन्याय नै गरेका हुन् त ? यसको सिधा जवाफ, अम्पायरले पक्षपात गरेका होइनन् ।

खासमा, एक सय १४ रनको लक्ष्य पछ्याउँदै बङ्गलादेश जवाफी ब्याटिङमा ओर्लिएको थियो । खेलका क्रममा १७औँ ओभर बलिङ गर्ने जिम्मा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर ओटनिल बार्टम्यानले पाएका थिए ।

त्यतिबेला बङ्गलादेशी ब्याट्सम्यान महमुदुल्लाह ब्याटिङ गर्दै थिए । बार्टम्यानले फालेको १७औँ ओभरको दोस्रो बल महमुदुल्लाहको प्याडमा ठोक्किएर सिधै ‘बाउन्ड्री लाइन’ पार गरेको थियो । त्यसपछि अम्पायरले महमुदुल्लाहलाई ‘एलबीडब्लू’ आउट घोषित गरे । 

अम्पायरको निर्णयमा चित्त नबुझेपछि बंगलादेशका कप्तानले ‘रिभ्यू’ लिए । वास्तवमा महमुदुल्लाह ‘एलबीडब्लू’ आउट भएका थिएनन् । थर्ड अम्पायरले पनि महमुदुल्लाहलाई आउट दिएनन् । 

त्यसपछि स्वाभाविक रूपमा धेरैलाई लाग्न सक्छ, थर्ड अम्पायरले महमुदुल्लाहलाई ‘एलबीडब्लू’ आउट नदिएपछि बङ्गलादेशले ‘लेग बाई’ मार्फत चार रन पाउनु पर्ने होइन र ? आखिर बलले ‘बाउन्ड्री लाइन’ पार गर्दा पनि अम्पायरले बङ्गलादेशलाई किन दिएनन् त चार रन ?

खासमा आईसीसीको नियम अनुसार, बङ्गलादेशलाई ‘लेग बाई’ को चार रन नदिने अम्पायरको निर्णय नै सही थियो । आईसीसीको नियम अनुसार, यदि अम्पायरले एकपटक ब्याट्सम्यानलाई आउट दिने निर्णय गरिसकेपछि तत्काल बललाई पनि ‘डेड’ वा निष्क्रिय मानिन्छ । 

‘रिभ्यू’ लिएर थर्ड अम्पायरको फैसला अर्को आए पनि त्यसले कुनै अर्थ राख्दैन । त्यसैले बार्टम्यानको बलमा अम्पायरले महमुदुल्लाहलाई ‘एलबीडब्लू’ आउट दिनासाथ त्यो बल त्यहीँ निष्क्रिय भइसकको थियो । त्यसैले अम्पायरले बङ्गलादेशलाई ‘लेग बाई’ को चार रन नदिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप