बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

गर्मीमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

मङ्गलबार, २९ जेठ २०८१, ०९ : ३८
मङ्गलबार, २९ जेठ २०८१

देशका विभिन्न स्थानमा गर्मी बढिरहेको छ, त्यसैले स्वास्थ्य विशेषज्ञले सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कन सल्लाह दिन्छन् । 

चर्को घामका कारण शरीरमा तापमानको सन्तुलन बिग्रेर लु लाग्ने खतरा बढी हुन्छ । गर्मीका कारण धेरैजसो मानिसमा कडा टाउको दुख्नुबाहेक चक्कर लाग्ने, बान्ता हुने, पखाला लाग्ने, वाक्वाकी लाग्ने, बेचैनी हुने, उच्च ज्वरो आउने र घबराहट हुने गर्छ । 

  • गर्मीबाट बच्ने उपाय 

१) गर्मीमा दिनभरि ३–४ लिटर पानी पिउनुस् । तिर्खा नलागेको भए पनि हाम्रो शरीर प्रणालीलाई चिसो पार्न प्रशस्त पानी पिउनुस् । यसले हामीलाई निर्जलीकरणबाट पनि बचाउँछ ।

नरिवलको पानी, मोही र कागती पानीजस्ता पेय पदार्थले राम्रो गर्छ । क्याफिन र अल्कोहलयुक्त पेय पदार्थको सेवन कम गर्नुस्, किनकि यसले निर्जलीकरण हुन सक्छ ।

२) घाममा धेरै समय नबस्नुस् । सनस्क्रिन लगाउनुस् । फराकिलो टोपी लगाउनुस् र घाममा बाहिर निस्कँदा सन ग्लासको प्रयोग गर्नुस् ।

३) हल्का रङको खुकुलो र सुती कपडा लगाउनुस्, जसले सजिलै पसिना सोस्ने र शरीरलाई चिसो राख्न सक्छ । टाइट वा पोलिस्टरका लुगा नलगाउनुस् ।

४) सकेसम्म छायामा बस्नुस् र शरीरलाई चिसो राख्नुस् ।

५) टन्न खाना नखानुस् । हरियो तरकारीहरू समावेश गर्दै थोरै–थोरै नियमित रूपमा खाना खानुस् । जसले ‘हाइड्रेसन’मा मद्दत गर्दछ ।

६) गर्मीले वृद्ध र साना बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ । उनीहरूको विशेष ख्याल राख्नुस् ।

७) निर्जलीकरणबाट जोगिनुस् । किनकि यसले शरीरको पसिना निस्कने क्षमतालाई कम गर्छ 

८) गर्मीमा दिउँसो १२ बजेदेखि ३ बजेसम्मको घाम स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यति बेला तापक्रम उच्च हुने भएकाले बाहिर जानैपर्छ भने आफ्नो टाउकोमा सुतीको कपडाले छोप्नुस् वा छाता र टोपी प्रयोग गर्नुस् ।

९) प्रशोधित र तेलयुक्त खानेकुराको उपभोग नगर्नुस् । गर्मीको मौसममा प्रशोधित र तेलयुक्त खानेकुराको सेवन गरेमा यसले शरीरमा तातो बढाउनुका साथै लुको जोखिम पनि बढाउँछ । 

प्रशोधित, तेलयुक्त र जङ्क फुडले शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन सक्छ ।

गर्मीमा स्वस्थ रहन के खाने ?

  • काँचो प्याज

गर्मीमा काँचो प्याजको सेवनले शरीरलाई चिसो बनाउन मद्दत गर्छ । प्याजमा पाइने गुणहरूले प्राकृतिक शीतलता प्रदान गर्छ । 

सलाद वा चटनीका रूपमा खान सकिने काँचो प्याजले शरीरलाई निर्जलीकरणबाट बचाउन मद्दत गर्छ ।

  • सौँफ

गर्मीमा सौँफको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ । 

तपाईं गर्मी स्ट्रोकजस्ता समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ वा यसबाट बच्न चाहनुहुन्छ भने सौँफको सर्बत पिउन सक्नुहुन्छ । सौँफ चपाउन पनि सकिन्छ । आयुर्वेदका अनुसार सौँफमा पाइने गुणले शरीरलाई भित्रबाट शीतल राख्छ र गर्मीको असरलाई कम गर्छ । 

  • पुदिना

पुदिना एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लामेटरी गुणहरूले भरिपूर्ण छ । गर्मीमा पुदिनाको सेवनले पेटलाई शीतलता प्रदान गर्नुका साथै पाचनसम्बन्धी समस्याबाट पनि राहत मिल्छ । 

  • दही 

दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउन र पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्छ । दहीलाई सुपरफुडमा गनिन्छ । शरीरमा हाइड्रेसन कायम राख्न र गर्मीको लहरको प्रभावलाई कम गर्न यसले मद्दत गर्छ । 

  • फलफूल र तरकारी

कागती, तरबुजा, हरियो सागसब्जी, कागती आदि खाँदा हाइड्रेसन कायम रहन्छ र पचाउन पनि सजिलो हुन्छ ।

(लेखक जनरल मेडिसियन हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्करराज जोशी
पुष्करराज जोशी
लेखकबाट थप